• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

खेलाडीलाई कोरोना : केही संक्रमित,केहीको मृत्यु

काठमाडौं । गत ३ महिना कोरोना भाइरसको सङक्रमणले विश्व आक्रान्त भएपछि खेलकुदका गतिबिधि  पनि ठप्प भयो । यसले खेलाडीहरूको वर्तमान र सपनामाथि ठुलो आघात परेको छ । उनीहरुको 'क्यारियर' मा अझै केहि महिना बिना खेल बस्नु पर्दा शारिरिक, मानसिक र आर्थिक रुपमा धेरै धक्का पुगेको छ । यस अवस्थामा उनीहरु अति नै संवेदशील भएर आफु र आफ्नो परिवारको ख्यालगरी सार्वजनिक जीवनबाट टाढा रहे ।
 

सामाजिक दुरी र लकडाउनका अन्य नियमहरु मान्दा मान्दै पनि धेरै खेलाडीहरुलाई कोरोनाको प्रत्यक्ष असर परेको छ । केही खेलाडीको कोरोनाको कारण मृत्यु भएको छ भने केही संक्रमित भएका छन । 

 

संक्रमित हुनेहरुलाई फेरी खेलमा चाडै नै फर्किन गाह्रो हुने देखिन्छ । हुन त यो बिचमा केहि खेलहरु मात्र भएका छन । युरोपियन देशहरुमा हुने फुटबलको लीग खेल, टेनिस, जस्ता खेल सुचारु हुँदा अन्य महादेशमा भने खेलहरु बन्द नै भएको पाइन्छ । 

 

छिमेकी राष्ट्र पाकिस्तानमा कोरोना संक्रमितको संख्या लगातार बढ्दो छ । हालसम्म पाकिस्तानमा एक लाख ८५ हजारभन्दा बढि संक्रमित भईसकेका छन् जबकी तीनहजार भन्दा बढीको मृत्यु भईसकेको छ । यसले पाकिस्तानको खेललाई पनि प्रभावित पारेको छ । 

 

हिजो मात्र पाकिस्तान क्रिकेट बोर्डले आफ्नो सात खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यसअघि अन्य तीनजना खेलाडी पनि संक्रमित भएको खबर आएको थियो । कोरोनाबाट संक्रमित हुने नयाँ खेलाडीमा फखर जमां, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मौहम्मद रिजवान र वहाब रियाज रहेका छन् । 

 

त्यस्तै पाकिस्तान क्रिकेट बोर्डले सोमबार शादाब खान, हारिस रउफ र हैदर अलीलाई कोरोना संक्रमण भएको जानकारी दिएको थियो। यसरी पाकिस्तानका १० क्रिकेटर कोरोनाद्वारा संक्रमित भएका हुदा पाकिस्तानको कार्य योजना बिग्रेको छ । 

 

सबैभन्दा पहिले, पाकिस्तान क्रिकेट टिमको बेलायतसँग अगस्टमा खेल्ने भनेको तीन टेष्ट र तीन टी–२० म्याच प्रस्तावित हुने पक्का भएको छ । जुन २८ अर्थात अबको ४ दिनमा यी खेलाडीहरु बेलायत प्रस्थान गर्नुपर्ने थियो । अब बोर्डले कि त सिरिज नै रोक्नु पर्ने भएको छ वा परीक्षणमा नेगेटिभ देखिएका खेलाडीलाई मात्र बेलायत पठाउने छ । 
 

कोरोना भाइरसका कारण गत फेब्रुवरी देखि टेनिसको आधिकारिक प्रतियोगिता एटिपी टुर भएको थिएन । तर संक्रमण कम भएसगै  क्रोएसिया र अन्य केहि देशमा टेनिसको एड्रिया टुर सुरु भयो । टुरको पहिलो लीग सर्वियामा हुँदा ४ हजार फ्यान हेर्न आएका थिए । तर खेलको प्रतियोगीता सुरु त भयो तर फाइनल अघि नै खेल रोकिनु पर्यो । 

 

गत साता सर्वियामा भएको प्रदर्शनी प्रतियोगिताको रुपमा रहेको एड्रिया टुर खेल्न गएका विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचलाई कोरोना लागेको छ । टुर अन्तर्गत दोस्रो लीगका लागि यी सर्वियन स्टार जोकोविच क्रोएसिया पुगेका थिए । तर फाइनल अघि उक्त प्रतियोगिता स्थगित भएको थियो ।

 

एक खेलाडीलाई कोरोना भएपछि प्रतियोगिता स्थगित हुँदा फाइनलमा पुगेका जोकोविचले क्रोएसिया छाडेका थिए । उक्त्त प्रतियोगिता खेलेका एक खेलाडीलाई सुरुमा कोरोनाको संक्रमण भएको पाइयो । त्यसपछि अन्य दुई खेलाडीहरुलाई पनि कोरोनाबाट संक्रमित भएको पुष्टी भयो ।

सोहि प्रतियोगितामा यी ३३ वर्षीय जोकोविचले सर्वियाका कै भिक्टोरसँग पहिलो खेल खेलेका थिए । खबर यो पनि आएको छ कि यी खेलाडी सगै उनको श्रीमती पनि संक्रमित भएकी छन । 

 

कोरोना संक्रमणको सुरुवाती समयमा आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई पनि कोरोना भाइरस लागेको थियो । कोरोना लागेको आशंका गर्दै गरिएको जाँचमा अर्टेटालाई कोरोना पोजेटिभ देखिएको थियो ।

 

प्रशिक्षकलाई कोरोना लागेपछि आर्सनल र ब्रिङ्टनबीचको खेल स्थगित गरिएको थियो। आर्सनलले प्रशिक्षण मैदान बन्द गरेर क्लबका स्टाफलाई सेल्फ आइसोलेसनमा राखेको थियो ।  इंग्ल्यान्डमा कोरोना संक्रमण बढिरहेपछि प्रिमियर लीगले आपतकालिन बैठक राखी सबै खेल रोकेको थियो । महिनौंपछि युरोपमा फुटबल बिना दर्शक सुचारु भएको छ।

 

हालै मात्र फुटबलको केहि सुखद समाचार आइरहेको बेला कोरोनाभाइरसको संक्रमणका कारण इराकका ५६ बर्षीय चर्चित फुटबल खेलाडी अहमद राधीको निधन भएको छ।इराकमा अहिलेसम्म २ लाख ९० हजार बढी संक्रमित फेला परेका छन् भने १ हजार बढीको संक्रमणबाट मृत्यु भईसकेको छ । गत हप्तामात्र अहमद राधीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । राजधानी बगदादस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

 

इराकको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै उनले सन् १९८२ र १९९७ को बीचमा ६२ गोल गरेका थिए। सन् १९८६ मा उनले बेल्जियम विरुद्ध एक गोल गरेका थिए । विश्वकपमा इराकको त्यो पहिलो र एक मात्र गोल थियो । यस खेलमा उनको टोली १–२ गोल अन्तरले पराजित भएको थियो । तर, अहमद राष्ट्रिय हिरो बनेका थिए। सन् १९८८ मा उनी 'एसियन प्लेयर अफ द ईयर' चुनिएका थिए ।

 

लकडाउन सहज अनि परिस्थिति अनुकुल भन्दै खेल र खेलाडी अनि बिस्तारै दर्शकहरु सक्रिय हुने क्रम बढेको छ । यी कार्यमा पक्कै पनि सजकता अपनाइएको छ । तर यती हुँदा पनि यो भाइरसबाट अझ धेरै संक्रमित बढ्ने सम्भावना देखिन्छ । त्यस कारण हतार हतारमा खेलमा फर्किनु भन्दा पनि यो रोगबाट खेलाडी र दर्शक कम संक्रमित हुने बातावरण सिर्जना गर्नु जरुरी देखिन्छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार