• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

बन्दाबन्दीले अड्किएका नयाँ पुस्तक अब बजारमा

काठमाडौं । बन्दाबन्दीपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सीधै बिक्रीमा पठाउने निर्णय गरेको छ ।

 

गत अप्रिलमा नेपालयले एक प्रेस विज्ञप्ति मार्फत् महामारीका कारण आफ्ना प्रकाशित पुस्तकहरू सार्वजनिक गर्ने कार्यक्रमहरू प्रभावित भएको जानकारी गराएको थियो । लकडाउनको गाम्भीर्यता सहजतातिर उन्मुख भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’लाई सीधै बजारमा उपलब्ध गराएको छ । 

 

‘बजार केही खुकुलो भएसँगै, केही चहलपहल हुनु स्वभाविक हो, त्यसैले हाम्रा प्रकाशित पुस्तकबारे प्रशस्त जिज्ञासा आइरहेका छन् । अहिले व्याप्त एक्लो बसाइले पाठकमा पढ्ने भोक पनि अवश्यै  बढेको हुनुपर्छ,’’ पब्लिकेसन नेपालयकी सैजन मास्केले भनिन्, ‘‘त्यसैले लकडाउनपछिको पहिलो चरणमा हामीले परित्यक्ता पुस्तकलाई भौतिक रुपमै बजारमा वितरण गर्ने निर्णय गरेका छौं । यो किताब गत वर्ष प्रकाशित भएको हो तर माहामारीका कारणले सार्वजनिक हुन पाएको थिएन ।’

 

परित्यक्ता एकालाप शैलीमा बाँधिएको कृति हो । यो पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ । जसले एउटी छोरी, प्रिया, पत्‍नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरनाजस्तै हुन्छे। पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छ । समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्‍ने प्रश्‍न गर्छ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने यत्‍न गर्नुपर्छ भन्‍नतर्फ संकेत गर्छ ।

 

सन् १९७० ताकाको नामी साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी ढुंगानाको यो पहिलो उपन्यास हो । ढुंगानाले विश्वभारती महाविद्यालय (जसलाई अहिले शान्ति निकेतनको नामले पनि चिनिन्छ) बाट शास्त्रीय नृत्यमा स्तानक गर्नुका साथै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्‍नातकोत्तर गरेकी छन् । उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका कथा संग्रहहरू प्रकाशित छन् । ढुंगाना बीपी कोइराला साहित्यिक सम्मानलगायत विभिन्‍न पुरस्कारबाट अलंकृत भइसकेकी छिन् ।

 

‘केही समय विलम्ब भए पनि अब पुस्तक पाठकका हातमा जाने कुराले औधी खुसी भएकी छु,’ लेखक ढुंगानाले भनिन्,'जब तपाईं कुनै कृतिलाई सिर्जना गर्नुहुन्छ, त्यो कृति पाठकको हातमा पुगेपछि मात्र जीवन्त बन्छ भन्‍ने अनुभूति लेखकलाई भएको हुन्छ त्यसैले पुस्तक निर्माणको सम्पूर्ण प्रक्रियामा संलग्‍न लेखकलाई पुस्तकको पूर्ण रुप पाठकको हातमा पुगेको देख्दा उच्चतम आनन्द प्राप्त हुन्छ,’ ढुंगानाले खुसी व्यक्त गरिन् ।

 

नेपालयले केही दिन पहिले ‘ई(बुक’मार्फत् आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो । यसै सिलसिलालाई आकर्षक रुपमा अगाडि बढाउनका निम्ति सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ पुस्तकका दुईवटा अध्याय सार्वजनिक भइसकेका छन् ।

 

एकल अध्याय अथवा ‘सिङ्‍गल च्याप्टर’ सार्वजनिक गर्ने यो नयाँ प्रयोगलाई प्राप्त भएका सकारात्मक प्रतिक्रियाले निकै खुसी बनाएको नेपालयकी सैजन मास्केले बताइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार