• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

गाउँ-गाउँमा रंगमञ्च

रोल्पाको जुगारमा हाम्रो नाटक मञ्चन प्रारम्भ हुनै लाग्दा एउटा मानिस दुवै हातमा क्यालेण्डर समाएर आयो । ऊ दर्शकदिर्घाको सामुन्ने पल्याँटी कसेर बस्यो । र, उसले हातमा बोकेको क्यालेन्डर आफ्नो सामुन्ने फिजायो । नाटक मञ्चनसँगै ऊ फाट्टफुट्ट बोल्दै थियो । जब नाटक सिद्धियो कचहरी नाटकका सुत्रधार दर्शकको मौनता भंग गर्दै मञ्चमा छिरे र बोले, “के कल्पनाले यो घर छोडेर जाओस् ?” त्यो व्यक्ति अचानक झस्केर बोल्यो, “जाओस, मेरो पनि श्रीमती छैन् ।” दर्शकहरू गलल्ल हाँसे । कुरा हाँस्ने नै थियो । तर धेरैपछिसम्म पनि ती मानिसले बोलेका शब्दहरू मेरो कानमा गुञ्जिरहे । मानिसको मनभित्र दबिएको पीडा कहीं न कहीं गएर प्रस्फुटन हुन्छ नै । यहाँ यही भईरहेको थियो । 

 

कल्पनाको लोग्ने विदेश गएको थियो । दुःखमा सायद कल्पना लोग्नेकी प्यारी थिई । लोग्नेले केही पैसा कमायो । छोराले विदेशबाट शंका गर्न थाल्यो । कल्पनाको सासूससुराले त्यही शंकाको भरमा उसलाई घरबाट निकाली दिए । पैसा कमाएर आएपछि हर्केलाई छानीछानी गाउँमा स्वास्नी पाइँन्थ्यो । तर, त्यो दर्शक दिर्घामा बसेको व्यक्तिले सायद गरिबीको कारण एउटी स्वास्नी पनि पाएन । मानसिक अवस्था गुमाउँदै गयो । र, कल्पनाको दुःखमा उसले आफ्नो सपना भेट्यो । र, चिच्याउँदै बोल्दैछ । उसको सामुन्ने फिजाएको क्यालेन्डरले सायद समय बोल्दै छ । समयसँगै बुढेसकाल लाग्दा समेत स्वाीनी छैन, तर हर्केका लागि त्यही स्वास्नी धेरै भएकी छे । हर्केको पैसासँगै खरिद हुन गाउँमा चेलिबेटीहरू हुर्कंदै छन् । 

 

जुगारको हाम्रो प्रस्तुति पछि बस लाग्दैछ रोल्पाकै घर्तीगाउँतर्फ । भीरका चट्टानहरू छेडेर बाटो बनाइएको छ। पहाडका टुप्पा–टुप्पामा टल्किएका जस्ताका घरहरू देख्दा आत्मगौरव र छटपटी दुवै हुन्छ। कठोर भू–गोलको बावजुद पनि हरपल हाँसिरहेका रोल्पालीहरू मनका धनी लाग्छन् । छतिभरी दुःख, कष्टका पहाडहरू बोकेर पनि निर्धक्क हिंड्छन् । हँसिलो मूस्कानका साथ उकाली, ओराली चढिरहेकै छन् । 

 

रात छपक्क परेको छ। घर्तीगाउँको होटलबाट फाट्टफुट्ट फोन आइरहन्छ । फोनमा, “कहाँ आइपुग्नुभो ?” आवाज आउँछ । हामी सवै नौला छौं । ठाउँको अत्तोपत्तो हुँदैन र उत्तर दिन्छौं, “फलानो ठाउँबाट हिंडेको १ घण्टा भयो ।” फोनमा सान्त्वना दिंदै उत्तर आउँछ, “ए अब धेरै छैन ।” तर, हाम्रालागि कति हो कति टाढा हुन्छ । कहिल्यै आउँदैन घर्तीगाउँ । 

 

 

बाटोमा अचानक हाम्रो बस अगाडि दुम्सी देखा पर्छ । रातमा चर्न निस्किएको जन्तु यता न उता पर्छ । र, हाम्रै बसको अगि–अगि बाटोमा दौडन्छ । दुम्सीको हत्तुहैरान देखेर बस चालक राज कपाली एकै क्षण बस रोक्छन् । दुम्सी कतै अलप हुन्छ । पुनः बसका पाङ्ग्रा अघि बढ्छन् । बिचरो कहाँ अलप हुनु अझै सडकै–सडक दौडिंनै रहेको रहेछ । दायाँ जाओस् कठोर भीर छ, बाँया जाओस पहाडको भित्तो । करिबन १० मिनेट दुम्सी दौडिनै रह्यो । र, झाडीमा कतै अलप भयो । 

 

घर्तीगाउँ पुग्नुपूर्व एउटा विशाल चट्टान बाटोमा अडेको छ । तल घर्तीगाउँ बत्तीले चम्केको छ । सायद यो चट्टान लड्दो हो त घर्ती गाउँका कति घरहरूसँगै मानिसहरू किचिंदा हुन्। प्रकृतिको महानता पनि होला, मानिसलाई हरपल खबरदारी गरिरहेको छ । म कुनै पनि बेला झर्न सक्छु है, भनेर सर्तक गराइरहेकै छ त्योे एकलो चट्टान । तर, मानिस पनि कहाँ टेर्दो हो र ! त्यहींमुनि धमाधम नयाँ ढलान उठाइरहेकै छ । प्रकृति र मानिसको द्वन्द्व सदियौंदेखि चलिनै रहेको छ । मानिस आफ्नो अहंकारलाई रोक्नेवाला छैन, प्रकृति आफ्नो धर्मलाई छोड्नेवाला छैन । सायद प्रकृतिको धर्म बुझ्न मात्र सके पनि मानिस अझ धेरै सुखी हुँदो हो । 

 

होटल भित्रका प्रत्येक जसो भित्तामा लेखिएका छन् महान् व्यक्तिका वाणीहरू । साथीहरू भित्ताभित्ता नियाल्छन् । होटल भर्खरै बनेको रहेछ । भर्खरै पोतिएको रङ र गन्ध कोठाभरी फैलिएको छ । अपूरा कामहरू छरपष्ट देखिन्छन् । फोहोर जताततै थुपारिएका छन् । होटलका कोठा–चोटामा कुचो नलगाएको हप्तौं जस्तो देखिन्छ । सरसफाइको ध्यान कतै पनि गएको देखिंदैन । हामी होटलको कोठाभित्र छिर्‍यौं । ओछ्यानहरू ओसिएका छन् । सिरक, तन्दा, सिरानीको ठाउँ ठेगान छैन । कोठाका चारैवटा भित्तामा महान् वाँणीहरूले ढाकिएको छ । मेरो पलङ्कै भित्तामा अब्दुल कलामको बहुचर्चित वाणी छ, “सपना त्यो होइन जुन निदाएर देखिन्छ, सपना त्यो हो जसले सुत्न दिंदैन” सायद होटल साहूले बुझेर नै यो वाँणी यहाँ लेखाएको हुनुपर्छ । कोठाको दुर्गन्ध र चिसो ओछ्यानमा कुनै पनि यात्रु सजिलै निदाउन सक्दैन । र, रातभर जागा बसेर ननिदाइ सपना बुन्छन् । अब्दुल कलाम जस्तै महान् लागे मलाई यो होटलका साहु ।


भोलिपल्ट बिहान होटलबाहिर निस्किँदा माीथको भिरमा उही एक्लो चट्टान मलाई नै हेरिरहेझैं लाग्यो । धन्न राती होटलमा बस्दा यो चट्टान बिर्सिएछ र एक झप्को निदाइएछ । आफ्ना ग्राहकलाई सपना देखाउनकै खातिर त होइन साहूजीले यो लड्न लागेको भिमकाय चट्टानको तल यो होटल खोलेको ? 

 

बिहान घर्ती गाउँको मूल सडकमै नाटक देखाएर लाग्यौं हामी माओवादी युद्धको जननी थबाङतर्फ । बाटो अगाडि बढ्दै जाँदा बाटोभरि गाँजाका बोटहरू देखिन्थे । ठुल–ठूला फाँटमा समेत गाँजाका पातहरू हावामा हल्लिरहेका थिए । यो कुनै अवैध वनस्पति हो या वैध थाहा छैन, तर प्रकृतिको एउटा हिस्सा लाग्यो । थबाङ पुग्नुपूर्व एउटा सुन्दर गाउँ पुग्दा एउटा युवाले हाम्रो गाडीतर्फ अगाडि बढ्दै बोल्यो, “ओए गाडी रोक्.. रोक् ।” यही शब्दहरू दोहोर्‍याउँदै हाम्रो बस सँगसँगै दौडियो ऊ । अन्य केही मानिसको भीड पनि संगसँगै थियो । बसमाथि नै ढुङ्गामुढा गर्लान् कि झैं त्यो भीड देखियो । तर, चालकले बस आफ्नै रफ्तारमा दौडाई रहे । पछाडि त्यो युवा चिच्याई रह्यो । त्यसको एकैछिन्पछि तल थबाङको वस्ती देखियो । 

 

अर्को दिन बिहान थबाङमा नाटक देखाइयो । र, दिउँसो ३ बजे अर्को प्रस्तुतिका लागि फुन्टिबाङमा नाटक देखाउन हाम्रो बसले साँघुरो बाटोमा हल्लिँदै जलजलाको बाटो समात्यो । माथिको डाँडामा युद्ध सँग्राहलयको भव्य भवन बन्दै रहेछ। जलजला माओवादी द्वन्द्वको अर्को विशेष स्थान रहेछ । यसैको नामबाट युद्धकालमा ‘‘जलजला’’ नामको माओवादीहरूको एउटा मुखपत्र छापिन्थ्यो ।

 

केही माथि उकालोमा हाम्रो बस हिलोको दलदलमा फस्यो । बाटोको दुवैतर्फ गाँजाका फाँटहरू थिए । जति कोसिस गर्दा पनि त्यो हिलोको दलदलबाट बस माथि सर्नै मानेन । अन्त्यमा हामीले बस त्यहीं छोडेर हिंडने निर्णय गर्‍यौं । र, नाटकका सामानहरू काँध–काँधमा बोकेर माइकिङ गर्दै उकालो चढ्यौं । करिब १ घण्टा हिंडेपछि फुन्टिबाङ पुगियो । युद्धकालमा माओवादी नेताहरू प्रचण्ड, बाबुराम भट्टराई लगाायतका केन्द्रीय नेताहरू यहींको एउटा घरमा बसेका रहेछन् । यहाँबाट जलजला पुग्न करिब २ घण्टा हिंड्नु पर्दोरहेछ। 

 

नाटकमा करिब ७० वर्षका २ जना आमाहरू सिरी रोक्का र बाकुरा बूढाले नाटकको कचहरीमा देखाएको भूमिकाले रोल्पावासीको प्रतिनिधित्व गरेको थियो । हाम्रो नाटकका सामन्ती र ढोंगी शैलीका ससुरा बाजेको अन्यायप्रति उनीहरूको आक्रोशले जनयुद्धको छनक दिंदै थियो । जनयुद्धका तीता–मीठा अनुभवहरूले भरिएको रोल्पा आजपनि अन्यायको विरुद्धमा लड्न तयार छ भनेझैं ती दुई आमाहरू अन्यायका विरुद्ध कल्पनालाई साथ दिन पाखुरा सुर्किंदै मञ्चमा प्रवेश गरेका थिए । 

 

फुन्टिबाङको नाटक प्रस्तुतिसँगै हाम्रो रोल्पाका पाँच प्रस्तुतिहरू सिद्धिए । र, पूर्वी रुकुम, बाग्लुङहुँदै पोखरा निस्किएर सुनसरी पुग्ने यात्राको रुट बनायौं, तर रुकुम पूर्वको लुकुम खोलामा पुगेर हाम्रो बस फस्यो । पुल नभएको यो खोलाबाटै गाडी आवतजावत गर्दो रहेछ । कैयौं प्रयासपछि पनि बस डेग नहल्लिएपछि नजिकैको प्रहरी चौकीका दाजुभाइहरूको सहयोगमा फसेको बसलाई तान्न टिपर झिकाइयो । टिपरले कैयौंचोटि तान्ने प्रयासमा पनि बस नहल्लिएपछि टिपर निराश भएर फर्कियो । अन्त्यमा दुई घण्टाको प्रतिक्षापछि जेसिबी डोजर आइपुग्यो । जेसीबीको कैयौं प्रयासपछि मात्र बस बाहिर निस्कियो ।

 

करिब पाँच घण्टाको निराशालाई चिर्दै बल्ल हाम्रोे अनुहारमा खुशी छायो । खोलाले बसको नम्बर प्लेट समेत बगाएछ । माथिको बजारमा बस ल्याएर नम्बर लेखियो । त्यसपछि हाम्रो रुटले नयाँ गन्तव्य समात्यो । अगाडिको बाटोमा पहिरो गएर सडक अवरुद्ध भएको बुझेपछि रुकुम पश्चिमहुँदै दाङको घोराही निस्किने नयाँ रुट बन्यो । घोराही पुग्दा रातको १ बजेको थियो । 

 


होटल प्रवेश गरेको पलभरमै उज्यालो भएकोझैं लाग्यो । बिहान साथीहरूलाई होटलमै छोडेर हामी गाडी सर्भिसिङ गर्न ग्यारेजतर्फ निस्कियौं । आफ्नो यात्राको साथी यो बसप्रति पहिलोचोटी अनौठो प्रेम जागेर आयो । गाडी वासिङ गर्दै गर्दा आफ्नै शरीर नुहाएर हलुका भएझैं अनुभुत भयो । गाडीका २ चालकहरू राज कपाली र रोहित रञ्जितकारको गाडीप्रतिको प्रेम देखेर म चकित खाएँ । उनीहरू बसका प्रत्येक पार्टपूर्जाहरू नियालेर हेर्थे र धूलोका कण–कण पुछेर सफा पार्थे । बसलाई होटलतर्फ फर्काउँदै गर्दा पनि रोहित गाडीभित्रको कुनाकाप्चामा रहेका धुलोका कणहरू पुछिरहेकै थिए । 

 

सफा र तन्दुरुस्त पारिएको बसमा हाम्रा सामानहरू कोच्दै हामी लाग्यौँ पुनः हाम्रो नाट्य यात्राको अर्काे गन्तव्य इटहरीतर्फ । 

 

दिउँसोको खाना खान हाम्रो बस आइपुग्यो उही चितवनको डबली क्याफेमा । काठमाडौंबाट निस्कँदा यात्राको पहिलो खाना हामीले यहीं खाएका थियौं । आज पुन : डबलीकै पाहुना बन्ने अवसर पाइयो । हामी खुशीले रमायौं । र, मीठो खाना खाएर पुनः बढ्यौं आफ्नो गन्तव्यतर्फ ।

 

उकाली होस् या ओराली होस्
घुम्ती घुम्तीमा ससुराली होस्
काली होस् या गोरी होस् 
ससुरालीमा एउटा साली होस् ।

 

नाट्य यात्रामा हाम्रो बस दौडँदै गर्दा कैयौं सवारी साधनलाई पछि पार्‍यो । कैयौंबाट पछाडि पर्‍यो । चितवनको डबलीमा खाना खाएर टाँढी आइपुग्ने क्रममा एउटा ट्रिपरको पछाडि माथिको मुक्तक पढ्न पाइयो । चालक सिटको देब्रेको पहिलो नम्बरको सिट भएकोले नि होला हाम्रो बसको अगाडि पर्ने सवारीसाधन र उक्त मोटरका पछाडि लेखिएका कोटेशनहरूमा दृष्टि ठोक्की हाल्थे मेरा । विशेषगरी पूर्व पश्चिम राजमार्गमा गाडीको चाप धेरै भएकाले यस्ता अनगिन्ति मुक्तकहरू पढ्न पाइयो । बुटवलबाट फर्किने क्रममा एउटा माइक्रोमा लेखिएको थियो, “भ्रष्टाचार गर्नेलाई उपहार” र उपहार लेखिएको पछाडि थियो एउटा खुकुरीको रातो रङको स्टिकर । 

 

त्यो देखेर लाग्यो, सायद भ्रष्टाचारले हरेकलाई पोलेको छ । आखिर गाडी चालक पनि यही देशको नागरिक नै त हो । गाडी लिएर हरेक ठाउँ पुग्दा कहीं न कहीं भ्रष्टहरूले तिनलाई नै घोचेकै होलान् । त्यस्तै महेन्द्रनगर पुग्नै लाग्दा उही एउटा ट्रिपरमा पढ्न पाइयो, “one mistake game over" ड्राइभरको जिन्दगीमा सायद यही फर्मुला लागु होला । चालकका भाषामा गल्ती गर्नु जीवन समाप्त गर्नु भन्ने बुझियो । यस्ता कोटेशनहरू जति सरल लाग्थे, त्यतिनै मनोवैज्ञनिक र गहिरा अर्थ पनि दिएझैं लाग्थ्यो । कोशी ब्यारेक पुग्नुपूर्व एउटा इन्धनको ट्याङकीमा पढ्न पाइयो, “मुटु मेरो माया कसैको ।”

 

आहा ! कस्तो सटिक झैं लाग्ने । घर–परिवार छोडेर हिंडेको चालकको मुटुभित्र पनि बालबच्चा, श्रीमती, बुवाआमा या प्रेमीकाहरूले नसताउने कुरै भएन । मुटु त आफ्नै हो । मुटुको ढुकढुकी कसैको लागि चलिरहेको होला । पुनः इटहरी पुग्दै गर्दा एउटा बस पछाडि पढ्न पाइयो ‘मित्रको सहयोग शत्रुको आशिर्वाद ।’

 

नाट्य यात्राका क्रममा भेटिएका आनन्ददायी अनुभूतिहरू मध्ये यस्ता कोटेशन पनि अर्को शानदार पक्ष बनेर रहेकै छन् ।

 

इटहरी चोक पुग्दा घडीका काँटाहरू घुमिरहेकै थिए । इटहरीचोकको टा«फिकको चक्रवत टापुमा सवारी साधनहरूले चक्कर लाइरहेकै थिए । नाट्य यात्राका अनेकांै कुइनेटाहरू पार गर्दै हाम्रो बा ४ ख ५८३२ ले इटहरी स्थित युवा विकास केन्द्रतर्फ टर्निङ गर्दै भित्री गल्ली समात्यो । 

 

मौफसलमा बसेर पनि युवाहरूले देखाएको यो कदम सह्रानीय लाग्यो । भित्रको ठूलो हलमा युवाहरू छलफलमा जुटेका थिए । हामीहरू आ–आफ्ना ब्याग च्यापेर कोठाभित्र प्रवेश गर्दै थियौं । थ्म्ऋ सायद युवाहरूको भेला हुने केन्द्र थियो । देशी–विदेशी युवाहरू जम्मा भएर गफ गरिरहेका भेटिन्थे यहाँ । बेलाबेलामा विभिन्न भेगका मानिसहरू यहाँ  युवाहरूसँग भेट्न आइरहन्थे । कोही फुर्सदमा देखिएन्न । सबै आ–आफ्ना काममा व्यस्त थिए । सायद देशका कुनाकाप्चाहरूमा कहीं न कहीं त देशको भविष्यको झिल्काहरू YDC मा जस्तै चम्किरहेकै हुँदा हुन् । यी दृश्यहरू हाम्रो यात्राको ऊर्जाहरू थिए । 

 

राजधानीमा मात्रै बसेर ठूलो भाग कहाँ भेटिन्छ र ? मौफसलका गल्ली र चोकहरूमा पनि अवसरहरूले पर्खिरहेकै छन् । केवल दृष्टिकोण र लक्ष्यको खाँचो छ । यस्तै–यस्तै अनुभूत गर्‍यो YDC को दुईदिने बसाईले हामीलाई । 

 

अर्को दिन बिहान ८ बजे हामीलाई गेटमै लिन आइपुगे युवा इन्जिनीयर राजेश शाह । उनी हाम्रो सुनसरीको ४ कार्यक्रमका संयोजक थिए । उनकै मार्गदर्शनमा हामी पुग्यौं सुनसरीको उत्तरी गाउँ बङ्कलुवाको त्रिभुवन माविको प्राङ्गणमा ।

 

नाटक मञ्चनसँगै विद्यर्थीहरूका भीडबाट स्वतस्फूर्त नाटकमा अभिनय गर्न निस्किन ९ कक्षामा अध्यनरत प्रिया कार्की । बालविवाह बिरुद्ध उनले १६ वर्षमै पढाई छोडेर गोपुसँग भागेकी उर्मिलालाई सम्झाउँदै बोलिन्, “यस्तो माया कागजमा मात्र हुन्छ । यथार्थमा हुन्न । तिमीले पढ्न छोडेर अहिल्यै गोपुसँग विवाह गर्‍यौ भने नाटकमा जस्तै दुःख पाउँछौ ।” प्रिया बहिनीको बोल्ने आत्माविश्वास देखेर भीडमा हराएका विद्यार्थी, अभिभावक र शिक्षकहरूले गर्वले ताली पिटे । खुशीले रमाए । प्रियाले बोल्दै गरेको फोटो क्लिप आज सबैको प्रेरणा बनेर बुकलेटहरूमा छाएका छन् । 

 

बङ्कलुवाबाट करिब आधा घण्टा उत्तरतर्फ लागेपछि पुगियो सुनसरी कै डुम्राहा १ स्थित शनिश्चरे निमाविको प्राङ्गणमा, जहाँ नाटकमा अभिनय गर्न एकपछि अर्का दर्शक स्वतस्फुर्त रूपमा आइरहे । कोही कल्पनालाई सहयोग गर्न तम्सिए । कोही बालविवाह बिरुद्ध गोपु र उर्मिलालाई सम्झाउन मञ्चमा पुगे । त्यस्तै मानबहादुरको हैकमलाई न्याय गर्न आइपुगेका थिए वडाध्यक्ष रुद्रबहादुर बस्नेत । 

 

उनले सबैको ध्यान आकृष्ट पार्दै दर्शक दिर्घामा प्रेरणा छर्ने काम समेत गरे । “अवसर पाए सबैले राम्रो काम गर्न सक्छन् । देशमा महिला राष्ट्रपति भएका छन् । महिला नै प्रमुख न्यायाधिश भएका छन् । सभामुख भएका छन् । कल्पना बहिनीले पनि अवसर पाईंन भने राम्रो काम गर्न सक्छिन् । उनलाई अवसरको खाँचो छ । यो हिंसाबाट मुक्त गरेर उनलाई हामी सबैले सहयोग गर्नुपर्छ । र, कल्पनाहरूका लागि अवसरहरू खाज्नुपर्छ ।” उनले यसो भन्दै गर्दा दर्शक दिर्घाबाट तालीको पर्रासँगै सबै गम्भिर हुन्छन् । 

 

आज हाम्रो प्रस्तुतिमा अर्को एउटा अतिरिक्त शो थपिएको छ । त्यो तेस्रो प्रस्तुतिका लागि, सुनसरीकै दक्षिणी भेग छिटाहा पुग्नु छ । २ घण्टा अघिदेखि त्यहाँबाट तारन्तार फोन आइरहेकै थियो । र, हाम्रो बस डुम्राहाबाट सिधै महेन्द्र राजमार्ग क्रस गरेर दक्षिणतर्फ हानिन्छ । बेलुका ५ बजे भनेको छिटाहा पुग्दा गाडीले ६ बजाइसकेको हुन्छ । 

 

हाम्रो बस छिटाहाको करम चोक पुग्दा स्थानीय, गाउँ पालिकाका जननिर्वाचित प्रमुख, उप–प्रमुख र प्रहरी सही कमलबहादुर मिश्र लगायत करिब ४०० दर्शकले बाजागाजासहित हाम्रो भव्य स्वागत गर्छन् । हाम्रो दिनभरीको थकान ऊर्जामा परिणत हुन्छ । 

 

नाटक मञ्चनसँगै स्थानीय दिदीबहिनीहरू कल्पना र उर्मिलाका मनोभावनासँगै घुम्टोभित्र सुक्सुकाउँछन् । यहाँ पनि भर्खरैको कलिलो उमेरमै आमा बनेका बहिनीहरू काखमा बच्चा च्यापेर घुम्टोभित्र आफ्ना खुशी र उमंग लुकाउन बाध्य देखिन्थे । सायद गरिबीसँगै हिंशा र पीडा व्याप्त छ । उनीहरूको घुम्टोभित्र छल्किँदै गरेको आँशु र निर्दोषपनले यही देखाउँछ सायद ।

          
करमचोकको जीवन्त रङ्गमञ्चमा उत्रिएका उनीहरू खुलेर बोल्न डराउँछन् । पुरुषहरूको अन्यायको बिरुद्ध बोल्नु उनका लागि झन् हिंशाभित्र फस्नु हो । हाम्रो उद्देश्य पनि तिनको घरबार बाँडनु थिएन । होइन । कला र प्रस्तुतिका माध्यमले यथार्थताहरूलाई उनीहरू सामू पोख्ने प्रयास मात्र थियो । 

 

संसारमा कसले पो कसलाई सुधार्ने ठेक्का लिएको छ र ? आ–आफ्नो कर्ममा निर्विकल्प लागि रहनु नै सायद सबैको धर्म हो । हामी आफ्नो कला पोख्न चाहन्थ्यौं । उनीहरू सिर्फ एउटा दर्शकको रूपमा हेरून् । हामी कसैलाई पाठ सिकाउन गएका थिएनौं । बरु उनीहरूबाटै जीवन भोगाइका पाठहरू सिक्न सकिनथ्यो । धैर्यताको पाठ सायद हामीले उनीहरूबाट सिक्नु पथ्र्यो । मनभित्र लुकेका हाम्रा अहंकारका बीच सायद हाम्रा इन्द्रियले थोरै धैर्यता ग्रहण गरे होला । 

 

हाम्रै नाटककी पात्र उर्मिला अर्थात संगीता उरावँको गाउँ पनि थियो छिटाहा, जहाँ हामीले उनकै घरमा बसेर स्थानीय परिकारहरू चाख्ने मौका पनि पायौं । करमचोकबाट फर्किंदा बेलुकाको  आठ बजायो घडीले । अर्को दिनको बिहान हाम्रो बस प्रस्तुतिका लागि सुनसरीकै उत्तरी भेग मिर्चैया पुग्यो । प्रनाउ विनोद शर्माको “मिला तो मिट्टी” वाक्यांश कलाकार तथा दर्शकहरूका मन मस्तिष्कमा आज पर्यन्त बसिरहेकै होला । उनको विचारको सार थियो, मिला तो मिट्टी । 

 

‘‘कुनैपनि नौलो कुरा नभेटुन्जेल मानिसलाई के के न हुन्छ, तर जब उसले उक्त कुरा भेट्छ त्यो माटो सरह हुन्छ । जसरी गोपुले उर्मिलालाई नपाउन्जेल के के न होला भन्ने ठान्यो, तर उर्मिलालाई पाएपछि गोपुले उसलाई माटो सरि ठान्यो । दुःख दियो । दुई जीउकी हुँदा समेत गोपुले उर्मिलालाई दुःख दिन छोेडेन ।”

 

 

विनोद शर्माको उक्त वाँणी हामीलाई गीताको सार सावित भयो । हामीले देशमा हरेक ठाउँमा नाटक मात्रै देखाएनौं । प्रत्येक स्थानबाट केही न केही सिकिरह्यौं । जानीरहौं। हाम्रो साँघुरो मस्तिष्कलाई फराकिलो पार्ने अवसर पाइरह्यौं । 

 

विश्वविख्यात शिक्षाविद डमभिलले, “शिक्षा कोक्रोबाट शुरु हुन्छ र चितामा गएर टुङगिन्छ” भनेको यही त रहेछ । जीवनका प्रत्येकक्षण सिकाइका पानाहरू रहेछन् । मानव जीवन आफैंमा पुस्तक रहेछ । अपूर्ण पुस्तक कहिल्यै नसकिने । कहिल्यै न टुंगिने । कहिल्यै न अघाइने । 

 

हरे कस्तो रहस्यभित्रको गहिराई । कैयौं सगरमाथाहरू डुब्ने महासागर रहेछ । हाम्रै मनभित्र । जुनीजुनीको जन्म पाए पनि अपूर्ण । अल्विदा साथीहरू भर्खरै इटहरीको तायारिप्ची भवनमा उर्मिलाले यसै भनिन् । उनको कात्रो समाएर म मञ्च टेक्दै थिएँ । दर्शकहरूमा सन्नाटा छाएको थियो । मेरो पछिपछि उर्मिलाको लास थियो । उर्मिलाकी भाउजू कल्पना घरबाट हिंसाको पोको बोकेर निकालिंदै थिइन् । उर्मिलाको लाश आफ्नै आँगनमा आइपुग्दा उनका आँखाबाट आँशुका थोपाहरू टप्किंदै थिए । उनको मुखारबिन्दबाट चिच्याउँदै एउटा आवाज घन्कियो तायारिप्ची भवनमा, “आ...मा... ।”

 

तायारिप्ची भवनको वरिपरिका रुखमा बास बस्न आइपुगेका पंछीहरू त्यो आँशु र पीडामिश्रित कर्कश ध्वनी सुनेर तर्सिंदै उडे । मञ्च पछाडि लाश बनेर पुगेकी उर्मिला झस्किंदै ब्युँतिन् र डाँको छोडेर रुन लागिन् । उनको अगिपछि लागेका रङ्गमञ्चका मलामीहरू जीवन्तताभित्रको यथार्थमा उर्मिलालाई अंगालो मार्दै ढाडस दिंदै थियौं । मञ्चमा अचानक बत्ती अफ भएर शून्यताबीचको सन्नाटा छाएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार