• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

बूढो होऔँ !

आउ साथी बूढो होऔँ, चाउरिएरै भए पनि,
नजिकै आउँछ स्वर्ग, आँगन टाढा गए पनि ।
सजिलो छ बूढो हुन, जो पनि हुन सक्तछ, 
पर्दैन अरु केही गर्न, नमरे मात्र पुग्दछ ।।

 

बालक हुन धेरै गाह्रो, यतै गाली, उतै पिटाई,
थोत्राथोत्रा अनुहारले, हैरान पार्छन् सिकाइ–सिकाइ ।
मिठो लाग्ने थोरै दिन्छन्, नमिठो चैँ कोचाइ–कोचाइ,
जे जे गर्ने मनै हुन्न, गराउँछन् त्यै ललाइ–फकाइ ।।

 

बैँसमा त झनै गाह्रो, आफ्नै लक्ष्य अनेक हुने,
साथी–भाइ, गुरु, नाता सवले लक्ष्यै थपिदिने । 
एउटा लक्ष्य पुरा गर्दा, अपुरा झन् धेरै हुने,
कुनै एउटा रोजे साथी, जिन्दगीभर त्यही हुने ।।

 

बूढै हुनु बरु राम्रो, कुप्रिएरै भए पनि,
हाल्यो नयाँ–नयाँ दाँत पुराना सव गए पनि ।
कोही हेप्ने पनि हुन्छन् तर बालक डराउँछन्
तालुका रौँ झरे के भो ? नाक, कान्का पलाउँछन् ।।

 

बूढीको गहनै चाउरी बढ्दै जान्छ जीवन भरी,
अरु गहना लजाउँछन्, चाउरी देखी वरिपरि ।
आप्mना सव मूर्खता पाप, ढपक्क ढाक्छ चाउरी, 
रोग बाहेक सवैबाट सुरक्षा दिन्छ चाउरी ।।

 

स्वाबलम्वी बनि कान आफैँ बाजा बजाउँछन्,
गलाबाट हरेक बोली गीत झैँ थर्थराउँछन् ।
हात खुट्टा त्यसै नाँच्छन्, गमक्क सास फुल्दछ,
आँसु, र्‍याल बगाएर मस्त भै शिर झुल्दछ ।।

 

लामा लामा हरेक रात आयु चैँ छोटिए पनि,
तिर्सना झन् बढेका छन् संझना सव गए पनि ।
जीउ डल्लो परे के भो ? मनैले सव डुलाउँछ,
चर्मचक्षु भए बन्द, ज्ञान–चक्षु खुलाउँछ ।।

 

ठिटो जीउ बूढो पार्दै ठिटै छँदा कमाउनु, 
बूढो जीउ ठिटो पार्न पछि त्यो धन बगाउनु ।
बूढो हुनु अघिसम्म पथ्र्यो अर्ति जति लिन,
ब्याजसहित सवै फिर्ता मिल्छ अर्ति अव दिन ।।

 

प्रमाणपत्र हुन् सारा चाउरी पत्र मुहारका,
अरुका ज्ञान सुनारका चोट चाउरीका ज्ञान लोहारका ।
सिक्नु पर्ने केही हुन्न पाइने खुव सिकाउन,
सके गर्ने दुइ काम–कराउन र अह्राउन ।।

 

अन्तिम जाँच नजिक आउँदा विद्यार्थीले पढे सरी,
ईश्वर भजन गर्‍यो केही झस्किएर घरिघरी ।
स्वर्ग जाने पनि मन् छ, छैन मन पनि मर्नलाई,
जति कमजोर उति तैयार, वैतरणी पनि तर्नलाई ।।

 

अमेरिकाले दियो बन्दुक,अव यिनले चलाउँछन्,
के पर्खन्थे बूढो हुन्जेल, उमेरैमा ढलाउँछन् ।
त्यसैले आउ बूढो होऔँ, अलि छिटै भए पनि,
बूढो हुने यहाँ नै हो, पाइन्न रे स्वर्गमा पनि ।।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार