• बुधबार ३-३१-२०७७/Wednesday 07-15-2020
विचार

भृकुटीमण्डपको महिमा कायम राखौं

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपको हालका संरचनाहरु भत्काएर नयाँ मेगाहल बनाउने कुराको घोषणा गरेको छ । सो विशाल संरचनाले २१२ रोपनी क्षेत्रफलमा फैलिएको भृकुटीमण्डपको झण्डै ४० प्रतिशत भूभाग ओगट्ने योजना बनेको छ । सो भवनको दुई तलामा एक हजार मोटरगाडी अटाउने पार्किङ, प्रत्येकमा २०० जना अटाउने ६ वटा मिटिङ हल, प्रत्येकमा ४५० जना अटाउने ३ वटा कन्फ्रेन्स हल र ३,००० जना अटाउने १ अडिटोरियम बनाउने योजना छ । यस भवनमा ग्रीन रुम, फुड कोर्ट, सार्वजनिक शौचालय, रेस्टुरेन्ट, सभा हल, प्रदर्शनी हल आदी पनि बनाउने योजना छ र यो सब निर्माणको लागि १२ अर्व रुपैयाँको मात्र खर्च निकालिएको छ । 

 

हाल काठमाडौंमा प्रज्ञा भवन, राष्ट्रिय सभा गृह, राष्ट्रिय नाच घर, लगायत सरकारी र धेरै वटा नीजि क्षेत्रका र संस्थागत सभा हलहरुका साथै होटेलहरुले निर्माण गरेका सभा–सम्मेलन कक्षहरु पनि छन् । केही समयमा संसदको आफ्नो भवन निर्माण भइसकेपछि वीरेन्द्र अन्तर्राष्ट्रिय सभा सम्मेलन हल पनि सार्वजनिक कार्यक्रमहरुको लागि पुनः खुला हुनेछ भने छिटै नै गोदावरीमा पनि सरकारी खर्चमा एउटा विशाल हल बनेर चालु हुन थाल्नेछ । यतिका धेरै सभाहलहरु छँदा छँदै काठमाडौँ महानगरपालिकालाई अकस्मात करोडौँ रुपैयाँ खर्चेर बनाएको भृकुटीमण्डप मासेर अरवौँ रुपैयाँको लागतमा नयाँ मेगाहल बनाउने भूत किन सवार भएको होला ? उसकै मातहतमा रहेको राष्ट्रिय सभा गृह समेत कैयन् पटक मर्मत गरिएको भए पनि उसले चुस्त रुपमा राख्न सकेको छैन । 

 

त्यसैले भृकुटीमण्डप मासेर बर्षौसम्म बसपार्क जस्तै बेवारिसे बनाएर भृकुटीमण्डपको दुर्दशा गर्ने काम गरिनु हुँदैन । हाल भईरहेकै संरचना ध्वस्त पारेर बनाउने भनेको मेगाहलको कुनै आवश्यकता नभएकोले यो बेकारको परियोजनालाई अघि सार्न नहुने कुराको ध्यानाकर्षण नागरिक समाजका साथै सम्पुर्ण सम्बन्धित निकायले महानगरपालिकालाई गराउनु पर्दछ । बरु भृकुटीमण्डपमा हाल भएकै संरचनाहरुलाई मर्मत सम्भार गरेर व्यवस्थित गराउने हो भने हामी जस्ता धेरै नगरवासीहरु समेत मद्दत गर्न तयार हुनेछन् ।

 

काठमाडौँ महानगरपालिकाको सामु यतिबेला यो भन्दा पनि ठुला प्राथमिकताका पुर्वाधारहरु तयार गर्ने चुनौतीहरु छन् । सबैभन्दा पहिला त उसले तत्काल फोहरमैला व्यवस्थापनको लागि एक अत्याधुनिक प्रशोधन केन्द्र (Processing Center)  र बिसर्जन स्थल (Dumping Site) को निर्माण गर्नुपर्ने छ र यसको साथै घर घरबाट फोहरमैला संकलन गर्ने आधुनिक प्रणालीको विकास गर्नु पर्नेछ । त्यस्तै शहरका विभिन्न ठाउँहरुमा वारुणयन्त्रहरुको व्यवस्था गर्ने देखि लिएर पुरै जनसंख्यालाई सुविधा पुग्ने गरि ठाउँ ठाउँमा साना–ठुला पार्क, खुला क्षेत्र, वाल कृडास्थल र बृद्धबृद्धा मिलनस्थलहरु बनाउनु पर्ने दायित्वहरु छन् । त्यस्तै सयौँ सुविधाजनक तथा सफा सार्वजनिक शौचालयहरुको निर्माण, नदीमा हुने प्रदुषणको नियन्त्रण, सफा घाटहरुको व्यवस्था, आधुनिक वधशाला र विद्युतीय शवदाह स्थलहरुको निर्माण, सरसफाइमा जनचेतनामुलक कार्यक्रम, ढल तथा भित्री सडकहरुको स्तरोन्नती, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्मारकहरुको मर्मत, सम्भार र सुरक्षा तथा गरिव–गुरुवा र संत–महन्तहरु बस्ने पाटी–पौवाहरुको निर्माण र सुधार, मौलिक जात्रा, चाडपर्व, नाचगान, र परम्पराको सम्वद्र्घन र टेवा, शहरी प्रदुषण नियन्त्रणका विभिन्न उपायहरुको अवलम्बन पनि महानगरपालिका कै जिम्मामा पर्दछन् ।

 

हालैको कोरोनाको महामारीले सिकाएको पाठ अन्तर्गत महानगरपालिकाले प्रत्येक वडाका वासिन्दाहरुको एक वृहत डाटाबेस बनाउनु पर्ने भएको छ । जसको सहयोगबाट प्रत्येक वडामा दैनिक आम्दानीमा जिपिकोपार्जन गर्नेको संख्या कति छ, घरभाडामा कति व्यक्ति बस्दछन् र उनका विवरण, बालबालिका तथा विभिन्न उमेर समुहका व्यक्तिहरु लैंगिक आधारमा कति छन्, आधारभुत स्वास्थ्यको पहुँच र अवस्था कस्तो छ, आदि जस्ता यावत सूचना प्राप्त हुन सकोस । त्यस्तै विभिन्न खालका महामारी तथा संक्रमणबाट बच्न बेला बेलामा औषधी छर्कने, विशेष सरसफाई गर्ने, नगरवासीहरुलाई भ्याक्सीन दिने तथा छाडा चौपायाहरुको उचित व्यवस्थापन गर्ने कामहरु पनि महानगरपालिका कै हुन् भने विभिन्न खालका प्राकृतिक प्रकोपहरुको सामना गर्नको लागि पुर्वतयारी अवस्थामा रहनु पनि उसको दायित्व हो ।

 

बढ्दो शहरीकरण र जनसंख्याको बृद्धिले गर्दा पनि शहरमा पार्किङको ठुलो समस्या परिरहेको छ । यस्तो अवस्थामा शहरका जनघनत्व बढी भएका र बजार क्षेत्रमा अत्याधुनिक पार्किङ क्षेत्र र पुलै पुलबाट टाढासम्म पैदल हिँड्न सकिने सुविधाजनक बाटाहरु बनाउने, सार्वजनिक यातायातका साधनहरुको यथेस्टता, साइकल यात्रीहरुलाई चौडा सडकहरुमा साइकल ट्र्याक बनाइदिएर सुरक्षित साइकल यात्राको अनुभूति दिने तथा सडक तथा चोकहरुमा वत्ति जडान गरिदिएर रात्रिकालिन घुमफिरलाई सहज गराइदिने र सिंहदरवारको चौडा पुलजस्ता ठाउँहरु र वागमती, विष्णुमती र अन्य खोलानालाहरुका खुला र चौडा किनाराहरुमा साँझमा मोवाइल फुडकोर्ट राख्न दिएर र सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्न दिएर आम शहरवासीहरुलाई साँझको समयमा हिँडडुल र थोरै खर्चमा खाने पिउने जस्ता मनोरञ्जन दिलाउने व्यवस्था गर्नु पनि महानगरपालिका कै दायित्व भित्र पर्दछ ।

 

महानगरपालिकाको सामु रहेका यतिका धेरै समस्या र कामहरु सबै थाती राखेर बेला बेलामा कहिले ऐतिहासिक बागदरवार भत्काउने, कहिले टुँडिखेल मास्ने र यहाँ सटर बनाएर भाँडामा लगाउने, त बसपार्कको हुन सम्मको दुर्गती गराउने जस्ता कुबुद्धिहरु किन पलाई रहन्छन् होला कुन्नी । कैयन् वडा कार्यालयहरुले शुरु गरेका विकास कार्यहरु, जेष्ठ नागरिक मिलन केन्द्रहरु र पार्कहरु वजेट सकिएर अपुरा भएका छन् । त्यस्तालाई सम्पन्न गर्ने वारे चाहीँ महानगरपालिकाले खासै चासो दिएको देखिएको छैन । 

 

एक सच्चा नगर प्रमुख र उसको टोलीको मुख्य काम र कर्तव्य त बिहान उठे देखि नै व्यायाम कै कपडामा टोल-टोल, गल्ली-गल्ली, मठ, मन्दिर, सम्पदा स्थल, खोलानाला सबैतिर घुम्दै कहाँ कहाँ के के बनाउनु पर्नेछ, के के मर्मत गर्नुपर्नेछ, सस्तोमा कसरी पार्कहरु बनाईदिने आदि इत्यादि कुराहरु वारे स्थानीय व्यक्तिहरुसँग समेत सल्लाह गर्दै हिँड्नु हो । हामी युवा छँदा व्राजिलको रियो शहरका मेयरले यस्तै गरेर दिनभर आफ्नो नगरको लागि चिन्ता गरेर हिँड्ने गरेको खवर पढेको थिएँ । मलाई पनि त्यतिबेला आफु पनि पछि काठमाडौँको मेयर बनेर यसैगरी काम गर्ने प्रवल इच्छा जागेको थियो तर पछि आएर मात्र बुझ्न सकेँ की यस्ता महत्वपुर्ण पदहरुको निम्ति हामी जस्ता सिधा साधा विकासप्रेमीहरुले कहिल्यै अवसर पाउँदैन रहेछन् भन्ने कुरा । करिव छ महिना पहिले अष्ट्रेलियाको भ्रमणको क्रममा गोल्ड कोस्ट जाँदा त्यहाँ सन् १९७० को दशकतिर लामो समय मेयर भएर निकै धेरै काम गरेका एक व्यक्तिको सम्मान स्वरुप उनको पुर्ण कदको सालिक नै सडकमा ठड्याइएको रहेछ । कमाउनु नै परेपछि यसरी नाम पो कमाउनु त सँधैको लागि । दाम त आज उसको, भोलि मेरो र पर्सी फेरी अर्काको हुँदै जान्छ । हाम्रा मेयरले पनि अद्वितीय काम गरे भनेर हामीले सालिक बनाएर राख्ने कहिले पो होला ।


लिच्छवीकालीन नेपालकी राजकुमारी भृकुटीको नामबाट यो परिसरको नाम भृकुटीमण्डप राखिएको हो तर त्यहाँ आजसम्म पनि भृकुटीको सालिक वा उनको वारेको शिलापत्र समेत राखिएको पाइएको छैन । राजकुमारी भृकुटीदेवी लिच्छवी राजा अंशुवर्माकी सुपुत्री थिइन् र उनको विवाह तिव्वतका राजा संगचन्गम्पोसँग सन् ६२५ तिर भएको थियो । वास्तवमा त्यतिबेला देखि नै चीन–तिव्वत र भारतवर्षसँगको कुटनीतिमा नेपाल निकै चनाखो रहेको पाइन्छ । भृकुटीसँगै दाइजोमा धेरै कलाकार र शिल्पकारहरु पनि तिव्वत गएका थिए र त्यहाँ नेपाली कलाकारिताका नमुनाहरुको निर्माण पनि गरेका थिए । यसरी नै अभय मल्लको शासनकालमा सन् १२४५ मा काठमाडौँमा जन्मेका अरनिको पनि उनको युवा अवस्थामा यानी राजा जयभिमदेव मल्लको पालामा तिव्वतमा स्वर्ण स्तुपाको निर्माण गर्न पठाइएका थिए । त्यहीँ छँदा उनी भिक्षु बनेर वेइजिङ गई युआन वंशका राजा कुव्लाई खानको दरवारमा काम गरेर उनले श्वेत गुम्वा पनि बनाए र उतै घरजम गरेर बसे । आज पनि उनको सालिक वेइजिङको मियाओयींग मन्दिरमा छँदैछ ।    

 

हालको भृकुटीमण्डप भएको ठाउँ र अझ भन्नै पर्दा झण्डै बागबजारदेखि माइतीघरसम्मको क्षेत्र सन् १९६० को दशकसम्म पनि खुला तथा उर्वर तरकारी खेती गर्ने बारी नै थियो । समयक्रमसँगै शहरीकरणले गर्दा वागबजार–पुतलीसडक क्षेत्र घनावस्तीमा परिणत हुँदै गयो र हालको भृकुटीमण्डपको नाममा वाल उद्यान र प्रदर्शनीस्थलको स्थापना गर्ने योजना समेत बन्यो । राष्ट्रिय सभा गृह, पुलिस क्लव, विभिन्न कलेजहरु सडकको एकातर्फ बने भने भृकुटीमण्डप परिसर अर्को तिर । यो भन्दा पनि दक्षिणतिर सिंहदरवारजाने पुल तथा अन्य सरकारी बैंक तथा कार्यालयका भवनहरु बने । पछि यो क्षेत्रको नाम नै भृकुटीमण्डप रहन गयो । भृकुटीमण्डपमा पार्क, प्रदर्शनीका लागि चारैतिर विभिन्न संरचना, सिनेमा देखाउने तथा नाटक–नाचगान गर्ने सानो खुला मञ्च, विंगो तथा विभिन्न मनोरञ्जनका खेल खेल्ने साना हलहरु, तलाव, रोटे पिङ र वाल रेल सहितको वाल उद्यान आदिको निर्माण भयो । त्यतिबेला नेपालका राजा–रानीका जन्मदिन पारेर र दशैँ–तिहारमा भृकुटीमण्डपमा सस्तो बजार र रमाइलो मेला लाग्दथे । यस्ता मेलाहरुमा त्यहाँ विभिन्न प्रकारका खेल तथा मनोरञ्जनका स्टलहरु राखिएका हुन्थे । बेलुन तथा बेलुनमा हावा भरी बनाइने विभिन्न आकृति, सिठ्ठीहरु, मुरली तथा अन्य बाजाहरु, वम्वेशनका हावादारी लड्डु, चना चटपटे र पानी पुरी आदीका साना साना स्टलहरु ठाउँ ठाउँमा राखिएका हुन्थे । त्यस्तै नक्कली सिकार खेल्ने ठाउँ, रिंग फ्याँकेर सामानमा पार्ने, विभिन्न सामानहरु जित्ने चिठ्ठाहरु र लुगाफाटा र जुत्ताका पसलहरु पनि त्यहाँ लाग्दथे । जादु देखाउने, सर्कस देखाउने, नाच–गान गर्ने, हँसाउने तथा यस्तै अन्य कला जानेकाले पनि आआफ्ना स्टल राखेका हुन्थे । ठुला मान्छेहरुका लागि बेलुकी बेलुकी विङ्गो पनि खेलाइन्थ्यो । त्यस्तै रोटे पिङ, घोडचढी तथा अन्य खेलहरु पनि राखिएका हुन्थे त्यहाँ । भृकुटीमण्डप भित्र रेल पनि चढ्न पाइन्थ्यो । बच्चाहरुलाई चढाउने बहानामा ठुलाहरु पनि रेलको आनन्द लिन्थे । मेलास्थलमा बगैचा र पार्क पनि थिए । चलचित्र संस्थान र अन्य सरकारी निकायले बेलुकीपख सिनेमा र डकुमेन्ट्रीहरु पनि देखाउँथे । 

 

राजा वीरेन्द्रको शुभराज्याभिषेकको समयमा यानी सन् १९७५ सालमा भृकुटीमण्डपलाई अझै राम्रो बनाइएको थियो । विदेशी पाहुनाहरुलाई नेपाल झल्काउने प्रदर्शनी दखाउने र त्यहाँस्थित पार्कमा दिवाभोज गर्ने कार्यक्रम राखिने भएकाले केही समय अघि देखि नै सो पार्क तथा स्टलहरुको मर्मत तथा नेपाली कलाकारिता झल्कने गरी नयाँ स्टलहरु पनि बनाइएका थिए । भृकुटीमण्डपको चारैतीर विभिन्न थरीका रुखहरु लगाउनुका साथै रंगीविरंगी फुलहरु लगाएर यसको सौन्दर्य बढाइएको थियो । केहीसमय पश्चात फेरी भारत सरकारको सहयोगमा यही परिसरमा ठुला प्रदर्शनीहरु आयोजना गर्न एउटा ठुलै हलको पनि निर्माण गरियो ।
 

मेला लाग्दा निकै गुल्जार र रमाइलो हुने भृकुटीमण्डपमा मेला नलागेका बेला भने पुरै परिसर बन्द रहन्थ्यो र बगैचामा काम गर्ने कर्मचारी र कुरुवाहरु मात्र हुन्थे त्यहाँ । हामी साना छँदा कहिलेकाहीँ हाम्रा दाजुहरु र उनका साथिहरु भृकुटीमण्डपको वाल उद्यानमा अवस्थित ठुलो पोखरीमा पौडी खेल्न जान्थे । यसो गर्नका निम्ति उनीहरुले त्यहाँको कुरुवालाई चिया–चुरोट पिउने थोरै पैसा दिएका हुन्थे । एकचोटी मलाई पनि लिएर गएका थिए उनीहरुले । म सानै थिएँ । उनीहरु निकैबेर पौडी खेलिरहे भने म उनिहरुले खेलेको हेरिरहेको थिएँ । अचानक एकजना मान्छे दौड्दै र हामीलाई “पख तिमीहरुलाई” भनेर कराउँदै हामी तिर आयो । यो देखेर हाम्रा दाजुहरु पानीबाट निस्केर आआफ्नो लुगा च्याप्दै नाङ्गै भाग्न थाले । मलाई पनि दाजुको एउटा साथिले समाएर कुदायो । हामी बल्ल तल्ल भृकुटी मण्डपको पर्खाल नाघेर बाहिर निस्केका थियौँ । अनि उनिहरुले सडकमा बसेर आफ्ना कपडा लगाएका थिए ।
  

सन् १९८० को दशकको मध्यतिर हामी रत्नराज्य कलेजमा अध्ययन गर्दा भृकुटीमण्डपको सुनसान पार्क पे्रमी–प्रेमिकाहरु भेट्ने थलो पनि बनेको थियो । पछि पछि बालकहरुका लागि आयोजना गरिने यस्ता रमाइला मेलाहरु कम हुँदै गए भने यो ठाउँका प्रदर्शनीका लागि बनाइएका स्टलहरु बिस्तारै खुद्रा पसल तथा रेष्टुरेण्टहरुलाई भाडामा दिने, विभिन्न संघहरुको कार्यालय बनाउने, खाली जग्गाहरुमा पालैपाल टाँगेर लामा लामा गुफाहरु जस्तामा पसलहरु थाप्ने जस्ता लापरवाहीहरु हुन थाले । हुँदा हुँदा समाज कल्याण परिषदको मेला व्यवस्थापन समितिबाट सस्तो भाडा तीरेर हात पारेका स्टल र जमिनहरु लाखौँ रुपैयाँमा किनबेच हुनुका साथै ऋषी धमला जस्ता बाठा पत्रकारहरुले पनि यस्ता स्टलहरु हात पार्न थाले पछि पुरै भृकुटीमण्डपको सौन्दर्य खतम हुँदै गयो ।

 

हाल पनि भृकुटीमण्डपमा वर्षमा कैयन् चोटी विभिन्न प्रकारका मेलाहरु जस्तै औद्योगिक मेला, कम्प्युटर मेला, निर्माण सामग्री मेला, शैक्षिक मेला, पुष्प प्रदर्शनी, पुस्तक प्रदर्शनी, दशैँ मेला, सांगितिक कार्यक्रम आदि भइरहन्छन् भने यो परिसरको हालको संरचनाहरुलाई उचित संरक्षण र सम्वद्घन गरेर यसलाई अझ बढी व्यवस्थित बनाउनु अति जरुरी भएको छ । प्रत्येक बिहान यहाँको खुला हावामा व्यायाम गर्न आउनेहरुको निकै ठुलो भिड लाग्दछ ।    

 

भृकुटीमण्डपको तीन तीरका छेउमा बनाइएका पालै पालका गुफाभित्रका पसलहरुमा कदाचित आगलागी भयो भने हजारौँ मानिसको ज्यान जान सक्छ । साना व्यवसायीहरुको हितका लागि अन्य कतै स्थायी र व्यवस्थित ठाउँ बनाइदिन नसकुञ्जेलसम्मका लागि यदी यही ठाउँमा यस्ता पसलहरु राख्नुपर्ने हो भने सम्बन्धित निकायले भृकुटीमण्डपको पुनः एउटा खाका बनाएर यस्ता छेउछाउमा खाली भएका जग्गाहरुमा व्यवस्थित तथा हेर्दा पनि राम्रा देखिने अस्थायी टहराहरु बनाएर, शौचालय तथा खानपीनको व्यवस्था सहित चारैतिर हिँडेर घुम्न मिल्ने बाटा, पानी–बिजुली र सुरक्षाको पनि राम्रो व्यवस्था गर्नु अति जरुरी छ । 

 

दशकौँ देखि बालबच्चाहरुको मनोरञ्जनको स्थल बनिरहेको यो ठाउँलाई फन पार्कको रुपमा नै विकास गरेर यहाँ स्टल ओगटेर खोलिएका सबैखाले कार्यालय तथा पसलहरु हटाइदिनु पर्छ । त्यस्तै भृकुटीमण्डपको सिमित जग्गा ओगटेर बनाइएको पर्यटन वोर्ड तथा सूचना केन्द्रलाई पनि त्यहाँबाट अन्यत्र सारेर यो भवनलाई पनि बाल मनोरञ्जन तथा वृत्ति विकास केन्द्र कै रुपमा परिणत गर्नु राम्रो हुन्छ ।

 

काठमाडौँ महानगरपालिकासँग यथेष्ट वजेट र इच्छा शक्ति छ भने उसले वालवालिका मन्त्रालय, समाज कल्याण मन्त्रालय तथा अन्य सम्बन्धित निकायहरुसँग सहकार्य गरेर ड्रिम प्रोजेक्टको रुपमा कुनै उपयुक्त स्थानको छनौट गरेर राष्ट्रियस्तरको एउटा अत्याधुनिक वाल मन्दिरको निर्माण गरोस् । हालको वाल मन्दिरलाई भने जीर्णोद्धार गरेर नेपाल पर्यटन वोर्ड त्यहाँ बसोस् र त्यही परिसरमा एउटा पाँच तारे होटल सहितको होटल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्र पनि खोलियोस् ।  

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार