• मंगलबार ४-२७-२०७७/Tuesday 08-11-2020
रंगमञ्च

'शिक्षण पेशा पहिलो रोजाईमा नपर्नु हाम्रो बिडम्वना'

काठमाडौं। कोरोनाले निम्त्याएको यस परिस्थितिमा बालबालिका र शिक्षा क्षेत्र अत्यन्त प्रभावित भएको छ। नेपाल जस्तो देशमा थुप्रै प्राबिधिक समस्याका बाबजुत पनि बालबालिकालाई क्रियाशील बनाउन स्कुलले अनलाइन कक्षा संचालन गरेको छ । एउटै घर दुई तीजना बाबु नानीहरु हुँदा सबै संग माध्यम नहुने, स्मार्ट मोबाईल नहुने, नेट सुबिधा नहुने, यस्ता कठिनाइलाई चिर्दै थोर बहुत रूपमा अनलाइन कक्षाहरु भएका छन । रेडियो, टेलिभिजन मार्फत पनि पढाइ हुन थालेको छ। यो सबै व्यवस्था पुरक मात्र हो, पुर्ण होइन। परम्परागत हिसाबले चलिरहेको हाम्रो शिक्षण विधि एकैचोटि भर्चुअल माध्यममा जादाँ थुप्रै कठिनाई छन् ।  यसले धनी र गरिब अभिभावक भएका बालबालिकाबीच ठुलो खाडल पनि निर्माण भएको छ । 

 

नेपालको शिक्षा प्रणालीलाई मूल बिषय बनाएर शैली थिएटरमा  प्याप्सन नेपालका महासचिव कुमार घिमिरेसंग कुराकानी गरेको छ । 

 

हाम्रो देशको शिक्षण पद्धतिलाई तपाइले कसरी हेर्नु भएको छ ? 
सिक्ने र सिकाउने दुईवटा पाटा छन। जब औपचारिक शिक्षा सिकाउने पद्धति शुरु भयो, त्यहाँ पाठ्यसामग्री निर्माण गर्ने, शिक्षण संस्था खोल्ने प्रक्रिया भए। अहिले हाम्रो जस्ता देशमा चलेको पद्धती भनेको सिकाउने भन्दा पनि पढाउने चलन छ। पाठ्यक्रम भित्रको पाठको पढाउने, त्यसको ब्याख्या गर्दैमा सिकाई पूरा हुँदैन । सिकाई पूरा हुन त सर्वप्रथम सिक्ने मान्छे मानसिक रूपमा तयार हुनुपर्‍यो। सिकाई पद्धति हुनुपर्‍यो। मुल्यांकनको पद्धति अपनाउनु पर्‍यो। यो दृष्टिकोण बाट हेर्दा नेपालको शिक्षा पुर्ण छैन।  शिक्षा भनेको पाठ, कविता, कथा पढ्नु मात्र शिक्षा होईन। त्यो भन्दा फरक अतिरिक्त क्रियाकलाप अन्तर्गत सिकिने कुरा पनि हुनु आवश्यक छ। सिकाउने सीप पनि समय अनुसार फरक हुने गर्द्छ। आज भन्दा तीस बर्ष अगाडि सिकाउने पद्धति र अहिले चाहिने सीप फरक छ। अबको २० बर्षपछि प्रबिधीको परिवर्तन संगै सिकाउने सीपमा पनि परिवर्तन चाहिन्छ। सोही अनुसार नानीहरूलाई सीप दिन सकिएको छैन।

 

शिक्षण पेशालाई पनि कला भनिन्छ, हाम्रा शिक्षकमा त्यो कला छ त ?
बिद्यार्थीहरु फरक फरक किसिमका हुन्छन् । उनीहरु खुबी क्षमता अनुसार, प्रभावकारी हुने हिसाबले सिकाउन सक्ने हुदा शिक्षण बिधिलाई कला पनि भनिन्छ। यसको लागि शिक्षकमा त्यो कला आवश्यक छ। सबैमा त्यो पाईदैन। राम्रो पनि छन। सबै नराम्रो भन्न खोजेको होइन।

 

शिक्षण पेशा र शिक्षकलाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ ?
शिक्षक जस्तो पेसा सबैतिरबाट सम्मानित हुनुपर्ने हो, तर यहाँ कतै केही काम नपाए पछि शिक्षक हुन आउने परिपाटी छ। समाज र राज्यले शिक्षकहरुलाई जुन प्रकारको सेवा सुबिधा दिनुपर्ने हो त्यो छैन। कुनै पनि शिक्षक गर्वका साथ म शिक्षक हुँ भनेर भन्ने अवस्था छैन। कसैको पहिलो रोजाईमा यो पेशा पर्न नसक्नु नै बिडम्बना हो। केही बर्ष अगाडिसम्म शिक्षण पेशा राम्रो थियो, अहिले त्यस्तो छैन।

 

शिक्षकको गुणस्तर छैन, अन्त काम नपाएर निजी स्कुलमा आउँछन् भनिन्छ  । यसबारे के भन्नुहुन्छ ?
पहिलो कुरा शिक्षकहरुको कारणले मात्र सिक्ने भन्ने होईन । दोस्रो निजी स्कुलमा आउने शिक्षकहरु एकाध रूपमा सामुदायिक विद्यालयमा जागिर नपाए पछि यता आउने होला। ती आएका पनि कमजोर आए भन्ने होईन। अझ विश्व विद्यालय पढ्दै गरेका उच्चकोटि कै शिक्षक हाम्रोमा आउने गरेका छन। आएका  सबै भोलीका दिनमा शिक्षक हुला भनेर नआएपनि जति समय पढाउनु हुन्छ आफ्नो बेष्ट दिएरै पढाउनु भएको छ। 

 

अभिभावकले बिद्यालयबाट के अपेक्षा गर्दा रहेछन् ?
यो अभिभावक अनुसार फरक पर्छ। अधिकांशले प्राप्ताङ्ग बढी होस भन्ने नै हुन्छ। आफ्ना बाबुनानी केमा रुचि राख्छ। कथा, कविता, नाच्न गाउन, खेल्न केमा रुची राख्छ त्यसमा खासै चासो दिएको पाइन ।  

 

तपाईलाई बिद्यालयमा अतिरिक्त कृयाकलापमा कत्तिको हुनु पर्छ जस्तो लाग्छ ?
बालबालिकाको क्षमता पहिचान गर्न अतिरिक्त क्रियाकलाप अत्यावश्यक हो। सबै विद्यालयहरुले आफ्नो क्षमता अनुसार गरिरहनु भएको छ। सबैले समान रुपले लान सक्नुभएको छैन यस्मा कमिकमजोरी छ्न। बिस्तारै यी कुराहरु सबैले बुझ्दै हुनुहुन्छ, र परिवर्तन पनि देखा परेको छ।

 

अहिले यो महामारीको समयमा बिद्यार्थी, शिक्षक, तथा अभिभावकको गुनासो ,प्रतिक्रिया के कस्तो पाउनु भएको छ ?
कोभिड-१९ बाट सबै क्षेत्र नै प्रभावित छन। विद्यालयहरुमा अलि फरक खालको असर परेको छ। अरु क्षेत्रहरु खुलिसक्दा पनि बिद्यालयहरु खुल्न नसक्ने अवस्था छ। भदौ एकबाट भर्ना प्रक्रिया अघि बढाउने सुचना आएको छ। अहिलेका कलिला बालबालिकाहरु विद्यालय मात्र होईन घरबाट बाहिर निस्कन सकेका छैनन्, अहिलेसम्म नभोगेको परिस्थिति उनीहरुले भोगेका छन् । बिस्तारै बुझ्दै पनि गएका छन् । अभिभावकको हकमा पनि आफ्ना बालबालिकाले पढुन भन्ने नै हुन्छ, तर संसारभरिको फैलिएको महामारीलाई नजिकबाट देख्नु बुझ्नुभएको छ। उहाँहरु सचेत हुनुहुन्छ। शिक्षक कर्मचारी विशेष गरि प्राइभेट संस्थामा काम गर्नेले नियमित रूपमा पाउनुपर्ने पारिश्रमिक पाउन सक्नुभएको छैन। यसले  एकातिर पढाउन नपाएको पीडा छ भने, अर्कोतिर घरखर्च धान्न नसकेको अवस्था छ। यश बिषयमा संचालकहरु पनि चिन्तित हुनुहुन्छ। अभिभावकले समेत पढाइ नभएको बेला पैसा तिर्न सक्नुभएको छैन।सबैको रोजगार नभएकोले जडिल परिस्थिति सामना गर्नुपरेको छ।

 

अहिले रोकिएको बिद्यालयको शिक्षलाई कसरी परिपुर्ती गर्नुपर्छ जस्तो लाग्छ ? 
सामान्यतया एक हजार चौबिस घण्टा पढाइ हुने गर्थ्यो। अब भदौको मध्यबाट कक्षा सुरु गर्न सकिएपनि २०७८ को बैशाखको केही दिन लिएर भएपनी पूरा गर्न सकिन्थ्यो । मंसिरबाट शुरु गरेपनी केही बिदा कटौती गरेर  पढाइ हुने घण्टा घटाएर काम गर्न सकिन्छ।

 

राज्यबाट के अपेक्षा गर्नुभएको छ ? 
राज्यलाई हामीले चैतबाटै घचघचाई रहेका छौ। हामीले राहत पाउने कुरा त होईन, केही नितीहरुमा सहयोग गरेको छ।  समग्र शिक्षण नितीमा परिवर्तन आवश्यक छ। विद्यार्थीको क्षमता पहिचान गर्न आवश्यक छ। विद्यार्थीको क्षमता अनुसारको मुल्यांकन पद्धति बिकास गर्न आवश्यक छ।

 

प्रस्तुति : सरस्वती अधिकारी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार