• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

नवनिर्वाचित सांसद सिटौलाले लिईन शपथ

काठमाडौं । सभामुख अग्‍निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । 

 

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बुधबार आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिएकी हुन् । सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीकचिह्न अंकित लकेट प्रदान गरेका थिए । 

 

तत्कालीन जनता पार्टी नेपालकातर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो । भारतले अतिक्रमण गरेको  कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको ठहर गर्दै पार्टीले  उनलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

 

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसङ्ख्या १९ र खसआर्य  समावेशी समूहको क्रमसङ्ख्या २ मा रहेकी सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो । 

 

तत्कालीन नेकपा (माले) को विद्यार्थी संगठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गरेकी सांसद सिटौला जसपाका संस्थापक सदस्य पनि हुन् । झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मिएकी  सिटौलाले सञ्चारकर्मीको प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार