• बुधबार ४-२१-२०७७/Wednesday 08-05-2020
रंगमञ्च

हामीसँग सय बर्ष पुग्ने नाटक छन् : अशेष मल्ल

काठमाडौं । शैली थिएटरले आफ्ना दर्शकसगं जोडिने शिलशिला कायम राख्न फेसबुक लाइभ मार्फत भर्चुवल माध्यम ‘शैली संबाद’ शुरु गरेको छ । यस पटकको ‘शैली संवाद’ मा बरिष्ठ रंगकर्मी एवं नाटककार अशेष मल्ल जोडिएका छन । 

 

नेपाली नाटकको उत्पति कसरी भएको थियो ?
हाम्रो भूगोलमा प्राचीनकालदेखि नै नाटक हुने गरेको पाइन्छ । मल्लकालिन र राणाकालिन समयमा नाटक भएका बिभिन्न प्रमाणहरु छन । मोतिराम भट्ट र अटल बहादुरले लेखेका नाटकहरु हामीसंग छन । तर नेपाली नाटकको आधुनिक समय भने बालकृष्ण समबाट शुरु भएको हो । उनका समकालीन मल्ल, रिमाल, भीमनिधि तिवारीहरुले नाटकको उचाई थपिदिएका थिए । तर नाटकको चर्चा गर्दा एकेडेमिक क्षेत्रमा मात्र लेखिएको नाटकको मात्र भए । बालकृष्णलाई त्यो तहमा पुर्याउने कलाकार एवं पर्दा पछाडी काम गर्ने रंगकर्मीको रेकर्ड नाटक मन्चनको उत्पती देखि नै ओझेलमा परेकाृ थियो ।  

 

बिभिन्न कालखण्ड पार गर्दै आएको नेपाली नाटकको राज्यसंग कस्तो सम्बन्ध छ ?
लामो समय हाम्रो देश अस्थिर भयो । सामान्य जनजिवन नै राम्रो बनाउन नसक्ने राज्यबाट नाटकले धेरै अपेक्षा गर्न सक्दैन । जीवनजल दिन नसक्ने राज्यले नाटकमा केहि गरेन भनेर चिन्तित हुने ठाउँ छैन ।

 

राज्यको नीति नहुँदा रंगकर्मीहरु पलायन हुदै गएका छन नी ?
अरु देशमा राज्यले रंगकर्मीलाई हेरेको छ । हाम्रोमा छैन । त्यसैले यहाँ रंगकर्मीहरुको निरन्तरता छैन । म नयाँ आउने भाईबहिनीहरुलाई के भन्न चाहन्छु भने ‘अझै केही बर्ष यस्तै हुन्छ । हामीहरुले रंगमञ्चसंगै अन्य काम पनि गर्नुपर्ने हुन्छ ।’ 

 

यहाँ नाटकमा महिलाको उपस्थिति नगन्य देखिन्छ नी ?
याद गर्नुस मेरा पुराना नाटकमा केटीपात्र हुँदैन्थे । महिला कलाकार पाइदैन भन्ने हुन्थ्यो । त्यसैले सिर्जना गर्दा नै महिला पात्र नराख्ने । अहिले हरेक क्षेत्रमा महिलाहरु अगाडी छन् । तर नाटकमा अझै यसको अभाव खडकिन्छ ।  

 

स्टेजमा गरिने नाटक बाहेक सडक नाटक र कचहरी नाटकहरु कस्ता छन? 
पञ्चायत ढाल्न जागरणको लागि मैले सडक नाटक प्रयोग गरेको थिए । यस्ता नाटक पनि सेन्सरसिप गरेर मात्र देखाइन पाइन्थ्यो । त्यतिबेला सडक नाटक भित्र पनि कला हुन्थे । अहिले भने सडक नाटक कामचलाउ हुने गरेको देख्छु । जुन रंगमञ्चको लागी दुखलाग्दो पाटो हो । सौन्दर्य गुम्दै गएको छ । जे भएपनि कला मर्नु हुँदैन ।

 

सडक नाटकबाट अचानक सर्वनाम थियटर कसरी बनाउनुभयो ? 
कलाप्रेमीले एउटा काम गर्ने स्पेस खोजेको हुन्छ । हामीले धेरै नाटक गरिसकेपछि मात्र एउटा समूह बनाएर २०३८ सालमा सर्वनाम को स्थापना गरेका थियौं । त्यो बेला र अहिले पनि हाम्रो रंगमञ्च दुखले बांचेको छ । अहिलेको रङ्गकर्मीहरु अध्ययनशील छन । 

 

बिभिन्न निर्देशकले लाइट, संगीत, कलाकारको शरीर, सेट, सम्बाद इत्यादि प्रयोग गर्ने शैली किन फरक हुनेगर्छ?  
रंगमञ्च भनेको क्लोराब्रेट आर्ट (संयुक्त कला) हो । सबैकुराको संयुक्त संयोजनले नाटकलाई गुणस्तरीय बनाउँछ । तर मूल कुरा भनेको कन्सेप्ट नै हो, निर्देशको भिजन हो । भिजन र कन्सेप्टले नै नाटकको प्रस्तुति कस्तो गर्ने भन्ने निर्धारण गर्छ । डायलग, सेट, लाईट, संगीत, रंग भनेका सहायक हुन । सबै सहायक चीजको उचीत संयोजनले एउटा अब्बल नाटक बन्छ । त्यसलाई प्रयोग गर्ने शैली फरक हुनुको कारण निर्दशकले बोक्ने कन्सेप्ट हो ।

 

नेपालमा धेरै निर्देशक कम नाटककारको भएको हो ?
कसरी कमी भए नाटककार ? हामी राम्रोसंग अध्ययन गर्देनौं र कमी भयो भनेर मात्र भन्छौं । बालकृष्ण सम, बिजय मल्ल, गोबिन्द ब. मल्ल गोठाले, भिमनिधी तिवारी, सयौं नाटकहरु मन्चन गर्न योग्य छन । तर त्यो कसले गर्ने । त्यति मात्र होइन हामी कहाँ अनेकन कथा उपन्यासहरु छ्न । बिपी कोइराला , इन्द ब. राई, भवानी भिक्षु लगायत अहिलेका लेखकका कथालाई नाटकमा ल्याउन नसक्नी र कथा भएन भन्ने । हाम्रो समयलाई छोडेर अघिल्लो पुस्ताको मात्र रचनालाइ लिएर नाटक गर्यो भने पनि हामी संग सय बर्षलाई पुग्ने नाटक छन । नाटक नै छैन भनेर बिदेशी नाटक गर्नुपरेको भन्ने कुरा मलाई कहिले चित्त बुझ्दैन । 

 

कोरोनाले रंगमञ्च बन्द छ । अब रंगकर्मी र नाटकघरको बाटो कस्तो होला?
के हुन्छ, कुन बाटो हिड्छ भनेर अहिले अनुमान गर्न सकिँदैन । तर हाम्रा नाटकले हाम्रो मुलुक, हाम्रो  माटो बोल्नुपर्छ, हाम्रो समाज आउनुपर्छ । पक्कै पनि अहिले हामीले भोगेको परिस्थितिलाई नाटक मार्फत रंगकर्मी र नाटकघर आउनेछन । 

 

प्रस्तुति : सरस्वती अधिकारी 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार