• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

पशुपतिमा जलाउन लगेको शव प्रहरी नियन्त्रणमा

काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरले पशुपतिमा जलाउन लगेको शव बरामद गरेको छ। शनिबार गोदावरी नगरपालिका-९का ५० वर्षीय कृष्ण नेपालीको शव प्रहरीले बरामद गरेको हो।

 

उनको बुबाको हत्या गरेको आरोपमा छोरा ३० वर्षीय सन्तोष नेपालीलाई प्रहरीले घाटबाटै पक्राउ गरेको परिसरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए। ‘शनिबार बुबाको मृत्यु भएपछि छोराले घाटमा दाहसंस्कारका लागि लैजान गाउँलेलाई बोलाए’ उनले भने, ‘तर गाउँलेले यो मृत्यु होइन, हत्या हो भनेर प्रहरीलाई खबर गरेपछि हामी त्यहाँ पुगेका हौं।’

 

उनका अनुसार बाबु-छोरा बीच बिहीबार राति झडप भएको थियो। स्थानीयका अनुसार मापसे गरी बुबाले जहिल्यै पनि किचकिच गर्ने गरेको भन्दै छोराले कुटपिट गरेका थिए। ‘दुई जनाबीच सधै झगडा हुने गरेको देखिएको छ,’ एसपी कार्कीले भने, ‘बुबाको घाइते भएपछि पाटन र छाउनी अस्पताल लगिएको थियो।’

 

अहिले छोरा सन्तोष माथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट म्याद थप गरिसकेको उनले बताए । त्यस्तै उनका बुबा कृष्णको शव पोष्टमर्टमको लागि पाटन अस्पताल पठाइएको छ। हत्यामा अहिलेसम्म हतियारको प्रयोग भएको नदेखिएको एसपी कार्कीले जानकारी दिए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार