• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘अहिले टिक्ने भन्दा बिक्ने गीतहरु धेरै छन्’

काठमाडौं । नरेन्द्र प्यासी कुनै नयाँ नाम होइन । उनी आजका जल्दा बल्दा गायक तथा संगितकार हुन् । करिव ५२ वर्षका उनी हाल संयुक्त राज्य अमेरिकामा बसोवास गर्छन् भने हाल बिदामा नेपाल आएका छन् । उनले गायन बाल्यावस्था देखि नै शुरु गरेका हुन् । उनका पिता प्रतिमान सिंह पनि आफ्नो समयका वाद्यवादक थिए भने दाजुहरु पनि संगितमा सौख राख्दथे । नरेन्द्र प्यासी एक कुशल चित्रकार पनि हुन् । विद्यालयमा छँदा नै उनले बाल मन्दिरमा भएको चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेर तत्कालिन सोभियत रुसमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै युवावस्थाका कुशल फुटवल खेलाडी रहेका गायक प्यासीसँग फ्रेसन्युज नेपालले गरेको कुराकानीको सार :

 

अहिले के को व्यस्तता छ ?
अहिले खासै त्यस्तो व्यस्तता त छैन । त्यसमाथि लकडाउनले कामहरु खासै भईरहेका पनि छैनन् । पहिला जस्तो फटाफट हुने गीत रेर्कडिङका कामहरु अहिले सुस्ताएका छन् ।

 

के हो गीत–संगीत ?
गीतमा सबै कुरा छ । माया ममता, भाव, आवेग । गीत–संगीत सुख दु।खको साथी हो । आफु भित्र भएको भावलाई सबैको माझमा व्यक्त गर्ने माध्यम हो संगीत । गीत–संगीतमा डुब्नुको मजा नै अर्कै छ ।

 

तपाई गीत—संगीतबाट केही  टाढा हुनुभएको हो ?
त्यस्तो  टाढा पनि भएको होइन । जुन हिसाबमा पहिला गीत रेर्कडिङहरु भईरहन्थे, त्यसमा केही कमी भएको पक्कै हो । म धेरै समय अमेरिका बसँे त्यसले पनि मलाई नेपालका गीत–संगीतहरुमा नदेखिएको होला । अमेरिकामा पनि नेपाली कार्यक्रमहरु भइरहन्थे र म त्यहाँ आवद्ध भईनै रहन्थेँ । गीतसंगीत छोडेको चाँहि छैन, बरु बालबच्चाहरुको शिक्षा र भविश्यको निम्ति अमेरिकामा केही समयको लागि बसोवास गरिरहेको छु ।

 

तपाईलाई मन परेको गीत ?
मैले गाएको र दर्शकले एकदमै मन पराईदिनुभएको ‘के भुल भयो प्रिय मसँग बोल्दिनौं’ नै मेरो पनि मन पर्ने गीत हो ।

 

अहिले गीत—संगीतको अवस्था कस्तो देख्नुहुन्छ ?
गीत संगीतको अवस्था केही माथी उक्लेको छ तर यसको बिकास भने खासै भएको छैन । कलाकारहरु अझैपनि आफ्नै गीत संगीत निकालेर बाँच्ने अवस्थामा छैनन् । महोत्सव, बिभिन्न कार्यक्रमहरुले कलाकारहरुलाई बचाइरहेको छ । मलाई फेरी अहिले टिक्ने गीतहरु भन्दा धेरै बिक्ने गीतहरु मात्र आईरहेको जस्तो लाग्छ ।

 

 

अहिले गीतसंगीतमा पुराना हराए नयाँले गर्न सकेनन भन्छन् नी ?
यो सबै निरन्तरताको कै कुरा हो । यसमा कतिले गाउन छाडेको पनि देखिन्छ । कति गाईरहेकाहरु पनि यसमा टिक्न नसकेर बाहिर पलायन  भएका छन् । जे कुरामा पनि निरन्तरताको ठुलो भूमिका हुन्छ । फेरी यसमा प्रतिस्पर्दाको कुरा पनि आउँछ । अहिले पनि मैले गीतसंगीत छाडेको छैन । तर मेरो समयका साथीभाई धेरै गीतसंगीतबाट टाढा हुनुहुन्छ । अहिले आएका नयाँहरुले पनि यसमा खासै आफ्नो पहिचान बनाउन सकेका छैनन् र यो सबै प्रतिस्पर्धाले नै गर्दा हो । 

 

यसबाट जिवीकोपार्जन धानिन्छ त ?   
यो हामी संगीतको क्षेत्रमा लागेकाहरुका सबैको लागि साझा चुनौती हो । अहिले एल्बम बिक्री हुने जमाना छैन । रोयल्टीबाट केही हदसम्म हामीलाई राहत मिल्छ । देश विदेशमा हुने सांगीतिक प्रस्तुतिहरुमा पनि बोलाउनु हुन्छ । जसले गर्दा केही सहज भएको छ ।

 

पहिला र अहिलेको अवस्था कस्तो देख्नुहुन्छ ?
पहिला र अहिलेको गीतसंगीतमा धेरै परिवर्तन आइसकेका छन् । पहिला एउटा गीत गाउन दिनभर लाग्थ्यो, एक महिनामा फेरी अर्को डेट पाइन्थ्यो । त्यसकारणले पनि गीतहरुको कमी हुन्थ्यो ।  खासै उपलव्धि पनि हुँदैन्थ्यो । फेरी बिचमा आएर सांगीतिक क्षेत्रका एल्वमहरु बिक्री हुन थाले । यसले अलिकति गीतसंगीतमा उर्वरता दियो । अहिले युट्बले र विभिन्न कार्यक्रमहरुले गर्दा यो क्षेत्र गर्न सक्नेको लागि राम्रो बनेको छ ।

 

कस्तो चल्दै छ नयाँ गीतको तयारी ?
हप्तामा एकाध नयाँ गीतहरु त गाईनै रहेको छु । तर आफुले नै सिर्जना गरेका र रेकर्ड गर्न बाँकी भएका गीतहरु पनि धेरै नै छन् । मेरो निकै पुराना बालसखा कपिल लोहनी र म भएर हाम्रा दुईवटा पुराना गीतहरु रेकर्ड गरायौँ । यी गितहरु हामी ३०–३० वर्ष अघि विभिन्न सांगितिक कार्यक्रमहरुमा गाउँथ्यौँ । पहिलो गीतको बोल छ “तिमी विश्वास गर या नगर, मैले तिमीलाई चाहिसकेछु” भन्ने छ । यो गीत हाम्री कलेजकी साथि मिरा घिमिरेले लेखेकी हुन् भने यसको संगीत कपिल लोहनीले बनाएका हुन् । यो गित मलाई निकै मन परेको मध्येको हो । अर्को गीत भने थोरै पप किसिमको छ । आजका युवाहरुले मन पराउँछन् जस्तो लाग्छ । यसको बोल 'आउ प्रिय मेरो नयनमा, अनि मेरो मुटुको धडकनमा' भन्ने छ । यो गीतको रचना र संगीत कपिल लोहनीको र मेरो हो भने गाएका पनि हामीले नै हो ।

 

अब आउन लागेको नयाँ गीत कहिले सुन्न पाइन्छ ? 
यी दुबै गीतहरु अब छिटै रिलिज हुने छन् । शुरुमा एफ एमहरुमा बज्ने छन् भने केही समयमा नै  यीनको म्युजिक भिडियो पनि तयार हुनेछ ।  

 

आफनो फ्यानहरुलाई के भन्नुहुन्छ ?
सबै उमेर समुहकाले मेरो स्वर रुचाई दिनुभएको छ । यसमा म अत्यन्तै खुशी छु ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार