• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

पचपन्ने राजनीति

बाउन्ने गाउँको
चौवन्नीया खेलमा
पचपन्ने राजनीति

 

गणेश राजनीति मै छन्
एतिहासिक पार्टीको नेतृत्व पङ्क्तिमा
तर अझ राजनीतिज्ञ बन्न सकेनन्
चरी भट्टाबाट खरा निस्कनु अगाडि
उपयोगीता सकियो
इन्काउन्टरमा मारिए
बाँचेको भए उ दाहिने हुन्थे
हातमा तागत, बोलीमा खुस्बु
सांसद अपहरणको नेतृत्व उसैको हुन्थ्यो
बिपक्षी टुटिसकेको हुन्थे
उसको राजनीतिमा सबै जोडिन्थ्यो
कम्तिमा पच्चीस वर्ष पुग्थ्यो
दीपकले चुनाब जिते
तर अझ पनि राजनीतिज्ञ बन्न सकेनन्

भ्रष्टाचार डुङ्ग गन्हाएकोले
पर सरे
तर सिंहदरबारबाट निस्केको गन्ध
वालुवाटार पुग्दैन
गन्ध निरोधक सुरक्षा कवजले होला
त्यसैले भ्रष्टाचारी अत्यन्त बलिया छन्
सातो उडेको त भ्रष्टाचारको पो छ
दीपकले एमाले भट्टा पाइरहेको भए
न भ्रष्टाचारको गन्ध आउथ्यो
न राजनीतिक वर्ष जोडिन रोकिन्थ्यो 
अनि पो भनिन्छ-
वर्ष जोडिएर कोही महान बनेका छन्
कसैको अभिमानले शिखर चुमेको छ
अहिले को राजनीतिज्ञ ?
को गैर जनीतिज्ञ ?


राजनीतिमा नछिरी उद्योग व्यवसाय नचल्ने
क्षमता जतिसुकै होस्
अवसर नै नपाउने
किनेर पनि बिल्ला लगाउनै पर्ने
हुनेले त किन्छ
नहुने ले के गर्ने ?


भारी बोक्ने हो भने
लगानीकर्ता फालाफाल छन्
यसरी बनेको रसदपानीको व्यवसाय
यहाँको मूख्य राजनीति ब्यापार
सबैको एकनास छैन
कसैको चल्यो, कसैको चलेन
राज्यको तागत त्यसैले समात्यो
जसले मुसदण्डको तागत समात्यो
विदेशी आशीर्वादको जोहो गर्यौ
अनि जनतालाई घुमायो
घट्ट घुमाए सरह
हेर्नुस्, रसदपानीको मालामाल
सबैले सक्तैनन्
केही त्यो बेइमानी गर्न चाहदैनन् पनि
जसले सक्तैनन्
उसको पसल बन्द हुन्छ
तर पनि उ चिनिन्छ -
पुरानो ठूलो पसले वा सानो पसले
भनेर
नाङ्लो पसल भएपनि बन्द गरिहाल्नु हुदैन
पछि सबै वर्ष जोडिन्छ
मालामाल हुन सक्छ
राजनीति संभावनाको खेल न हो

 

मोहन एक सुरमा चन्द्रमा हेरिरहेका छन्
राधा कृष्णबाट नै पर
वामको पनि देव
जोकर बनेका छन्
सीपी पीपी चुसिरहेका छन्
रतिको पतिलाई नै मारिदिए
युद्धका सरदार त भारदार बनेका छन्
धुन बजिरहेको छ-
'नाचन झिल्के नाचन
पैसा दिउला पाचान'
सब नाचिरहेका छन्
मदारीले बादर नचाएको जस्तो
उसले नचाइरहेको नाँच पो
राष्ट्रिय राजनीति बन्यो अहिले
त्यसैले जो सगँ तागत छ
उसले नै भोग गर्छ
भनिएकै छ-
'वीरभोग्या वसुन्धरा'
तर यो क्षणिक हो
कसले कति राजनीति गर्यो
कसले कति द्रव्यनीति सगाल्यो
त्यो हिसाब-किताब नै गोलमाल छ

 

एउटै ड्याङका यी
त्यसैले-
कसैको पचपन्न वर्ष होला
कसैको साट्ठी
तर राजनीतिको गाँठी चाहिँ
अन्तको लाठ्ठी
त्यसैले कसैले भोलि नभने हुन्छ
गोली नबने हुन्छ
टौवामा बसेर कति हौवा फैलाएको ?


आजै सकिने यी पटाका-उज्यालो
भोलि बेपत्ता हुन्छन्
पचपन्ने झ्याल हाम्रो गौरव हो
पचपन्ने राजनीति अभिसाप
अर्को दिनको सुरुवात गर्न बाँकी नै छ
गर्ने हामीले नै हो, मात्र हामीले हो
नत्र बहिरहेको आमाको आँशु
कसले पुछने त ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार