• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

वर्षाले साथ दिएपछि चाँडै रोपाइँ

बागलुङ । जिल्लामा ५५ प्रतिशत रोपाइँ सकिएको छ । वर्षाले साथ दिएपछि चाँडै रोपाइँ भएको हो । असारभित्र अधिकांश क्षेत्रमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । “मौसम अनुकूल पर्नाले यसपालि रोपाइँ छिटो भयो,” केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने । सिञ्चित र दुई बाली फल्ने खेतमा त जेठ दोस्रो सातादेखि नै रोपाइँ सुरु भएको थियो ।

 

बढी धान उब्जाउ हुने मजुवा फाँटमा रोपाइँ सकिएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए ।  गलकोटका मजुवालगायत फाँट खोला आसपास भएकाले रोपाइँलाई समस्या नपर्ने उनको भनाइ छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् ।

 

आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिकजसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । छिटो रोपाइँ हुने क्षेत्रमा गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायत पर्छन् । तीन बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । 

 

जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । “बागलुङमा प्रतिहेक्टर तीन टन धान उत्पादन हुन्छ,” वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भने, “उन्‍नत र वर्णशंकर जातको धान खेती विस्तारै बढ्दै छ ।”

 

बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णशंकरतिर आकर्षित हुन थालेका छन् । तुलनात्मक रुपमा भने अहिले पनि स्थानीय जातकै धान खेती बढी हुने गरेको केन्द्रले जनाएको छ । उन्‍नत धानको खेती बढाउन किसानका लागि बीउ वितरण, बीज वृद्धिजस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उन्‍नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने किसान बताउँछन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार