• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

सर्लाही, बारा र पर्सामा एकैसाथ देखिए सलह

काठमाडौं । मुलुकको अन्न भण्डारका रूपमा रहेका प्रदेश २ र ५ का तराईका जिल्लामा शनिबार सलहका बथान आइपुगेको छ । बाली नष्ट गर्ने फट्यांग्राको हूल सर्लाही, बारा र पर्सामा शनिबार एकैसाथ देखिएको हो । सलह भेटिए लगत्तै प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राविधिकको टोली खटाएको छ ।

 

प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पा पनि पसेको छ । शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तमा र देवदह क्षेत्रमा सलह देखियो । दिउँसो बुटवल, मर्चवार र लुम्बिनी क्षेत्रमा पनि देखिएको छ । मध्याह्नसम्म फाट्टफुट्ट देखिएको सलह दिउँसो साढे ३ बजेपछि हूलका हूल आकाशमा उडेको देखिएको थियो ।

 

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि सीमा क्षेत्र हँुदै हूलका हूल सलह कीराले रूपन्देहीको आकाश ढाकेको बताए । बुटवल क्षेत्रमा धेरै देखिएको थियो । त्यो क्रम साँझसम्म पनि जारी छ । सलह बुटवलबाट पश्चिम र उत्तर दिशातर्फ लागेको निर्देशक देवकोटाले बताए ।

 

‘पश्चिम गएको सलह कपिलवस्तु प्रवेश गरेको छ र उत्तरतिर पाल्पासम्म पुगेको छ,’ उनले भने । धेरै आकाशमै उडेको देखिएका छन् । रात परेपछि यी कीरा उड्न नसक्ने भएकाले शनिबार रूपन्देहीको आसपासमै धेरै बास बस्ने उनले बताए ।

 

उत्तरतिर चढेका सलह पहाड चढ्छन् वा फर्कन्छन् भन्नेमा विज्ञहरू अलमल छन् । ‘हूलका हूल सलह बुटवल र रूपन्देही जिल्लाका विभिन्न स्थानमा देखिएका छन् । साँझपख पाल्पा र कपिलवस्तुसम्म पुगेका छन्,’ कृषि विकास निर्देशक देवकोटाले भने, ‘यी रोकिन्छन् कि बाटो लाग्छन्, हामी त्यसको अध्ययनमै केन्द्रित छौं ।’

 

धान रोप्ने समय भएकाले तराईका धेरै खेत खाली छन् । खेतबारी खाली भएकाले धेरै कीरा आकाशमा मडारिएको हुन सक्ने विज्ञहरूको अनुमान छ । रूपन्देहीको देवदह, तिलोत्तमा, रोहिणीलगायत क्षेत्रका मकैबारी र तरकारी बारीमा भने सलह अडिएका छन् । देवदह सिक्टहनका अगुवा किसान राजेन्द्र यादवले खेतमा रहेको तरकारी सबै सलहले ढाकेको बताए। देवदहको चरंगे, खैरेनी, ओमसतियाको वनगाईलगायत क्षेत्रमा रहेका मकैबारी पनि सलह कीराले ढाकिएका छन् । रोप्न ठिक्क पारेको धानको बीउसमेत सलहले खान थालेपछि किसान पिरोलिएका छन् । ‘साँझपख धानको ब्याडभरि एक्कासि कीराले ढाक्यो,’ बुटवलको मोतीपुरकी किसान राधा बेल्वासेले भनिन्, ‘धपाउँदा पनि गएको छैन ।’

 

खबर प्राप्त हुनासाथ शनिबार नै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री, निर्देशनालय र रूपन्देहीका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेको थियो । बैठकले सलह कीराबाट बालीमा हुने नोक्सानी जोगाउन तीन किसिमका सावधानी अपनाउन निर्देशन दिएको कृषिमन्त्री आरती पौडेलले बताइन् । उनका अनुसार धानको बीउ जोगाउन स्थानीय तहमा रहेका प्राविधिक तथा स्थानीय तहका पदाधिकारीमार्फत बीउ ढाक्न आग्रह गरिएको छ ।

 

कीरा बास बसेको स्थानमा नष्ट गर्न कीरा छोपेर ल्याउने जोकोहीलाई प्रतिकिलो २० रुपैयाँ वडा कार्यालयमार्फत रकम दिने भएको छ । कीरा नष्ट गर्न खेतीबालीमा बसेको वा बास बसेको ठाउँमा विषादी छर्न स्थानीय तह एवं किसानलाई निर्देशन दिएको छ । सलह कीरा मार्न मालाथिन र क्लोरोपाइडी फस्ट विषादी प्रयोग गरिन्छ । ‘कीरा बास बसेको वा खेतीमा बसेका बेला प्रतिलिटर पानीमा दुई एमएल विषादी राखेर घोल छरेमा सलह मर्छ,’ कृषि निर्देशक देवकोटाले भने, ‘पालिकाअन्तर्गतका प्राविधिकले यसबारे किसानलाई जानकारी दिइरहेका छन् ।’ कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार