• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

शहिदको कथामा आधारित नाटक मञ्चनको तयारीमा छु  : सरिता शाह 

नाटकमा कसरी लाग्नुभयो ? 
मलाई म नाटक गर्न कै निम्ती मात्र जन्मेको जस्तो लाग्छ ।  बच्चैबेला देखि फिल्महरु हेर्दा आफुलाई मन परेको दृश्यहरु हेर्दै त्यसको डायलग बोल्ने गर्थे । म साथीहरुलाई तिमीहरु यो गर त्यो गर,यसो गर त्यसो गर भनेर निर्देशन दिने गर्थे । यी कुराहरु गर्दा गर्दै र मलाई धेरै नै यस क्षेत्रप्रति धेरै नै लगाव भएको हुनाले नाटकमा होमिएकी हुँ । 

 

अभिनय र निर्देशनमा के फरक छ ? 
दुबैमा धेरै फरक छ । कलाकार ले अभिनय मात्र गरे पुग्छ। तर निर्देशकले सबै पाटो हेर्नुपर्छ । सबै कलाकारको अभिनय, उनीहरुको कस्ट्युम, नाटकको सेट देखि मार्केटिङ सबैकुराहरु हेर्नुपर्ने हुन्छ ।  

 

मधेशमा नाटकको माहोल कस्तो छ ?
पहिला र अहिले धेरै परिवर्तन भएको छ। पहिले स्कुलमामात्र  नाटक भएको हेर्न सकिन्थ्यो भने, अहिले यहाँ धेरै रंगकर्मीहरु जन्मिनुभएको छ। बिभिन्न ठाउँमा नाटकघर खुल्न थालेका छन। यो हामी रंगकर्मी र मधेशको लागी धेरै राम्रो कुरा हो । 

 

नाटकमा मधेशी महिलालाई  कत्तिको गाह्रो छ ?
मधेशी महिलालाई नाटकमा मात्र होइन अन्य समुदायमा पनि गाह्रो छ। तर अहिले  पहिला जस्तो नाटक प्रति हेर्ने दृष्टिकोण भने फेरिएको छ। म आफ्नै परिवारको उदाहरण दिन्छु, शुरूवातमा मलाई सहयोग थिएन, तर अहिले समय फेरिएको छ। मलाई नाटकमा खेलेको हेर्न चाहनुहुन्छ, चलचित्रमा अभिनय गरेको हेर्न चाहनुहुन्छ ।

 

नाटकमा पात्र छुट्याउदा, मान्छेको वर्ण, जात,  समुदाय हेरेर दिने चलन कत्तिको छ जस्तो लाग्छ ? 
यो एउटा गम्भीर प्रश्न हो। म आफू मधेशी समुदाय को हुँ, यदाकदा साथीहरुले मधेशी पात्र आउँदा मलाई सम्झनुहुन्छ। म मधेश बाहेकको क्यारेक्टरमा पनि काम गर्नसक्छु र गरेको पनि छु। अहिले यी सबै पात्र छुट्याएर अभिनय गराउने चलन भने धेरै कम भएको छ । 

 

लामो समय देखि यो क्षेत्रमा हुनुहुन्छ, नाटक गरेर जिविकापार्जन चल्छ ?  
यसमा धेरै गाह्रो छ । अहिले पनि नाटक गरेर जिविकापार्जन धान्न गाह्रो नै छ ।  पछिल्लो क्रममा निर्माण भएका केही राम्रा नाटकहरुले आशा भने पलाएको थियो। गुणस्तरीय नाटक निर्माण गर्‍यो भने दर्शकको माया पाईन्छ भन्ने प्रामाणित भएको छ। यतिखेर कोरोनाले गर्दा बन्दै गएको माहोलमा धेरै असर गरेको छ। नाटक  माथी उठ्न लागेको थियो तर कोरोनाले फेरी तल झर्‍यो । 

 

पछिल्लो क्रममा काठमाडौं बाहिर पनि नाटकघर खुल्न थालेका छन्, के भन्नुहुन्छ ? 
यो  राम्रो कुरा हो । म त भन्छु नाटकघर प्रत्येक जिल्ला वा शहरहरुमा खोल्नुपर्दछ। यसले त्यहाँको मान्छेले नाटकलाई बुझ्ने, अध्ययन गर्ने,अवलोकन गर्ने अवसर पाउँछन् । नाटकको बिकास र बिस्तारको लागि नाटकघर खुल्नु र निरन्तर लाग्ने नाट्यकर्मी जन्मिनु आवश्यक छ।


अबको भावी योजना के छ ? 
अब नाटकमा नै काम गर्ने हो ।  शहिदको कथामा आधारित एउटा नाटक लेखेको थिए। यतिखेर अवस्था ठिकै भएको भए मन्चनको तयारी गर्ने थिए। अब छिटै अवस्था ठिक होस, म मन्चमा नाटक गर्न आतुर छु।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार