• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

कम्युनिष्टहरुमा मौका मिल्यो कि अधिनायकवाद उजागर भईहाल्छ मुख्यमन्त्री ज्यु !

बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै मकवानपुर प्रहरीले पाल्पा निवासी भूभर्गविद् प्रकाश लुँइटेललाई पक्राउ गरेको छ । हेटौंडा स्थित काठमाडौं तराई द्रुतमार्ग आयोजनामा कार्यरत लुँइटेललाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेरो संगत त होइन तर उनी जस्तो बोल्छन त्यस्तै देख्छु । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बन्नु हुँदा आफ्नो पार्टी फरक भएपनि खुशी  नै लागेको थियो । आफू हेटौंडा कै भएको कारण वहाँसँग विभिन्न सामाजिक, राजनीतिक, धार्मिक संघ संस्थाहरुमा भेट भने भईनै रहन्थ्यो । 

 

२०६२/०६३ को आन्दोलनमा दिनहुँ सडक यात्रा साथसाथै हुन्थ्यो । सरल जीवन र शालीन नै प्रतित हुन्थ्यो । गत वर्ष तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटासँग नेपाल टेलिभिजनका राजु थापाले अन्तर्वार्ता लिँदा चर्चित भ्रष्टाचार आरोपी गोकुल जसले ७० करोडको कमिसन मागेको अडियो सार्वजनिक नै भएको थियो । उही बास्कोटासँग उनी मन्त्री हुँदा जारी गरेको सम्पत्ति विवरणको बारेमा अलिकति प्रश्न कोटाउँदा झर्केर रिसाएर प्रस्तोतालाई उल्टो साबित गर्न खोज्दै निकै गर्जिदै थिए तर अन्तर्वार्ताकर्ता राजु थापाले उनकै लिखित विवरण सप्रमाण  पेश गरेपछि रातोपिरो भएका उनले जंग बहादुरे शैलीमा जागिरबाट बर्खास्त गरिदिए । एउटा  समाजको यथार्थलाई ऐना सरह बाहिर ल्याउँदै आफ्नो पूर्ण लोकतान्त्रिक अधिकार भित्रको सूचनाको हक र बोल्ने स्वतन्त्रता  प्रयोग गरेका सर्जकले जागिरबाट हात धुनुपर्यो । 

 

यो घटनाले हिजोसँगै निरंकुश राजतन्त्रको बिरुद्ध सडकमा सहयात्रा गरेको दलको यस्तो हुकुमी अधिनायकवाद शैलीले निकै ठेस पुगेको थियो । केही साथीहरूसँग कुराकानीको सिलसिलामा होइन मेरो जिल्लाका कम्युनिष्टहरु त यस्तो शैलीका छैनन । वहाँहरुलाई त यो केन्द्रिय प्रम र मन्त्रीहरुको गतिविधि र रबैयाले लज्जा भएको होला भन्ने गरेको थिए । साच्चै अहिले बागमती प्रदेश प्रमुखले एउटा  इन्जिनियरले सवाल जवाफ गर्दा जागिरबाट निकालिदिनु भयो रे भन्ने समाचार सुन्दा मेरो बुझाइमा अत्यन्तै ठूलो ठेस लागेको छ । साच्चै कम्युनिष्टहरु अधिनायकवाद नै हुन त ? बिवेक गुमाउन रत्तीभर  लाग्दैन । सबै कम्युनिष्टहरुको सिकाइ र व्यवहार उस्तै हुने हो । सबै भित्र निरंकुशता र स्वेच्छाचारी  सुषुप्त छ । ठाउँ पायो कि जागी हाल्छ ।  

 

यो देशका ७७ जिल्लाका कम्युनिष्टहरुको केपी ओली जस्तै रबैयाको भएपनि मकवानपुर को छैनन भन्नेमा भरोसा डगमगाएको छ । मुख्यमन्त्री ज्यु राजनीति दाउपेच वा तपाईको भाग्यले अरु थुप्रै प्रतिस्पर्दी हुँदाहुँदै तपाई मुख्यमन्त्री बन्नु भयो । यो हेटौंडा र मकवानपुरबासी सबैको लागि खुशीको कुरा नै थियो । तर हामीले बिसौं बर्ष देखेको त्यो सालिन जनताको छोरो यसरी प्रधानमन्त्री  कै शैलीको  सिको गर्दै गरेको तपाइको यो निर्णय कुनै दृष्टिकोणले पनि स्वीकार्य छैन । पद सधै कसैका लागि रहिरहने विषय पनि होइन बरु तपाईबाट आफ्ना पार्टीको आन्तरिक बैठकहरु र मुख्यमन्त्रीको हैसियतले हुने औपचारिक र अनौपचारिक भेटघाटहरुमा हिजो जनताका माझमा गरेका सबै वचन व्यवहारहरु झूटो बन्दै गयो । 

 

हामी निरंकुश र स्वेच्छाचारी बन्न मिल्दै मिल्दैन । जनताको अपार बिश्वासमाथी कुठराघात नगरौ भन्ने सुझाव तपाईले राख्नुहुन्छ भन्ने बिश्वास थियो । त्यतिमात्र होइन प्रम जस्तो जिम्मेवार व्यक्तिले हावादारी र मजाकका अभिव्यक्ति र शैली होइन पदीय जिम्मेवारी अनुसारको बोली र आचारण हुनुपर्छ  भन्ने दरो सुझावको अपेक्षा थियो तपाईबाट । तर तपाइले उहीँ सरकार प्रमुख  र केही विवादित मन्त्रीहरु कै शैली अपनाउनु भयो भनेर पत्याउन असजिलो भएको छ । कुनैपनि शक्ति र पदको दम्भ तत्काल आनन्द र जितको महसूस भएपनि यस्ता कदमहरु कहिँ कदापी स्वीकार्य र स्वर्नीम बन्न सक्दै सक्दैन । यस्ता नगरिक अधिकारले हेपेर उसकै जनमतले उसैमाथि लादिएको निरंकुश गतिबिधीलाई नागरिकले सदासदा कलंकित इतिहास बनाएर पुस्तापुस्तालाई हस्तान्तरण गरिरहनेछन । 

 

हुन त मेरो यो सुझाव तपाई समक्ष पुगेछ र तपाईले अक्षरस पढ्नु भयो भने उल्टो मै प्रति रिसले चुर चुर हुँदै होइन यसले के खोजेकि भन्नू होला भन्ने पनि मलाई नलागेको होइन तै पनि मेरो अन्तकर्णमा झिनो आशा अझै तपाई प्रति मरेको छैन । कहिलेकाहीँ दुई थोपा मसीले दुनियाँ बदल्छ भन्छन कहिँ  तपाईको यो नव अन्तरकुरित अलोकतान्त्रिक र दम्भपूर्ण कदम सच्याउँदै भोली त्यस्तो नगर्न सोच परिवर्तन गर्नसक्छु कि भन्ने मेरो दृष्टतालाई सकरात्मक आत्मसात गर्नुभयो भने तपाई कै छवी अझ उज्यालो हुने हो । यसलाई प्रतिपक्षको स्वभाव हो भनेर लोकतन्त्र, शान्ती र बिकासका लागि प्राप्त  जनमतलाई ठाडो लत्याएर नै हिडिरहनु भयो भने म जस्ता थुप्रै मुख र कलम चलिरहन्छन । 

 

इतिहास साक्षी छ संसारका कुनैपनि निरंकुशता स्वेच्छाचारीता र हुकुमी शासनको आयु लामो भएको छैन । तथापी तपाई स्वयं र तपाइको पार्टी हिजो सामन्तवाद र पञ्चायती निरंकुशताको बिरोधको जगबाट आज बलियो सरकारमा पुगेको धेरै भईसकेको छैन । कत्ति छिटो संकल्प र धरातल भुलेको भन्दै एउटा गाउँ ठाउँको चेलीको हैसियतले पनि स्मरण होस् मुख्यमन्त्री ज्यु ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार