• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

'हास्न सजिलो छ, तर हसाउन गाह्रो' : जगदिप

मुम्बई । बलिउडका चर्चित 'लेजेंडरी' कलाकार एवं कमेडियन जगदिपको  ८१  बर्षको उमेरमा  निधन भएको छ । उनको खास नाम सैयद इश्तियाक अहमद जाफरी हो ।  बढ्दो उमेरसंगै उनको स्वास्थ्यमा बिभिन्न समस्या देखिएको थियो । हिजो बेलुका ८ :४० मा उनको निधन मुम्बई स्थिति आफ्नो घरमा भएको थियो ।

 

२९ मार्च १९३९ मा जन्मेका जाफरीले बलिउडमा १९५१ मा बी आर चोपड़ाको फिल्म 'अफसाना' बाट बाल कलाकार रुपमा काम गरेका थिए । त्यसपछि उनले गुरू दत्तको 'आर पार',बिमल रॉयको 'दो बीघा जमीन' जस्ता धेरै फिल्ममा बाल कलाकारको रुपमा काम गरे । 

 

जाफरीले ४०० भन्दा बढी फिल्ममा काम गरेका छन् । १९७५ मा रिलिज भएको 'शोले'  फिल्ममा उनले गरेको सुरमा भोपाली नामक पात्रले एकदमै चर्चा बटुलेको थियो । त्यसकारण उनलाई उनको नाम भन्दा पनि सुरमा भोपाली भन्ने पात्रको नामले चिन्ने गरिन्छ । आफ्नो करियरमा उनले एक फिल्म 'सुरमा भोपाली' (१९८८) निर्देशन गरे जसमा उनी आफै प्रमुख पात्रको रुपमा रहेका थिए भने अमिताभ, रेखा, धर्मेंद्रले अतिथि कलाकारको भूमिकामा थिए ।

 

यस्तै उनले  फिल्म 'अंदाज अपना अपना' मा सलमान खानको बुवाको भूमिकामा दर्शकलाई धेरै मनोरन्जन दिएका थिए । एक अन्तरर्वार्तामा उनले भनेका थिए, 'म यो उधोगमा आएँ किनभने मलाई पैसा चाहिएको थियो । मलाई कहिले पनि मुख्य पात्र गरौँ या उसो गरौं भन्ने भएन ।'

 

यी बाहेक उनले धेरै फिल्ममा चरित्र पात्र एवं हास्यपात्रको रुपमा आफुलाई प्रस्तुत गरे । सुपरस्टार राजेश खन्ना, अमिताभ बच्चन, हेमा मालिनी, धर्मेन्द्र  इत्यादिका माझमा सानोतिनो भूमिकाबाट उनले आफुलाई परिचित गराउँदै दर्शकको मनमा लामो समय बस्न सफल भएका थिए जाफरी । उनको छोरा जावेद जाफरी पनि बलिउडका राम्रा कलाकारको रुपमा परिचित छन् । यस्तै उनका अर्का छोरा नाबेद जाफरी टिभी कार्यक्रमका निर्माता हुन ।

 

बिभिन्न सम्मान र पुरस्कारबाट सम्मानित भईसकेका यी कलाकारले २०१९ मा आइफा लाइफ टाइम अवार्ड पाएका थिए । उनको मृत्युमा बलिउडकर्मीले उनलाई सम्झिदै आफ्नो धारणा व्यक्त गरेका छन् । हास्यकलाकार जोनी लिभर भन्छन, 'मैले पहिलो फिल्म र पहिलो क्यामरा फेस 'ये रिस्ता ना टुटे' मा जाफरीसँग काम गर्ने मौका पाएको थिएँ । उहाँको आत्माले शान्ति पाओस । म प्रार्थना गर्छु र उनको परिवार प्रति सम्वेदना व्यक्त गर्छु ।' 

 

त्यस्तै अभिनेता मनोज बाजपेयीले आफु बच्चा देखि नै उनको फिल्म हेरेर हुर्केको बताउँदै भनेका छन्, 'उनको आत्माले शान्ति पाओस ।' मैले सानो उमेरमा नै उनको सबै फिल्म हेरेको थिएँ। उनले दिएको ती सबै महत्वपूर्ण सम्झनाको लागि उनलाई आभार । हामी उहाँको काम सधै याद गर्ने छौं। 

 

यस्तै अर्का अभिनेता अनुपम खेर भन्छन, 'फेरी एक तारा जमिनबाट आकाशमा पुगेको छ । भारतीय फिल्ममा उनी एकदम राम्रो कलाकार हुन । धेरै पहिले एक पार्टीमा भेट्दा उहाँले भन्नु भएको थियो – 'हेर हास्ना सजिलो छ, तर हसाउन गाह्रो' । हामीलाई उनको कमी एकदम महसुस हुनेछ ।'

 

बलिउडले पछिल्लो तीन महिनामा धेरै चर्चित कलाकारलाई गुमाएको छ । अप्रिलमा इरफान खान र ऋषि कपुर, जुन महिनामा सुशान्त सिंह राजपुत र संगीतकार वाजित खान, जुलाईको सुरुवातमा सरोज खानले प्राण त्याग गरेका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार