• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नेपालको जमिन फिर्ता गराएरै छाड्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको भन्दै नेपाली राष्ट्रियता त्यति कमजोर नरहेको बताएका छन् ।

 

उनले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन नदिने बताए । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए ।

 

उनले नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै यतिवेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर नठान्न आग्रह गरे ।

 

‘हामीलाई हाम्रो भूमि फिर्ता चाहियो । प्वाइन्ट अफ नो रिजन’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएको भन्दै दुई देशबीचको तरुल पनि नभएकाले कसैको अधीनस्त भएर नबस्ने बताए ।

 

उनले कुनैपनि विषयमा बहकिन जरुरी नरहेको भन्दै साम्प्रादायिकताका आधारमा विग्रह पैदा गर्नेहरुलाई मदन भण्डारीले एकतामा बदल्ने प्रयास गरेको र त्यही विचारबाट चलेको पार्टीलाई कमजोर नआक्न सुझाव दिए ।

 

आइतबार मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले मदन भण्डारीको विचारले नै नेपाली समाजलाई परिवर्तन गरेर यहाँसम्म ल्याउन सकिएको भन्दै भण्डारीको महत्वपूर्ण योगदानको चर्चा पनि गरे ।

 

‘मदन भण्डारीका थुप्रै योगदान र प्रतिभा छन् । यसमा संक्षिप्तमा चर्चा गर्न सकिँदैन । उहाँको सफल र चमात्कारिक व्यक्तित्वका विभिन्न सफल र चमात्कारिक आयामहरु, पक्षहरु, पाटाहरु जुन हरेक आयामले उहाँका विचारलाई बदलिन, फैलाउन र लोकप्रिय बनाउन योगदान गरेको छ, ती कुरालाई पनि संक्षिप्तमा चर्चा गर्न सम्भव छैन’,ओलीको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार