• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

फेरी बल्झिँदै किसान आन्दोलन

इलाम । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् ।

 

उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्योगले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान सङ्घर्षका लागि एकजुट हुन बाध्य भएका हुन् ।

 

किसानले उत्पादन गरेको हरियोपत्तीको मूल्य सधैँ उद्योगीले निर्धारण गरिदिने भएकाले आफूहरू मारमा परेको किसान बताउँछन् । उद्योगमा हरियोपत्ती बेच्न नपाए आफूहरूको वर्षभरको आम्दानी गुम्ने भएकाले किसान पनि उद्योगीले तोकेकै मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य छन् । तर, यो वर्ष चाहिँ सूर्योदय नगरपालिकाले दुई वर्षअघि तोकेको हरियोपत्तीको न्यूनतम् समर्थन मूल्यसमेत उद्योगीले उल्लङ्घन गरेपछि किसान सङ्गठित भएरै सङ्घर्ष गर्ने निर्णयमा पुगेका हुन् ।

 

किसानले नगरको वडा ८, १० र ११ मा ‘हरियो चिया उत्पादक कृषक सरोकार समिति’ गठन गरिसकेका छन् । चिया उत्पादन हुने नगरका सबै वडा र नगरस्तरको समेत समिति गठन गर्ने तयारी छ । समितिको वडा १० का अध्यक्ष बालकुमार भण्डारीले केही दिनभित्र नगरस्तरीय समितिसमेत गठन हुने बताए । उहाँले सधैँ किसान हेपिने भएकाले अब सङ्गठितरूपमा आवाज उठाउन आवश्यक भएकाले नगरपालिकाभर सङ्घर्षकै लागि समिति गठन भइरहेको जनाए ।

 

उद्योगले नगरले तोकेको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन नगरेको भन्दै नगरका किसानले मङ्गलबार नगरपालिकामा छबुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् । किसानले नगरले लागू गरेको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५ पूर्णरूपमा कार्यान्वयन गर्न, पहिलो चरणमा टिपेर उद्योगमा पु¥याएको हरियोपत्तीको मूल्य दिलाइदिने पहल गर्न, लकडाउनका कारण पीडित बनेका किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

 

न्यूनतम् समर्थन मूल्यले हरियोपत्तीको बजार नियन्त्रण गरेकाले आन्तरिक र भारतीय बजारसमेत खुला गर्न तथा चियाको उत्पादन, मूल्यबारे बारम्बार आइरहने समस्याको दीर्घकालीन समाधान गर्न पनि किसानको माग छ । नगरको कार्यविधिले हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो रु ४० तोकेको छ तर, यहाँका उद्योगले किसानलाई प्रतिकिलो रु २० देखि ३० मात्र दिनेगरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार