• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अन्तर्वार्ता

सिंगारिँदै ललितपुर

काठमाडौं । विक्रम संवत २०४६ सालको जन–आन्दोलन पश्चात बनेको नेपालको संविधान पश्चात पनि नेपालको केन्द्रिय सरकारले सन्तोषजनक कार्य गर्न नसकेको भएता पनि त्यतिबेलाका अधिकांश निर्वाचित स्थानीय स्तरमा भने केही निकै राम्रा कार्यहरु भएका थिए । केन्द्रिय सरकार कै पहलमा बनेको नगर विकास योजना अन्तर्गत शहरीकरणको वास्तविक खाका र रुप त्यतिबेलाका कैयन् नगरपालिकाहरुले बनाएका थिए । नगरमा व्यवस्थित बसपार्क, सडक, पेटी, वत्ती, ढल, हरित पार्क, आदिको परिकल्पना र विकास त्यतिबेला निकै तदारुकताका साथ हुन थालेको थियो । तर त्यो सब प्रक्रिया राजनीतिक अस्थिरताका कारण स्थानीय तहमा लामो समयसम्म निर्वाचन हुन नसकेर रोकियो भने तत्पश्चात कर्मचारीतन्त्रद्वारा चलाइएको स्थानीय तह चरम भ्रष्टाचारको अखडा मात्र बन्न गयो ।

 

आज झण्डै दुई दशक पछि निकै उथल पुथल पश्चात बनेको नयाँ संविधान मार्फत निर्वाचन भएर बनेका स्थानीय सरकारहरु भने नेपालका तीन तहका सरकारहरु मध्यका सबैभन्दा उन्दा र चुस्त देखिएका छन् । स्थानीय जनतासँग प्रत्यक्ष सहकार्य गर्नुपर्ने भएकोले पनि स्थानीय सरकार बढी जनउत्तरदायी हुने गरेको छ भने विस्तारै स्थानीय सरकारहरुको क्षमता वृद्घि गर्दै गएर यिनीहरु मार्फत नै जनताका आधारभुत आवश्यकताका कार्यहरु गराउनु उचित हुन्छ । 

 

२०७२ सालमा गएको महाभूकम्पले खासगरी मध्य नेपाललाई निकै प्रभावित बनायो भने काठमाडौँ उपत्यका, गोरखा, लमजुङ, नुवाकोट, दोलखा जस्ता पर्यटन केन्द्रहरुका धेरै ऐतिहासिक धरोहरहरुका साथै धनजनको ठुलो क्षति पुर्‍यायो । आज पाँच वर्ष बितिसक्दा पनि यो क्षेत्रमा धेरै काम हुन बाँकी नै रहेको छ । पछिल्लो समयमा एकातर्फ पुनर्निमाण प्राधिकरणले आफ्नो काममा तीव्रता दिएको अवस्था छ भने अर्कोतर्फ स्थानीय निकायहरुले पनि पुनर्निमाणमा ठुलो भूमिका खेलिरहेका छन् । यसै परिप्रेक्ष्यमा केही मित्र राष्ट्रहरु र दातृ संस्थाहरुले पनि पुनर्निमाणमा मद्दत पुर्‍याईरहेका छन् । काठमाडौँका धरहरा, रानीपोखरी र दरवार क्षेत्रका अधिकांश धरोहरहरुको निर्माण कार्य जारी नै छ भने यो कार्यमा ललितपुर र भक्तपुर भने निकै अगाडि देखिएका छन् ।

 

यसै सन्दर्भमा केही दिन अघि मैले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग ऐतिहासिक धरोहरहरुको पुनर्निमाण र शहरका अन्य धार्मिक, सांस्कृतिक र आर्थिक विकासका पक्षहरु वारे कुराकानी गर्ने मौका पाएको थिएँ । आफ्नो ओहदा ग्रहण पश्चात केही समय त्यति सक्रिय नरहेको र विदेश भ्रमणमा धेरै ध्यान दिएको भन्ने जस्ता आरोप लागेका चिरिबाबु वास्तवमा हाल आएर मुलुकभरका नगर प्रमुखहरु मध्येका श्रेष्ठतम मेयरमा गनिन थालेका छन् । मेयरको प्रयोजनको लागि गाडी खरिद गर्न छुट्याईएको वजेटले उनले दुईवटा पानी ट्यांकर खरिद गर्न लगाए भने वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा उनलाई यातायातका लागि एउटा मोटरगाडी र चालक उपलव्ध गराएर संस्कृतिविद्को सम्मान समेत गरे । दिनमा आधा भन्दा बढी समय ललितपुर महानगरपालिकाका विभिन्न ठाउँहरुको निरिक्षण भ्रमणमा बिताउने यिनीसँग केहीबेर कुराकानी गर्दा नै आफ्नो क्षेत्रको वृहत्तर विकासमा यीनको लगाव, रुची र अनुभव तथा सोको सिलसिलामा आउन सक्ने वाधा, व्यवधान र समस्याहरुसँग लड्न सक्ने जोश र जाँगर र क्षमता पनि स्पष्ट रुपमा झल्कन आयो ।

 

यसै सिलसिलामा उनीसँग गरिएका केही महत्वपुर्ण कुराकानी तथा महानगरका लागि गरिनु पर्ने भावी कार्यहरु वारेमा उनले राखेका धारण देहाय वमोजिम छन् ।

 

विक्रम सम्वत् २०७२ सालको महाभूकम्पमा ध्वस्त भएका ऐतिहासिक स्मारकहरुको पुनर्निमाणमा ललितपुर महानगरपालिकाको भूमिका र प्रगतीको अवस्था कस्तो छ ?
महाभूकम्पको समयमा नयाँ संविधान आईनसकेको र स्थानीय तथा अन्य निकायको निर्वाचन पनि नभएको अवस्था भएको भएता पनि हामी विभिन्न स्थानीय सामाजिक संस्थाहरुसँग आवद्घ भएकाले त्यतिबेला देखि नै स्थानीय भूकम्प पिडित वासिन्दाहरुलाई मद्दत र राहत पुर्‍याउने काम देखि लिएर ऐतिहासिक धरोहरहरुको संरक्षण र भत्किएर छरिएका काठ, ढुंगा, ईट्टा र झिंगटी तथा मुर्ति, गजुर र अन्य वहुमूल्य वस्तुहरुलाई एकिक्रित गरेर छुट्याई सुरक्षित स्थानमा राख्न व्यस्त भयौँ । आज हाम्रो महानगरपालिका र ललितपुरका विभिन्न संघ, संस्था तथा स्थानीय वासिन्दाको ठुलो सहयोगले गर्दा हामीले अधिकांश त्यस्ता धरोहरहरुलाई फेरी पहिले कै रुपमा ल्याउन सफल भएका छौँ । यो कार्यमा काठमाडौँ उपत्यका सांस्कृतिक सम्पदा संरक्षण कोष, एभरेष्ट र इन्भेष्टमेन्ट बैंक र कैयन् अन्य संस्था तथा व्यक्तिहरुको पनि आर्थिक र अन्य सहयोग मिलेको छ हामीलाई । महानगरपालिका आपैmले पनि ठुलो धनरासी खर्चेको छ यो कार्य सम्पन्न गर्नको लागि । पाटन दरवार क्षेत्रमा अहिले भैरवको ठुलो मन्दिर र केही अन्य धरोहरहरुको जिर्णोद्घारको काम भइरहेको छ । यीनमा पनि केही विदेशी राष्ट्र र नेपाल सरकारले सहयोग गर्ने भनेकोमा सो सहयोग उपलव्ध हुन निकै समय लाग्ने देखिएको र भैरवको मन्दिर दिनानुदिन ढल्किँदै जान थालेकोले हामीले उनीहरुलाई सूचित गरेर यो कार्य महानगरपालिका कै पहलकदमीमा शुरु गरेका छौँ । यसै सिलसिलामा भूकम्पमा नभत्किएका तर निकै जीर्ण हुँदै गएका केही मन्दिर र स्मारकहरुको पनि जीर्णोद्घार कार्य थाल्न लागेका छौँ ।

 

आजकल ऐतिहासिक धरोहरहरुको जीर्णोद्घार र पुनर्निर्माणमा खासगरी तीन कुराको निकै अभाव हुने गरेको छ  । काठ, ढुंगा र कुशल कालिगढहरु । यहाँहरुलाई हालका दिनहरुमा यी कुराले कत्तिको व्यवधान पुर्‍याए ?
वास्तवमा नै यहाँले औँल्याउनु भएका तीनैवटा कुराले पुर्ननिर्माणमा निकै समस्या ल्याउँछन् । हुनत हामीले भत्किएका संरचनाहरुका अधिकांश अवशेषहरु जम्मा गरेर निकै जतनका साथ राखेका थियौँ, तापनि कति काठहरु पुराना भएर फेर्नुपर्ने भएका हुन्छन् भने ढुंगाहरु पनि फुटेका हुन्छन् । अहिलेसम्म हामीले जेनतेन गरेर काठ उपलव्ध गराएर धेरै मन्दिरहरु पुनर्निर्माण गर्‍यौँ । अब भिमसेनको ठुलो मन्दिरमा चाहिने ठुला ठुला काठहरुको जोहो गर्न भने हामी विभिन्न निकायसँग कुराकानी गर्दैछौँ । त्यस्तै कृष्ण मन्दिर र अन्य मन्दिरमा थप्न चाहिएका ठुला ढुंगाहरु पनि बल्लतल्ल उपलव्ध भए । जहाँसम्म कालिगढहरुको कुरा छ, अहिलेसम्म यस्ता पुरातन निर्माण कार्य गर्न जानेका कुशल कालिगढहरु थोरै संख्यामा भएपनि पाइन्छन्, नयाँ पिँढीहरुमा नयाँ नयाँ काममा नै बढी ध्यान जाने भएकोले यस्तो काम गर्ने मानिसहरु विस्तारै लोप हुन पनि सक्दछन् । यही कारणले गर्दा ललितपुर महानगरपालिकाले पुरातन निर्माणका शिपहरुको तालिम दिने एउटा निकाय नै खडा गरेको छ ।

 

पाटनको कार्तिक नाच र अन्य नाचहरु लोपोन्मुख हुँदैछन् । यीनको संवद्घनको निम्ति के कस्ता कार्यहरु गर्दै हुनुहुन्छ ?
हो । कार्तिक नाच परापुर्वकालदेखिको निकै प्रचलित नाच हो । पहिले पहिले यो २७ दिन सम्म महोत्सव कै रुपमा नाचिन्थ्यो । पछि विस्तारै यो लोप हुँदै गयो । यसको निम्ति भेषभूषा, तालिम र बाजागाजाको ठुलो खर्च आउँछ । यस्ता महत्वपुर्ण संस्कृतिहरुलाई जोगाएर राख्न वजेट नै नहुने भएकोले पनि यी लोपोन्मुख भएका हुन् । तर अब हाम्रो महानगरपालिकाले यीनको संवद्र्घनको निम्ति ठुलो वजेट छुट्याएको छ र अब विस्तारै यस्ता नाचहरु फेरी वौरिन थाल्ने छन् । संस्कृतिविद् सत्यमोहन जोशीले समेत कार्तिक नाचलाई विश्व कै अति महत्वपुर्ण सांस्कृतिक नाच भनेका छन् ।

 

ललितपुर महानगरपालिकाले नदी तथा घाट व्यवस्थापनमा कस्तो कार्य गरिरहेको छ ?
खासगरी वागमती नदीको कुरा गर्दा नदी पारी काठमाडौं तीर नदीका किनाराहरु मिच्ने कार्य अति नै धेरै भएको छ । हामीले ललितपुर तिरका किनाराहरुमा सुकुम्वासी वा अन्य भूमाफियाहरुलाई सँधै निरुत्साहित गर्ने गरेकोले हाम्रा नदी किनाराहरु र घाटहरु मिचिन पाएका छैनन् । शंखमूलको घाट नेपालकै सायद सबैभन्दा ठुलो घाट हो । हामीले घाटमा भएका पुराना पुजा गर्ने भकारीहरु र मन्दिर तथा पाटीहरुको मर्मत गर्ने कार्य पनि थालेका छौँ भने नदी किनारका खाली जमिनहरुलाई हरित पार्कमा विकास गर्दै गएका छौँ । करिव एक रोपनी चानचुन जग्गा अधिग्रहण गरेर शंखमूलमा विद्युतीय शवदाह स्थल पनि बनाउन शुरु हुँदैछ । नदी तथा घाटको सरसफाईको काम पनि भइरहेको छ ।

 

महानगरको सरसफाई, पार्कहरुको निर्माण, साइकल ट्रयाक, स्मार्ट वत्तीहरु र विद्युतीय सवारीका साधनहरुको वारेमा पनि केही भनिदिनुहोस् न ।
महानगरको सरसफाई कार्यमा हामी निकै सजग छौँ । शहरका भित्री भागहरुसम्म सरसफाइ गर्न विभिन्न उपायहरु अवलम्वन गरिरहेका छौँ भने नगरवासीहरुलाई पनि बेला बेलामा सरसफाई सम्बन्धि सचेतनाका कार्यक्रमहरुमा आमन्त्रण गरिरहेका छौँ । पार्कको कुरा गर्दा हामीले नगरका विभिन्न सडकहरुका छेउमा रहेका खाली जमिनहरुको उपयोग गरेर साना साना पार्क निर्माण गर्ने योजना बनाएका छौँ । जावलाखेलमा यस्ता तीन चार ठाउँहरुमा आज भोलि नै काम शुरु हुँदैछ । त्यस्तै अन्य अलि ठुला खुल्ला क्षेत्रहरुमा हामी ग्रीन एण्ड व्लु अवधारणामा पार्कहरु निर्माण गर्ने सोचमा छौँ । जस अन्तर्गत यस्ता जमिनहरुमा घाँस लगाइने छ र खाल्डा जस्ता ठाउँहरुमा पानी सोस्ने र व्यायाम गर्नेहरुलाई हिँड्ने ट्रयाक पनि बनाइने छन् । निकै कम लागतमा यस्ता पार्कहरु बनाउन सकिन्छ र शहरमा हरियाली ल्याउन पनि यीनले मद्दत पुर्‍याउँछन् । भूकम्पको बेला सडकमा भएका पर्खालहरु भत्किएर वटुवाहरुलाई हानी नपुगोस् र पर्खाल पारिका सुन्दरता समेत वटुवाले देख्न सकुन् भनेर हामीले सडक छेउका पर्खाल होचो बनाएर तीनको माथि फलामे ग्रिल लगाउन शुरु गरेका छौँ । यही सिलसिलामा जावलाखेल फुटवल मैदान बाहिर यस्तो पर्खाल बनिसकेको छ भने अब पुल्चोकको इन्जिनियरिङ अध्ययन संस्थानको पर्खाल बनाउने कार्य भइरहेको छ ।

 

साँच्ची, इन्जिनियरिङ अध्ययन संस्थानको कृष्ण गल्लीसँगैको पर्खाल भित्र केही पुरातात्विक महत्वका सुन्दर तथा कलात्मक तर जीर्ण देखिने साना–साना घरहरु छन् । के यी घरहरुको जीर्णोद्धार महानगरपालिकाले गरिदिन सक्दैन ?
निकै राम्रो प्रश्न । तपाईको जस्तै मेरो नजर पनि ती साना कलात्मक पुराना घरहरुमा गएकोले मैले केही समय अघि इन्जिनियरिङ अध्ययन संस्थान हाता भित्र गएर ती घरहरुको सुक्ष्म अध्ययन गर्नुका साथै त्यहाँका अधिकारीहरुसँग कुरा गरेको थिए । अब केही समयमा महानगरपालिका कै वजेटमा हामीले ती घरहरुको जीर्णोद्धार गरिदिन लागेका छौँ । हामीले पाइलट कार्यक्रमको रुपमा केही किलोमिटर साइकल ट्रयाकको निर्माण गरेका छौँ र भविष्यमा यसलाई निरन्तरता दिनेछौँ । त्यस्तै स्मार्ट वत्तीहरुको पनि भर्खरै थालनी गरिँदैछ ।

 

साइकल ट्रयाक तथा स्मार्ट वत्तीहरु मुख्य सडकमा मात्र किन ? भित्री सडकमा नबनाउने ? त्यस्तै यस्ता संरचना बनेको केही महिनामा नै विग्रँदै जान्छन् । दिर्घकालिन टिकाउको निम्ति कस्ता योजना छन् ?
हामी चरणवद्घ तवरले शहरको भित्री भागसम्म नै पुग्ने छौँ र यस्ता संरचनाको दिर्घकालिन टिकाउको निम्ति पनि नयाँ नयाँ सोच राखेका छौँ । हाल स्मार्ट वत्तीको ठेक्का पाएको कम्पनीसँगको सम्झौतामा हामीले लामो अवधिसम्म यसको मर्मत सम्भार गर्ने क्लज पनि राखेका छौँ । नगरक्षेत्रमा विद्युतीय सार्वजनिक सवारी साधन चलाउने वारे हामीले एकातर्फ साझा यातायातसँग पनि सम्झौता गरेका छौँ भने शुरुमा दुईवटा रुटमा यस्ता बसहरु चलाउने गरि केही बसहरु पनि झिकाएका छौँ । तर हालको कोरोनाको महामारीले गर्दा हाम्रो यो योजनाले सार्थकता पाइरहेको छैन । 

 

ललितपुरमा धेरै ढुंगेधारा र पोखरीहरु थिए तर आज आएर अधिकांश ढुंगेधाराहरु सुकेका तथा फोहर भएका छन् भने पोखरीहरु अतिक्रमित भएका छन् । यो वारे केही भइरहेको छ त ?
हो । ललितपुर क्षेत्रमा मात्र ८० भन्दा बढी ढुंगेधाराहरु छन् भने एकाधमा मात्र अहिलेसम्म पानी आइरहेको छ । ऐतिहासिक रुपले लेलेबाट राजकुलो मार्फत पानी ल्याएर चलाइएका ढुंगेधाराहरुमा चक्रपथको निर्माण र बेहिसाब घरहरुको निर्माणले गर्दा राजकुलो ठाउँ ठाउँमा पुरिन गएर पानी नआएको हो । हालै एकजना विशेषज्ञले यस्ता ढुंगेधाराहरुमा पानी बगाउने र राजकुलोको पुनर्निर्माणको वारेमा प्रस्ताव ल्याएका छन् । हामीले एकैचोटी सबैमा हात हाल्नुको साटो चरणवद्घ रुपमा यो वर्ष तिन चार वटा ढुंगेधाराहरुलाई पुरानो रुप दिने वारे काम थालेका छौँ । वर्षातको पानी जम्मा गरेर ढुंगेधारा र पोखरीहरुमा ल्याउने पनि योजना छ । पाटनको सुनधारामा पनि यही चरणमा पानी बग्न थाल्ने छ । हामीले गावहाल तथा पुरानो अशोक सिनेमा भएको ठाउँ निर भएका पुराना पोखरीहरुलाई पुरानै स्वरुपमा ल्याइसकेका छौँ । त्यस्तै लगनखेलको सेनाको राजदल सँगैका पोखरीहरुको पुनर्निर्माण शुरु भएसकेको छ । केही वर्ष भित्रमा नै ललितपुरका धेरै ढुंगेधाराहरु र पोखरीहरु पहिलेकै स्वरुपमा आउने छन् भने नगरको सुन्दरतामा पनि अभिबृद्धि हुनेछ ।

 

केही दिन अघि मैले ललितपुर वारुणयन्त्रशालाको भ्रमण गर्ने अवसर पाएको थिएँ । त्यतिबेला महाभूकम्पले गर्दा भत्किएका घरहरुको साटो नयाँ आधुनिक वारुणयन्त्रको भवन बनेको हेर्न पाए । जुद्धशम्शेरको शासनकालमा स्थापना भएका काठमाडौँका तीनवटा वारुणयन्त्रशालाहरु मध्यको यो पनि एक हो र यहाँ जीर्ण अवस्थामा रहेका वेडफोर्ड, डेनिस, मोरिस र पछिल्ला जर्मन र रुसी वारुणयन्त्रहरु पनि छन् । विदेशमा यस्ता पुरातत्वका हिसावले महत्व बोकेका यन्त्रहरुको सम्वद्र्घन गरेर प्रदर्शनीमा राखिने चलन छ तर यहाँ भने लिलाम गरेर कवाडीलाई बेच्ने तयारी हुँदैछ भन्ने सुनेर निकै नराम्रो महसुस भइरहेको छ । के यी यन्त्रहरुलाई सम्वद्र्घन गरेर यही वारुणयन्त्रशाला वा अन्य कुनै उपयुक्त स्थानमा अन्य पुराना यन्त्रहरु समेत संग्रह गरेर राख्न मिल्दैन ?
यो कुराको जानकारी दिनुभएकोमा मलाई निकै खुशी लागेको छ । मेरा वालसखा किशोर महर्जनसँग पनि तपाईले यो वारे कुरा गर्नुभएको रहेछ । त्यसपछि म तत्काल वारुणयन्त्रशालाको निरिक्षणमा गएँ । पुनर्निर्माण प्राधिकरणले निर्माण गर्दै गरेको ठुलो भवन पनि अब तीनचार महिनामा सम्पन्न हुन्छ । नयाँ दमकलहरुको उपलव्धताको लागि पनि काम अघि बढेको छ । तीनलाई सुरक्षित र तयारी अवस्थामा राख्न नयाँ भवन परिसरमा यथेष्ट ठाउँ छ । त्यस्तै कर्मचारीहरु बस्न र कार्यालय प्रयोजनको निम्ति पनि प्रसस्त ठाउँ हुनेछ अब । पुरानो भवन भएको जमिनमा भने एउटा खुला हरित बगैचा बनाउने योजना छ । तपाईको सुझाव पश्चात मैले पुराना दमकलहरुको लिलामी सम्बन्धि फाइल पढेको थिएँ र आफुले पनि स्थलगत निरिक्षण गरेपछि मैले यी सबै पुराना दमकललाई त्यही बगैचाको एक छेउमा हेर्न लायकका टहरा बनाएर सर्वसाधारणको लागि स्थायी प्रदर्शनमा राख्ने निर्देशन दिएको छु । तपाईलाई यो महत्वपुर्ण सुझावको निम्ति मुरी मुरी धन्यवाद छ । शहरलाई सुन्दर, सफा र सुरक्षित राख्ने यस्ता अन्य प्रस्ताव छन् भने सिधै मलाई भेटेर भन्नुभए हुन्छ । ललितपुर वारुणयन्त्रशालालाई हामीले सबै प्रकारका विपद् व्यवस्थापन गर्ने केन्द्रको रुपमा विकास गर्न लागेका छौँ । यहाँ एम्बुलेन्स, प्राथमिक उपचारका टोली, दमकल, एक्सक्याभेटर, तथा विभिन्न प्रकारका विपदमा प्रयोग हुने अन्य उपकरणहरु पनि हुनेछन् । यहाँका कर्मचारीहरुलाई हामी सशस्त्र प्रहरी र अन्य निकायमा विपद् व्यवस्थापन सम्बन्धि तालिममा पनि पठाउँदैछौँ ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार