• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

दुईहप्ता लकडाउन बढाउन प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

काठमाडौं । काठमाडौं उपत्यका सहित देशभरी नै कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले दुई हप्ता लकडाउने बढाउने देखि कफ्र्यु लगाउनु पर्नेसम्मका सुझाव दिएका छन । जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लक डाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताए ।

 

सुरुमा भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुमा संक्रमण देखिने गरेकोमा पछिल्लो समय नेपालमै बस्ने एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिरहेकाले १५ दिन कडा लकडाउन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ अपनाउने गरी अगाडी बढ्नुपर्ने उनले बताए । केही विज्ञहरुले भने लकडाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकोले संक्रमण देखिएका निश्चित ठाउँहरु सिलबन्दी गरी सीमानाकामा कडाई गर्नुपर्ने सुझाव दिएका छन ।

 

अर्का जनस्वास्थ्यविज्ञ डा.समिरमणि दीक्षितले लक डाउन गरेर कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने उल्लेख गर्दै उनले सबैका सल्लाह सुझाव अनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गरे ।

 

नेताहरु शेरबहादुर देउवा, महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष लगायत जनस्वास्थ्य विज्ञहरु सहभागि छलफल पछि प्रधानमन्त्री ओलीले सुझावहरु कार्यान्वयन प्रकृयामा लैजाने बताए।

 

प्रधानमन्त्रीको प्रेस सल्लाहका सूर्य थापाका अनुसार स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर आगामी कदम चाल्ने प्रतिवद्धता प्रधानमन्त्रीले गरेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार