• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

विद्यालय भवनलाई ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा सञ्चालन नगर्ने मन्त्रिपरिषद‍्को निर्णय

काठमाडौं । सरकारले बाढी–पहिरो तथा डुबानजस्ता विपद्मा मृत्यु हुनेको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिवारमा एकजना सदस्यको विपद्मा मृत्यु भएमा दुई लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने निर्णय भएको जानकारी दिए ।

 

उनले राहत वितरण गर्दा कतै दोहोरिने र कसैले नपाउने गुनासो आउने गरेका कारण त्यसको अन्त्य गर्न सरकारले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने नीति लिएको बताए। प्रवक्ता डा. खतिवडाले मानवीय क्षतिबाहेक घर, आवास, बाली, अन्य भौतिक नोक्सानी भएका परिवारलाई पनि उचित राहतको व्यवस्था गरिएको बताए।

 

सरकारले विद्यालय भवन र परिसरमा ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’सम्बन्धी कुनैपनि काम सञ्चालन नगर्ने निर्णय गरेको छ । क्वारेन्टिन र आइसोलेसनका रुपमा अहिले प्रयोग हुन छाडेका विद्यालय भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्ययन–अध्यापन गर्न योग्य बनाउने निर्णय गरिएको छ ।

 

शैक्षिकसत्र २०७६/०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका नतिजा प्रकाशन गर्ने, भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको विवरण एकीन गर्नेलगायतका निर्णयहरु मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार