• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

फेरी म मञ्चको कुनैपनि भागमा उभिएर कथाहरु भनिरहनेछु...

अहिलेको यो महामारीको समयमा मानिसहरुको दिनचर्या प्राय : उस्तै भईरहँदा पहिलाको अवस्था भन्दा निकै फरक भईरहेको छ। अधिकांश मानिसहरु घरमा लक भएको अवस्थामा मलाई यही परिस्थितीमा बाँचेको बेलाको आफनो मनोदशाको लक चाँही यस लेख मार्फत दर्शाउन मन लाग्यो । मलाई लेखहरु समाजिक सञ्जाल मार्फत अरु माध्यमबाट आफना बिचारहरु पोष्टयाउन खासै मन लाग्दैन । यसको अर्थ यो पनि होइन कि कुनै कुराहरुसँग मेरो सहमती विमती हुँदैन वा दुख लाग्ने नलाग्ने या कुनै कुरा गलत वा सही छुट्याउन नसक्ने भएको होइन । यतीका दिनसम्म कोरोनाको डरले घरभित्र बसिरहँदा वा काठमाडौंको डेराको संसारमा हराई रहँदा सबैलाई आईपरेको यो समस्यालाई देशले कसरी हेर्छ ? विश्वले कसरी विश्लेषण गर्छ भन्दा पनि म आफैंले आफुसँग विश्लेषण गर्न खोज्छु । सायद मैले पहिला सुन्दै नसुनेको होला लकडाउन वा क्वारेन्टाइन भन्ने शव्द वा सायद सुनेको थिएँ पनि हुँला, तर यो शव्दसँग म त्यति परिचित हुन नसकेको हुन सक्छ । मानिसहरु भन्छन् जे हुन्छ राम्रो कै लागि हुन्छ । ठुला ठुला साधु सन्त वाणीमा होस् या ग्रन्थहरुमा अहिलेका जति पनि प्रशिद्ध प्रेरक वक्ताहरुलृे दिनु हुने प्रेरक वाणीहरु सुन्न पढ्न पाइन्छ । म आफु पनि जे हुन्छ राम्रो कै लागि हुन्छ भन्नेमा बिश्वास गर्ने मान्छे । सोच्छु अहिले यो घडी आएको छ यसले राम्रो कुरा केही दिएर जान्छ वा आउनेछ । 

 

धेरै गहिरो चिन्तन पनि मेरो होइन तर आफु आफुसँगको वार्तालाप हो । बिश्व हल्लाउने यो महामारी तेस्रो बिश्वयुद्धको पुरक हो भनेर मानिसहरु भविष्यवाणी गर्छन्, कल्पना गर्छन् । कोही यो पृथ्वीको आफनोे सन्तुलनको प्रक्रिया हो भन्छन् । बैज्ञानिकहरुको विश्लेषणमा महामारीको यो क्रम सय वर्ष यसरी नै चक्र जस्तो आउँछ । यी तर्कहरु सबै सत्य होलान तर पनि म यो डरलाग्दो अवस्थाको राम्रो समयको कल्पना गर्छु । तर पनि हरेक साँझ कति बिमारी पुगे ? कसैको मृत्यु भयो कि भएन ? कहाँ अर्को बिमारी भेटियो ? भन्ने जस्तो जिज्ञाशा मेटाउन त्यसको उत्तर पाउन बिभिन्न अनलाइन समाचारहरुमा पाइन्छ कि भनेर नजर डुलाउँछु, लाग्छ यो सब नियमित प्रकृया हो अनि फेरी सोच्छु अब के त ? 

 

लकडाउन भएको तीन महिना भन्दा बढि भएको अवस्थामा हरेक दिन आउने समाचारहरु राहत वितरण, भाडावालको समस्या, बैंकको ऋण मिनाहा, स्कुल बन्द, बच्चाहरुको भविष्य, सडकका मान्छेहरुको दुख, उपत्यकाबाट बाहिर जानेहरुको दुख, बिदेशबाट आफनो देश आउन चाहनेहरुको दुख, फेरी राजधानी फर्किनेको त्रास, अरु कति कति । लकडाउनमा जहाँ छौ त्यहि सुरक्षित बस्ने हो तर जहाँ छ त्यहि बस्न संघर्ष शुरु भएपछि मानिसहरुका हरेक समस्याहरु देखा पर्न सक्छ । मलाई यो अवस्थाले गाह्रो नबनाएको होइन तर यो लकडाउन होइन लुकडाउन वा लुक डु अन भन्ने मलाई लाग्छ । मलाई सरकारको गुणगान गाउनु पनि छैन किनभने सबैलाई थाहा छ सरकारले गर्नुपर्ने काम के हो भनेर । धेरैले समाजिक सञ्जालमा पत्रिका, लेख, नाटक, गीत, कविता, पेन्टिङ, फिल्म मार्फत सबैले गाएर, चिच्याएर, प्रदर्शन गरेर सुनाईरहनु भएको छ । सुतेको मानिसलाई उठाउँन सकिन्छ तर सुते जस्तो अभिनय गर्नेलाई उठाउन सकिँदैन । कुनैबेला यो भनाई हाम्रो अभिनय कक्षमा खुब सुन्न पाइन्थ्यो तर यो अभिनयमा मात्र नभएर जीवनका सबै कुराहरुमा लागु हुन्छ । मानिसहरु यो समयमा आफुले सोच्दिन भन्ने बिषयमा होस् वा आफुले चिन्न नपाएको समयलाई मैले यो लकडाउनमा आफुलाई चिन्ने राम्रो मौका बनाएँ । जीवनमा सोच्दै नसोचेको कुरा भयो भने कि एकदमै खुशी भइन्छ कि एकदमै दुखी भइन्छ किनभने नसोचेको कुराले नयाँ कुरा संगै लिएर आउँछ, अहिलेको यो महामारीले हामी सबै मानिसहरुलाई केही सानो नै किन नहोस् नयाँ काम वा कहिले नगरेको काम बिचार, जाँगरको ढोका उघारेको छ । सामाजिक सञ्जालमा गरिएका विभिन्न क्रियाकलापहरु सानो नै कुरा सहि आफनो खुशीहरु खोजिरहेका छन् भन्ने भान हुन्छ । 


बिभिन्न खाले कामहरु जीवनमा पहिलोपटक गरियो । सेल बनाइयो, कविता लेखियो, पेन्टिङ बनायो, गीत गाइयो, नाचियो, केक पिज्जा थुप्रै अनि लेख्छन् जीवनमा पहिलोपटक हो त मानिसको सबैकुरा जीवनमा पहिलोपटक नै हुन्छ । यी कदम लिन मानिसलाई लाज, सरम, त्रास, डर जस्ता शव्दहरुले रोकिएका हुन । अब ती शब्दहरुलाई छिचोलेर सानो काम नै किन नहोस् सानो कदम भएपनि चालेका छन् र मख्ख छन् । यस्तो बिषम परिस्थितीमा पनि रातदिन खटिरहने मानवहरुको काम देख्दा लाग्छ मानवता मरेको छैन । आफनो काम कति निष्ठावान भएर गर्न सक्छन् जसको उदाहरण हामीले यो परिस्थितीमा देख्न सुन्न पाउँछौं । सडकमा अलपत्र हुनेहरुको होस या अभावमा रहनुभएका सबैलाई हरेक दिनको राहत खानाको लागी अहोरात्र गरेर खटिरहने समाजसेवी भन्दा पनि मनबाट नै समाजसेवा गर्न आतुर मन भएकाको काम देख्दा उत्साह आउँछ । हामीलाई नी केही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । उनीहरुको काम देखेर केही गर्ने सोच पलाएर आउँछ । जो जसले आफनो क्षमताले भ्याएसम्म गर्नेहरुलाई देखेर मलाई लकडाउन होइन कि लुकडाउन हो भन्ने लाग्छ । आफु भन्दा तलकालाई हेर, केही गर र केही सिक भन्ने लाग्छ । 

 

अहिलेको समयमा आफुलाई एक कलाकारको हिसाबले पीडा त छँदैछ । मैले धेरै आशाहरु पनि बोकेकी छु । पक्कै पनि यो महामारीले सबै क्षेत्रलाई असर गरेको छ जसमा कला पनि त्योबाट अछुतो रहन सक्दैन । यो समय गाह्रो छ । हामी बिच अप्ठ्याराहरु धेरै छन् । अहिले कला क्षेत्रमा थुप्रै चुनौतीहरु छन् । हामीले त्यहि चुनौतीहरुसँग पौँठेजोरी खोज्दै यसमा उत्रिनु पर्छ । 
 

तर रुकुम घटनाले मनलाई हल्लाईदिन्छ । के हामीसँग मानवता अझै बचेको छ त ? मान्छे मार्न खोज्ने आँट कहाँबाट आउँछ र के ले शक्ति दिन्छ ? यो महामारीले कसैलाई आफनो भन्दैन । तपाईहरु चाँही कहाँको प्राणी पर्नुभयो । आफुलाई समाजको उच्च ठाउँमा छु भन्ने भ्रम भएको र आफु भन्दा अरुलाई सानो ठान्ने हक कसले दियो । मानौँ की यो महामारीमा तपाई चाँही छुट्टै संयन्त्र भएको पर्नुभयो । अनि अरु सामान्य संयन्त्र भएको । तपाई जे खाएर अहिले बाच्नुहुन्छ, हामी पनि त्यहि खाएर बाँचेका छौं । तपाई जसरी आफुलाई बचाउन लागिरहनुभएको छ त्यसरी नै अरु पनि । अब भन्नु होस् तपाईहरु कसरी समाजको उच्च र अरु तल्लो जात भए त । यो समयमा बाँचिरहेको कलाकारको हिसाबले यी सबै घटनाको साक्षातकार हुनु परेकोमा दुख लागेको छ । यो महामारीले अरु क्षेत्रलाई अझै पछाडी धकेले जस्तो कला क्षेत्रलाई पनि निक्कै पछाडी पारेको छ । 

 

यसले दिएकोे अभाव दुख त्रास डरलाई जितेर कुनै रंगमञ्चको प्रतिक्षालयको मञ्चमा उभिएर आफना चरित्रलाई इमानदारीपुर्वक डर, त्रास, अभाव, रमाइलो, खुशी, घृणा, परिवारको माया, साथीभाईको साथ, एकअर्का प्रतिको सम्मान, मानवता, भाईचारा, देशप्रेम र समाज प्रतिको जवाफदेहीता सुरक्षा रंगमञ्चको बिकास, निष्ठा, चिन्ता, समाज परिवर्तन, संवेदनशीलता, सचेत भावहरुले शरीरको हाउभाउबाट अनुहारको भावबाट मञ्चमा भन्न सक्नेछु । म त्यो पात्र बन्न चाहन्छु, बन्नेछु र त्यसरी मञ्चको कुनैपनि भागमा उभिएर कथाहरु भनिरहनेछु । 

 

(रंगकर्मी पशुपति राईले लकडाउनमा लेख्नुभएकोे उहाँको अनुभव ) 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार