• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
विचार

अनिकालमा बीउ जोगाउनु

“हुल–हालमा जिउ जोगाउनु, अनिकालमा विउ जोगाउनु ।" यो कथन पुर्खौ–पुर्खादेखि नेपालमा चलि आएको छ । विश्वमा जीवन शुरु भए देखि नै विभिन्न किसिमका शुक्ष्म जिवाणुहरुको संक्रमणले महामारी निम्त्याएर विभिन्न कालखण्डहरुमा विश्वलाई नै आतंकित तुल्याइरहेको हुन्छ भने यीनको संक्रमणले एकैचोटी लाखौँ करोडौँ मानिसहरुको मृत्यु पनि भएको छ । त्यस्तै विभिन्न खाले जन्तुहरुमा पनि महामारीले गर्दा बथानका बथान भेँडा–बाख्रा, गाई–भैंसी, हाँस–कुखुरा, सुंगुर–वंगुर वा घर पालुवा र जंगली जनावरहरु एकैचोटी हजारौँ–लाखौँको संख्यामा मर्ने गरेको पनि हामीले सुनेकै हो । कहिले काहीँ त जनावर र पशुपंक्षीमा महामारी फैलिएर तीनबाट मानव जातीमा पनि संक्रमण फैलिन जाला भनेर त्यस्ता क्षेत्रका पुरै पशु वा पंक्षीहरुलाई खतम गर्ने कार्य पनि गरिन्छ ।

 

वोट–विरुवा र वालीनालीमा समेत समय समयमा लाग्ने अनेक प्रकारका रोगव्याधीले गर्दा कुनै एक ठाउँको वा विश्वका धेरै क्षेत्रका वालीहरु एकैचोटी नास भएको पनि हामीले सुनि नै रहेको हो । एकातिर धान, गहुँ, मकै, साग–सव्जी, तरकारी, अदुवा, कफी, केरा, अंगुर तथा अन्य फलफुलमा यस्ता सरुवा रोगहरु लागेर ठुलो नोक्सानी हुने गरेको छ भने अर्कोतर्फ यस्ता संक्रमणहरुबाट बच्न र बचाउन विश्वमा खरवौँ रुपैयाँ खर्चेर विभिन्न खाले किटनाशक औषधीहरुको विकास गर्न निरन्तर प्रयोग र अनुसन्धान भइरहेका हुन्छन् ।

 

वन जंगलमा पाती झार तथा अन्य परजीवी वोट विरुवाहरुले रुखहरुलाई बेरेर सुकाइदिने तथा अरुपनि विभिन्न किसिमका रोगहरुले विरुवाहरु सुकाउँदै लग्ने भएकाले हाम्रा जडिबुटी तथा वन्यजन्तुहरु पनि लोप हुँदै गइरहेका छन् भने चरम सुख्खाका कारण रुखपात सुकेर मर्ने तथा डढेलो लागेर विश्वका धेरै ठाउँका वन जंगल र वस्तीहरु स्वाहा हुने गरेका छन् । हालै मात्र अष्ट्रेलियाका धेरै ठाउँहरुमा सुख्खाका कारण लागेको वुशफायरले गर्दा लाखौँ वन्यजन्तु, किरा, फट्यांग्रा तथा घना जंगल र धेरैवटा नजिकका वस्तीहरु र आदीवासीहरु समेत जलेर भष्म भए ।

 

कैयन् ज्यानमारा संक्रमणहरुको औषधी र खोपको विकास भइसकेकोले तिनबाट हुने महामारीमा निकै कमी आएको छ भने धेरै प्रकारका सरुवा रोग र महामारीबाट बच्ने आजसम्म पनि उपचार निस्किएको छैन । त्यसैले त्यस्ता रोगहरुको संक्रमणबाट बच्न हामीले आफ्नो जीवन शैलीमा परिवर्तन गर्ने र विभिन्न प्रकारका रोकथामका उपायहरु अवलम्वन गर्ने वाहेक अन्य उपाय छैन । सन् १९८० को दशकमा शुरु भएको एड्स, विभिन्न खाले फ्लुहरु र हालैको कोरोना भाइरसका कारण सर्ने कोभिड-१९ को पनि उपचार नआइसकेकोले सामाजिक दुरी कायम गर्ने, सरसफाइमा ध्यान दिने, तथा जीवनशैलीमा बदलाव ल्याउने वाहेक अन्य उपाय अहिले छैन ।

 

विश्वमा कोरोनाको भय र संक्रमणबाट आक्रान्त भएर लाखौँ मानिसले ज्यान गुमाईसकेको, घरबाट बाहिर निस्किन समेत कठिन भएकोले कृषि तथा अन्य उद्यम र व्यवसाय ठप्प भएर विश्व अर्थतन्त्र नै नराम्ररी थलिएको बेलामा फेरी अमेरिकन फौजी किरा, डेंगीको ज्वरो, इवोला तथा अझ विनाशकारी सलहको आगमनले गर्दा विश्वका विभिन्न क्षेत्रमा बसोवास गर्ने मानिसहरुलाई एकै पटक धेरै किसिमका प्राणघातक समस्याहरुले गाँज्न पुगेको छ । यो वर्षको पहिलो चरणको सलह आतंक खतम हुन नपाउँदै जुन महिनाको दोश्रो साता तिर देखि पुर्वी अफ्रिकाबाट फेरी झनै ठुलो मात्रामा सलह दक्षिण एशियामा आउने आंकडा गरिएको छ ।

 

फौजी किरा र सलहको प्रकोपले रोग लागेरै मृत्यु हुने नभए तापनि यिनको कारणले गर्दा विषम खाद्य संकट हुने भएकोले एकातिर अनिकालको नै स्थिति आउने तथा अर्काेतिर कृषि उपज र वन पैदावारबाट हुने आम्दानी ह्वात्तै घट्ने र पशु–पंक्षीको चरण र चारोको समेत उचित वन्दोवस्त गर्न नसकेर मानिस देखि पशु–पंक्षीसम्म कुपोषणका शिकार बन्न पुग्दछन् । अब अन्य कुराहरु भन्दा पहिले हामी अहिलेका जल्दा बल्दा यी दुई प्रकारका किराहरुको वारेमा केही जानकारी लिने कोशिस गरौँ ।    

अमेरिकन फौजी किरा (Fall Armyworm) : संयुक्त राज्य अमेरिकाका मुख्य कृषि उपजहरु मध्ये मकै पनि विश्वमा चर्चित छ । मकै वाहेक धान, गहुँ, जौ, भटमास, बदाम, कपास, सुर्ती आदि पनि अमेरिकाका प्रमुख वालीहरु मध्येका हुन् । मकै निकै रुचाउने अमेरिकन फौजी किरा पनि सबैभन्दा पहिले अमेरिकामा नै भेटिएको हो । यो किराको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्रुजिपेर्डा (Spodoptera Frugiperda) हो । पुतली समुहको यो किरा आफ्नो वास र खानाको निम्ति एक दिनमा एक सय किलोमिटरसम्म उडेर नयाँ गन्तव्यमा पुग्न सक्छ भने आफ्नो जीवनकालमा २,००० किलोमिटरसम्मको यात्रा तय गर्ने गर्दछ । एउटा पुतलीले एकचोटीमा मकैको पातको कुनामा वा अन्य घाँसमा १५० वटा सम्म फुल पारेर एक दुई हप्ता भित्र लार्भा निकाल्छ भने मकैको एउटै सिजनमा यसले ६ देखि १२ चोटीसम्म सन्तान पैदा गर्दछ र यसैबाट निस्केका लाखौँ लार्भा र प्युपाहरुले खासगरी साँझ र रातको समयमा वाली खाएर नष्ट पारिदिन्छन् ।

 

अमेरिकाबाट यात्रा शुरु गरेर सन् २०१६ ताका नाइजेरियामा देखिएको यो फौजी किराले अफ्रिकाका ४० वटा मुलुकको खेती नष्ट गरेर सन् २०१८ मा भारत, पाकिस्तान, वंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, चीन, ताइवान, थाइल्याण्ड आदि मुलुकमा पसेर हालै मात्र नेपालमा पनि देखिन थालेको छ । खासगरी मकैको वोटका सबै भागहरु जस्तै ढोड, पात, बाला, जुंगा तथा घोगा खाइदिने यो किराले मकै, धान, गहुँ, कोदो, उखु, कपास, भटमास, बदाम, आलु, बन्दा, गोलभेडा, प्याज, चुकन्दर लगायत ८० प्रकारका अनाज, तरकारी र फलफुल वालीलाई नष्ट गरिदिन्छ । हाल आएर नेपालका पनि विभिन्न भागमा यसले मकै तथा गोलभेँडाका बालीहरुलाई निकै हानी पुर्‍याइरहेका खवरहरु आउन थालेका छन् ।

 

सलह (Locust) : मरुभूमि सलहको वैज्ञानिक नाम शिस्टोसेर्का गे्रगारिया (Schistocerca Gregaria) हो । सलहका विभिन्न प्रकारहरु हुन्छन् भने अमेरिकन, अफ्रिकन, अष्ट्रेलियन, इटालियन र मरुभूमिमा बस्ने सलहहरु विश्वका प्रमुख प्रकारका सलहहरु हुन् र यी मध्ये पनि मरुभूमिमा पाइने फट्यांग्रा प्रजाती सबैभन्दा विनासकारी, मिचाहा र लामो दुरीसम्म यात्रा गर्न सक्ने खालको हुन्छ । मरुभूमिमा बस्न रुचाउने भएकोले नै यसले ३०–४० डिग्री भन्दा उच्च तापक्रम भएका ठाउँहरुमा स्थानान्तरण गरेर आफ्नो भोक मेटाउने गर्दछ तथा भारी वर्षा भएर चिसिएको माटोमा यसले फुल पारेर आफ्नो झुण्डको संख्यालाई विशाल बनाउँदै लग्छ । यो भेगमा आउने सलहको बथान (Swarm) रुस र चीनको विभिन्न उष्ण तापक्रम भएका भागहरु, क्यास्पीयन सागर, अफ्रिकी र अरवीे मरुभूमि, फारस, दक्षिण एशिया तथा मलेशिया–इन्डोनेशिया तथा फिलिपिन्सका घनाजंगलहरुसम्म बास र गाँसको निम्ति मडारिन्छन् । यति शक्तिशाली किरा भएर पनि यो कहाँ पुगेर कुन बेला मर्छ भन्ने कुनै निधो छैन । त्यसैले होला गायिका अरुणा लामाको “पोहर साल खुशी फाट्दा” भन्ने गितमा रचनाकार राजेन्द्र थापाले “सलहको भाग्य मेरो, मर्ने बाँच्ने ठेगान छैन” भनेको ।

 

हाम्रा गाउँघरमा पाइने फट्यांग्रा एक्लो वा सानो झुण्डमा बस्ने भएकाले यो खतरनाक हुँदैन । सलह पनि त्यसरी नै एक्लो वा सानो झुण्डमा बस्दा शान्त नै रहन्छ तर जब यसले ठुलो बथान बनाउँदै जान्छ, त्यसपछि भने १५० किलोमिटरसम्म लामो र विशाल समूह बनाएर करोडौँको संख्यामा यसले लामो यात्रा तय गर्दै विभिन्न ठाउँका सम्पुर्ण हरित खेतीलाई पलभरमा खाइदिन्छ र ठुलो खाद्य संकटलाई निम्त्याई दिन्छ । विगतमा विश्वका धेरै ठाउँहरुमा सलहको आक्रमणले गर्दा अनिकाल लागेर लाखौँ मानिसहरु र जीव–जन्तुहरु मरेका छन् । विगतमा दक्षिण एशियामा सलह अक्सर आषाढ, श्रावण, भदौ तिर आएको रेकर्ड छ । पानी नपरेको अवस्थामा विनाशकारी आक्रमण गर्ने सलहले वर्षामा भने प्रजनन कार्य गरेर आफ्नो संख्या बढाउँछ । सलहले मानिस वा अन्य जनावरलाई टोक्ने वा रोगहरु सार्ने गरेको पाइएको छैन तर यसले निम्त्याउने अनिकालले गर्दा भने निकै हानी नोक्सानी व्यहोर्नु पर्ने तथा ज्यान नै जाने अवस्था आउँछ । सलह निकै विनाशकारी हुने भएकोले तथा हजारौँ वर्षसम्म पनि यसलाई निर्मुल गर्ने कुनै ठोस उपाय मानव जातीले अवलम्वन गर्न नसकेकोले संयुक्त राष्ट्र संघीय निकाय खाद्य तथा कृषि संगठन (Food & Agriculture Organization) ले यसको प्रकोपको समयलाई सलह महामारी (Locust Plague) नामाकरण गरेको छ । 

 

विश्वका विभिन्न ठाउँहरुमा सलहको वास हुने भएपनि हालको समयमा यो खतरनाक प्रजाती भने सबैभन्दा बढी अरव र अफ्रिकाको मरुभूमिमा नै बस्दछ र त्यहीँबाट विश्वका टाढा टाढाका विभिन्न ठाउँहरुसम्म पुगेर आतंक मच्चाउँछ । करोडौँको संख्यामा २,००० मिटर माथिसम्म उड्ने सलहको बथानले एकै दिनमा सयौँ किलोमिटरसम्मको दुरी पार गर्न सक्दछ भने औषतमा एक वथान सलहले करिव ३०,००० मानिसलाई खान पुग्ने खाना एक दिनमा नै सफाचट बनाउन सक्दछ ।


फौजी किराले विस्तारै विस्तारै मकै र अन्य कृषि उपजहरुलाई खाएर सक्काउँछ भने सलहले एक पलमा नै पुरै हरित क्षेत्रलाई उजाड बनाइदिन सक्दछ । हाल यो भेगको खासगरी कृषि र वन क्षेत्रलाई नै नराम्रो प्रभाव पारिरहेको फौजी किरा र सलहलाई निर्मुल नै पार्न नसकिए पनि केही हदसम्म नियन्त्रण गर्न चालिने गरिएका केही उपायहरु वारे चर्चा गरौँ । 

 

प्रारम्भिक चेतावनी प्रणाली (Early Warning System) : विश्वका धेरै मुलुकहरुले सलहको चहल पहल, समुह बनावट तथा आगमन वारेको जानकारी पाउनका लागि स्याटलाइट तथा अन्य प्रविधिको माध्यमलाई प्रयोगमा ल्याएर प्रारम्भिक चेतावनी प्रणालीको विकास गरेका हुन्छन् । यो प्रणालीको मद्दतले सलहको आगमन हुन सक्ने समय, खाद्य तथा वीउविजन भण्डारण तथा सो भन्दा पहिले गर्नुपर्ने यावत तयारीको लागि समय निकाल्न सहयोग गर्दछ । जस्तै अहिले पनि हामीलाई जुनको दोश्रो साता तिर दोश्रो चरणको सलहको आगमन हुने कुरा प्रारम्भिक चेतावनी प्रणाली मार्फत थाहा भइरहेकोले नेपालमा पनि यसरी आउने परिस्थितिको सामना गर्न सरकारी पहल शुरु भएको छ ।

 

किटनाशक औषधीहरुको प्रयोग : फौजी किरालाई नियन्त्रण गर्न सक्ने विभिन्न किसिमका किटनाशक औषधीहरु छन् । यी औषधीहरु विभिन्न वालीका बोट विरुवाहरुमा नियमित छर्कनाले फौजी किरा तथा अन्य किटाणुहरुबाट कृषिलाई जोगाउन सकिन्छ । सलहको आक्रमण हुँदा पनि विभिन्न खाले किटनाशक औषधीहरु ठुला ठुला फोहराको मद्दतले वोट, विरुवा र सलहको बथान भएको ठाउँमा छर्कने गरिन्छ । हवाइजहाज र मोटर गाडीहरुको मद्दतबाट पनि किटनाशक औषधिहरु छर्किन सकिन्छ । हालै पाकिस्तानले पनि केही साना हवाइजहाज मार्पmत सलह भएका क्षेत्रमा किटनाशक औषधी छर्केको थियो भने भारतको जयपुरमा ड्रोनको प्रयोग पनि भएको थियो ।

 

सलह होस् वा फौजी वा अन्य किरा, यदि यिनीहरु प्रचुर मात्रामा पाइने स्थानहरुको पहिचान गरेर यिनले फुल पारेको ठाउँहरु वा यिनका लार्भा तथा निम्फहरु भएका ठाउँहरुमा किटनाशक औषधीहरुको तिव्र प्रयोग गरेमा यिनलाई निकै हदसम्म निर्मुल गर्न सकिन्छ ।

 

खेतमा रुख र झारहरु लगाउने : फौजी किरा तथा अन्य घातक किटाणुहरुलाई भगाउन मद्दत गर्ने खालका झारपातहरु खेतमा लगाएर पनि यस्ता किटाणुहरुलाई विकर्षण गर्न सकिन्छ । त्यस्तै खेतीका जग्गाको नजिक निम, बकैना, तितेपाती जस्ता औषधीय गुण भएका रुखहरु पनि लगाउने चलन छ यो भेगमा । आयुर्वेदमा यस्ता धेरै झारपात तथा वोटविरुवाहरुको वारेमा उल्लेख छ भने हाम्रा कृषकहरुलाई पनि सो वारे निकै ज्ञान छ ।  खेतीको साथै कान्ला, कुना, काप्चामा यस्ता वोटविरुवा र झारहरु लगाउनाले एकातिर वालीका शत्रु किराहरु कम हुन्छन् भने अर्कोतिर गाईवस्तुलाई पनि खुवाउन काम लाग्छन् । प्रसस्त वोटविरुवाहरु भएका ठाउँहरुमा चराचुरुंगीको पनि वास हुने भएकाले पनि खेतवारी सुरक्षित रहन्छ ।


पशुपंक्षीको उपयोग : गिद्घ, चील, कौवा सहित विभिन्न मांसाहारी चराचुरुंगीहरु तथा मासुका लागि पालिने हाँस, कुखुरा, च्याँखुरा, टर्की जस्ता पन्छी देखि सर्प, छेपारा, भ्यागुता र माकुराहरुले पनि सलहलाई निकै मिठो मानेर खाने गर्दछन् भने यिनले वालीमा लाग्ने अन्य किराहरु जस्तै फौजी किराहरुलाई पनि खाइदिन्छन् । सलहको आगमन सँधै नहुने भएपनि यो बथानका बथान आएर वालीनाली बिगारी रहेको बेलामा चरा–चुरुंगीहरुले हप्तौँसम्म अति नै धेरै सलहहरु खानाले यिनको वजन बढेर यिनलाई केही दिन उड्न समेत सकस पर्छ । सलहको प्रकोपबाट केही मात्रामा भएपनि राहत पाउन चीनले सन् २००० मा हजारौँ हाँस पालेको र हालै पाकिस्तानले पनि यही प्रयोजनको लागि चीनबाट हजारौँको संख्यामा हाँसहरु आयात गरेको कुरा एउटा समाचारमा पढ्न पाइएको थियो ।

 

सलहमा प्रसस्त प्रोटिन पाइनुका साथै पोटासियम, सोडियम, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, आइरन र जिंक जस्ता खनिजहरु तथा फ्याटी एसिड पनि पाइने हुँदा यसलाई निकै पोसिलो खानाको रुपमा खान सकिन्छ । नेपाल, भारत तथा अन्य दक्षिण एशियाली क्षेत्रमा किरा–फट्यांग्रा खाने चलन नभए पनि सलह भने निकै पहिले देखि खाने गरिन्छ । आजको आधुनिक र विकसित संसारमा वितरण प्रणालीको निकै विकास भएकोले एक ठाउँमा खाद्य संकट भयो भने अन्य ठाउँहरुबाट तुरन्त खाद्यान्न मगाएर खान सकिन्छ । तर आज भन्दा ७०–८० वर्ष अघिसम्म मात्र पनि अनिकाल लागेर खान नपाई लाखौँ मानिसहरु मरेका कुरा इतिहासमा पढ्न सकिन्छ । त्यसरी सलहको कारण अनिकाल लाग्दा खानेकुरा केही नपाइने भएकाले सलहलाई नै खाने गरिएको पनि हुनसक्छ । 

 

आला सलह मात्र होइन, यिनलाई सुकाएर पछिका लागि पनि राखिने चलन नेपालमा पनि छ । त्यस्तै अरव मुलुकहरुमा सलह आएपछि तीनलाई जिउँदै पक्रेर जालीदार झोलाहरुमा राखी खानका लागि बेच्ने तथा पाकिस्तानमा जनावर, पशुपंक्षी र माछाका दाना बनाउन पनि सलहको प्रयोग गरिएको कुरा सुन्नमा आएको थियो ।

 

पछिल्लो समयमा नेपालमा विक्रम सम्वत १९८५–८६ साल तीर र २०१९ सालमा सलहले ठुलै विपत ल्याएको तथा २०५३ सालमा पनि चितवन लगायत केही ठाउँहरुमा केही वालीनाली खाएको थियो । २०१९ सालमा सलहले काठमाडौँ, धादिङ, नुवाकोट जिल्लाहरुमा पसेर यहाँको वालीमा निकै नोक्सान पुर्‍याएको थियो । हाम्रा पिताजीले हामी साना छँदा सुनाउनु भएको त्यतिबेलाको एउटा रोचक प्रसंग यहाँ उल्लेख गर्न चाहन्छु । नेकपाका संस्थापक स्वर्गीय पुष्पलाल श्रेष्ठ जो शहिद गंगालालका सहोदर भाई पनि हुन्, उनी मेरा पिताजी गोविन्दप्रसाद लोहनी भन्दा चार वर्ष जेठा हुन् । प्रजापरिषदका मुख्य व्यक्तिहरुलाई धरपकड गरेर कैयनलाई मृत्युदण्ड, सर्वश्वहरण सहित आजिवन कैद तथा डाँडा कटाउने कार्य भए पश्चात राणाहरु बिरुद्ध झन् धेरै युवायुवतीहरु भूमिगत रुपमा सक्रिय भएपनि कसैमा खुलेआम बोल्ने आँट थिएन । यस्तैमा केही वर्ष पछि प्रजा पञ्चायत भन्ने संस्था खडा भएर पुष्पलाल लगायत त्यतिबेला प्रजातन्त्रको लागि संघर्ष गर्ने धेरै व्यक्तिहरु त्यस संस्थामा आवद्ध भए भने भारतको कलकत्तामा पछि नेपाली राष्ट्रिय कांग्रेस पार्टी खडा भएर यसको अध्यक्षमा जनमकैद भोगिरहेका टंकप्रसाद आचार्यलाई चयन गरिएपछि पुष्पलाल पनि सो पार्टीमा समाहित भए तथा हाम्रा पिताजी, देवेन्द्रराज उपाध्याय तथा वाराणसीमा अध्ययनरत अन्य मित्रहरु पनि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँगै कलकत्ता गएर सो पार्टीको स्थापनामा सघाए । तर नेपालमा राणशासनको अन्त गरेर प्रजातान्त्रिक परिपाटीको विकास गर्ने उद्देश्यले खडा भएको पार्टीको स्थापना कालदेखि नै मातृकाप्रसाद कोइराला र डिल्लीरमण रेग्मीका भिन्दा भिन्दै गुटहरु बनेर राजनैतिक दाउपेच र खिचातानी शुरु भएको तथा राणाहरुका नै निकटतम दाजुभाइहरु सुवर्णशम्शेर र महावीरशम्शेर, हिरण्यशम्शेर आदि, जो राणाशासन भित्रको सत्ता संघर्षमा नअटाएर कलकत्तामा निर्वासनमा बसेर प्रजातान्त्रिक कांग्रेस पार्टी खोलेर बसेका थिए, यी दुई कांग्रेस पार्टीको एकिकरण पनि भएकाले पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, तुलसीलाल अमात्य, मनमोहन अधिकारी, डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, हाम्रा पिताजी तथा अन्य कम्युनिष्ट विचारधाराका व्यक्तिहरुले सो पार्टीबाट छुट्टिएर नेपाल कम्युनिष्ट पार्टीको गठन गरे । 

 

हाम्रा पिताजीले प्रजातन्त्रको उदयको केही वर्ष पश्चात राजनीतिबाट सन्यास लिएर नेपाल राष्ट्र बैंकको स्थापनाको कार्यमा सामेल भएपनि त्यतिबेलाका सबै राजनीतिक पार्टीका साथिहरुसँग वहाँको निरन्तर भेटघाट र कुराकानी भई नै रहन्थ्यो । यही सिलसिलामा सलहले वालीनाली ध्वस्त पारेको त्यतिबेला एकदिन पुष्पलाल श्रेष्ठले हाम्रा पिताजी लगायत केही कम्युनिष्ट साथिहरुलाई घरमा कुराकानी गर्न बोलाएका रहेछन् । खाजा खाने समयमा उनले “सँधै खान पाईँदैन, ल आज सलहका विभिन्न परिकारहरु खाऔँ” भनेर सलह तारेको, पोलेर अचार बनाएको तथा अन्य परिकारहरु च्युरासँग खुवाएको कुरा हाम्रा पिताजीले निकै रोचक तवरले सुनाउनु भएको थियो । घर फर्कँदा असनमा बोराका बोरा सुकेको सलह बेच्न पनि राखिएको थियो रे ।

 

तीव्र ध्वनीको प्रयोग : भारत र पाकिस्तानमा हालै सलहको आक्रमण हुँदा त्यहाँका किसानहरुले मोटरसाइकल, मोटर र ट्राक्टरका साइलेन्सर पाइप निकालेर ठुलो ध्वनी उत्पादन गर्नुका साथै विभिन्न प्रकारका वस्तुहरु बजाएर सलहलाई भगाउने प्रयत्न गरे । एकातिर ध्वनी उत्पादन गर्ने र अर्को तिर लामा लठ्ठीमा कपडा बाँधेर हल्लाउँदै र धुवाँको मुस्लो छोड्दै सलहलाई तर्साउने कोशिश गरे । भारतको झाँसीमा त डिजेले प्रयोग गर्ने म्युजिक सिस्टम नै घन्काएर सलह भगाउने कोशिश भएको थियो । वास्तवमा तिव्र ध्वनीको प्रयोगले सलहको बथान(Swarm) लाई तितरवितर पार्न सकियो भने जुलुसमा मानव भिड तथा दंगा नियन्त्रण गरेझै सलहको मिचाहा र हिंसात्मक प्रवृत्तिलाई कम गर्न मद्दत पुग्ने थियो । 
 
जेनेटिक इन्जिनियरिङ (Genetic Engineering) : खासगरी सन् १९७० को दशकदेखि वैज्ञानिकहरुले गहन अनुसन्धान गरेर प्रयोगमा ल्याउन थालेको जेनेटिक इन्जिनियरिङले विश्वमा एउटा नयाँ क्रान्ति नै ल्याईदियो । विभिन्न प्रकारका जिवाणुहरुको जीनलाई परिवर्तन गरेर मानव जातिको चाहना अनुरुप सच्याएर खाद्य, कृषि, औद्योगिक, स्वास्थ्य, सरसफाई आदि क्षेत्रमा ठुलो फड्को मार्नु यसको उद्देश्य हो । बढ्दो जनसंख्यालाई खुवाउन खाद्यान्नका स्वस्थ र विकासे विउहरु उत्पादन गर्ने, वालीनाली तथा शरीरमा लाग्ने संक्रामक रोगहरुबाट बच्न विभिन्न जिवाणुहरुको प्रयोग गरेर रोग प्रतिरोधात्मक शक्तिको बृद्धि गर्ने तथा खराव जिवाणुहरुको जीनमा नै परिवर्तन गरेर तिनलाई असल जिवाणुमा रुपान्तरण गर्ने जस्ता अथाह कार्यहरु जेनेटिक इन्जिनियरिङको मद्दतले गर्न सकिन्छ ।

 

निष्कर्ष : नेपाल जस्तो श्रोत र साधन कम भएको मुलुकले मात्र होइन, हालको अवस्थामा विश्वका कुनै पनि मुलुकले सलह जस्तो करोडौँको बथानमा आएर उपद्रो मच्चाउने किराको पुरा रोकथाम गर्न सक्ने प्रविधि आजसम्म विकसित नभइसकेकोले नेपालमा सलह आई पुग्नु भन्दा पहिले नै सरकार, नीजि क्षेत्र र अन्य सबै सरोकारवाला निकायहरुले कमसेकम पनि एक वर्षलाई पुग्ने गरि आधारभुत खाद्य वस्तुहरुको भण्डारण गरेर राख्नु पर्दछ । त्यस्तै हाम्रा गाउँघरहरुमा अझैपनि भनिने गरेको “हुल हालमा ज्यान जोगाउनु, अनिकालमा बीउ जोगाउनु” भन्ने जस्ता कथनबाट सिकेर सलहको आक्रमण पछि फेरी वाली लगाउनको निम्ति वीउविजनको जोहो र सञ्चय अहिले देखि नै गरेर राख्नु उत्तम हुन्छ ।

 

माथि उल्लेखित किटनाशक औषधीहरुको प्रयोग तथा ध्वनी, धुवाँ, लाठो, जाल, आदि जस्ता परम्परागत माध्यमहरुको सहारा लिएर सलह तथा अन्य किरा–फट्यांग्राहरुलाई क्षणिक रुपमा भगाउन सकिन्छ तर दिर्घकालिन निदानको लागि भने यिनको उद्गम स्थल, बासस्थान तथा प्रजननको लागि अस्थायी बसोबास गरेका ठाउँहरुको पहिचान गरेर त्यस्ता ठाउँहरुमा नियमित रुपमा किटनाशक औषधीहरु छर्केर यीनको सफाया गर्न सक्नु पर्दछ । त्यस्तै जेनेटिक इन्जिनियरिङको क्षेत्रमा निकै धेरै उपलव्धि हासिल गरेर मानव जातीले यस्ता महामारी, रोगव्याधी, खाद्य संकट र अल्प जीवनबाट मुक्ति पाउन सक्दछ । अर्को सम्भावित विकल्प भनेको सलहको बथान (swarm) लाई मानव तथा वस्ती र जीवजन्तुबाट टाढाको क्षेत्रमा उडिरहँदा आजको अत्याधुनिक सैनिक प्रविधिको सदुपयोग गरेर क्षेप्यास्त्रको मद्दतले तिनलाई आकाशमा नै किटनाशक औषधीसहित विस्फोट गराएर खतम गर्ने । सुन्दा हास्यास्पद लागे पनि यो एउटा निकै प्रभावकारी उपाय बन्न सक्दछ ।

 

प्रकृतिले निकै हिसाब गरेर बनाएको वातावरणलाई हामी मानव जातीले नै बिगार्नबाट बचाएर वृक्षरोपण, हरित क्रान्ति तथा वातावरणीय प्रणाली (ecosystem) लाई जोगाएर कृषि, उद्यम, प्राकृतिक श्रोतको उपयोग र सबै प्रकारको विकास कार्य गर्न सकेमा पनि प्रकृतिमा भएका जीवजन्तु तथा वोटविरुवाहरुले एकअर्कामा एक प्रकारको सन्तुलन कायम गरेर सबैको अस्तित्व सुनिश्चित गर्न सक्नेछन् ।

 

आशा छ, हाललाई ठिक समयमा मनसुन शुरु भएर वर्षा हुने तथा तापक्रम केही घट्ने क्रम शुरु भइदिएर नेपालमा सलहको आगमन हुन नसकोस् र कोरोना र फौजी किराको कहरबाट पिडित भइरहेका हामीलाई अझ अर्को ठुलो संकटको सामना गर्न नपरोस् ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्व बैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार