• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

'हामी यती छिट्टै बिचलित हुनुहुँदैन'

रंगमञ्चको स्थिती र यसको चुनौती कस्तो देख्नुहुन्छ ?
नेपाली रंगमञ्च आफ्नै लयमा हिडिरहेको छ । हामी जस्ता रंगकर्मी जो संघीय राजधानी बाहिर पनि नेपाली रंगमञ्चको संभावना खोजिरहेका छौ । बिस्तारै नेपाली रंगमञ्च संघ, प्रदेश हुँदै जिल्ला जिल्लामा पुग्ने क्रममा छ । कोरोनाको महाप्रकोपले रंगमञ्चको यो लयमा प्रलय ल्याइदिएको महशुस हुन थालेको छ । जहाँसम्म यहाँले चुनौतीको कुरा गर्नुभयो, यो सन्र्दभमा कुरा गर्नुपर्दा सिंगो नेपालको रंगमञ्चलाई एउटै कसीमा राखेर हेरिनु हुदैन भन्ने मलाई लाग्छ किनकि चुनौतीहरु ठाँउ, परिवेश र परिस्थिति अनुसार फरक फरक हुनसक्छन् । यसो भन्दैगर्दा रंगमञ्चका सामुन्ने चुनौती छदैछैनन् भन्ने पनि होइन । जहाँसम्म पोखराको कुरा गर्नुहुन्छ भने यहाँका चुनौतीहरुलाई दुई किसिमले हेरिनुपर्छ । कोरोना महामहारी पूर्वको चुनौती र कोरोना पश्चातको चुनौती ।

 

लामो समयको संघर्ष पछि हामीले दुईवर्ष अगाडि नाटकघर स्थापना गर्यौ । नाटकघर स्थापनामा जति चुनौतीको सामना गर्नुपर्यो, त्योभन्दा बढि चुनौती यसको स्थायित्वमा थपिए। किनकि दशकको नाट्य शुन्यता पछाडि पहिलो पटक नाटकघर संचालनमा आएको थियो । दुई वर्षको अवधिमा हामीले केहि प्रतिबद्ध रंगकर्मीहरु जन्मायौ। नाटकलाई ठाँउ ठाउँमा परिचित गरायौं । दर्शकहरुको विश्वास जित्यौ । समग्रमा भन्नुपर्दा हामीले एउटा लय समातेका थियौ । कोरोनाको प्रकोपले हामीलाई फेरि दुई वर्ष अगाडि नै धकेलेको त होइन भन्ने महशुस हुन थालेको छ । 

 

रंगमञ्च कसरी बौरिन्छ त ?
सबैभन्दा ठूलो कुरा प्रतिबद्धता नै हो । हामीले रंगकर्म थोरै प्रतिशत अरुका लागि र धेरै प्रतिशत आफ्ना लागि गरेका हौं । मलाई लाग्छ हामी यति छिट्टै बिचलित हुनुहुदैन । तर हामीले पुरानै अवस्थामा फर्किन चट्टानी चुनौतीहरु पार गर्नुपर्ने छ । यसमा राज्यको पनि अहम भूमिका रहन्छ । 

 

रंगकर्मीले आफुलाई सहज अवस्थामा फर्काउन कस्तो बाटो अपनाउनु पर्ला ?
मलाई लाग्छ यो कुरा व्यक्तिमा निर्भर रहन्छ ।

 

नाटक घरहरुको संरचना कसरी हुन्छ ? के सोच्नुभएको छ ?
पहिलो कुरा भईरहेको संरचनालाई स्थायित्व महत्पूर्ण कुरा हो । दोस्रो धेरै ठाउँमा नाटक घरहरु छैनन्, त्यहाँ नयाँ संरचनाको आवश्यकता छ । यसको लागि पहिलो चुनौती आर्थिक व्यवस्थापन हो । यसका लागि राज्यको चासो महत्पूर्ण कुरा हुन्छ ।

 

यही अवस्थामा एउटा स्वतन्त्र कलाकारको जीवनी कसरी चल्छ ? सबै बन्द नै छ ? खुल्ने केही छाटकाट देखिन्न ? आम्दानीको बाटो केही छैन ? के भन्नहुन्छ ?
अहिले धेरै मुश्किल छ । धेरै कलाकारहरुमा अहिले निराशा छाएको छ । त्यसो त अहिले मानव जीवन नै संकटमा परेको अवस्था हो । हरेक क्षेत्रमा यसको प्रभाव परेको छ । धेरै मानिसहरु बेरोजगार बनेका छन् । जताततै निराशा छाएको छ । दिर्घकालिन रुपमा यसले भयावह अवस्था सिर्जना गर्न त होइन ? भन्ने डर छ । पहिलो कुरा बन्दाबन्दी स्थायी विकल्प होइन । सरकारले यसको विकल्प खोज्नुपर्छ ।  कलाकारहरुलाई लक्षित गरी छुट्टै राहत प्याकेजको कार्यक्रम ल्याउनुपर्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार