• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
डबली

अस्थायी हुन्छन् बिसाउने काँधहरु–साथहरू

आँसु के हो ? 
आँसु शब्दको उचाइभन्दा माथि हृदय आकाशबाट बर्सिने थोपाहरु हुन् ।

 

पहिलो पटक आँसु आएको कुनै सम्झना ?
आँसुको पहिलो हरफ छुट्याउन कठिन छ । 

 

रोइसकेपछि कस्तो महसुस हुन्छ ?
रुनु आफैंलाई बिरेचित गर्नु हो । बेस्सरी रोएपछि पानी परेपछिको आकाशझै उघ्रिन्छु । आँसुले मनको भाषा बुझ्छ र हलुको हुन्छु ।   

 

झरर्र आँसु झर्न सघाउने कुनै विशेष परिवेश वा कारण ?
म छिट्टै छोइन्छु । शायद आँसुको घडा भरिलो छ म भित्र । गीत सुन्दा, कविता पढ्दा,आख्यानका अनेकन् पाटामा समानुभूतिले निचोरिएर पनि रुन्छु। पछिल्लो समय माया एन्जेलोको कविता ‘स्टिल आइ राइज’ पटक पटक पढेर रोएको छु । र, हाम्रो समाज निकै बेथिति, असमानता, विभेदले अन्यौलग्रस्त छ । व्यक्तिगत पीडाबाट माथि उठेर विद्रोह, आक्रोशका आँसु झर्ने कारणहरु प्रशस्तै छन् ।   

 

सबैभन्दा धेरै रोएको कुनै घटना वा समय ?
आमा नहुनुको सन्नाटाले चिथोरिएको छु । यो सीमाहीन पीडामा असाध्य बगेको छु । घाउ भरिन्न, आलो छ सधैं । धेरै चोटि रोएको छु, अझै रुन्छु । 

 

किन आउँछ होला आँसु ?
आँसु मानवीय संबेदनाको प्रकट रुप हो । मनको भित्री तह छोइएपछि यो बर्सिन्छ ।

 

आँसु आएको बेला, जोसुकैको किन नहोस्, बिसाउने काँध चाहिन्छ भन्छन् । चाहिन्छ ?
निकै जब्बर हुन्छ आँसुको यात्रा, जो एक्लै तय गर्नुपर्छ । जीवन सधै पीडाको जेब्राक्रस नाघेर अघि बढ्छ । अस्थायी हुन्छन् बिसाउने काँधहरु, साथहरु ।  

 

आँसु र खुसीमा के फरक छ ?
पीडा र खुशीमा बग्ने आँसुको रंग एकै हो । फरक त आँसु झर्ने कारणमा छ ।  

 

आँसुको बाँध भत्किएपछि कतिञ्जेल झरिरहन्छ आँसु ?
आँसुको लम्बाइको कुरा त कसरी गर्नु ? तर रोएपछि मन हलुको नहुन्जेल धित मर्नेगरी रुन्छु । 

 

मायाप्रेमका प्रसङ्गमा कतिपटक आँसु आयो ?
संसारमा सम्बन्धको पीडा निक्कै गरुङ्गो हुन्छ । मेरा पनि आँखाका खोल्सी रसाएका छन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार