• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्रीलाई विज्ञको सुझाव : 'लकडाउनको मोडालिटी फेरौं, परीक्षण दायरा बढाऔं'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा विज्ञहरुले लकडाउन मोडालिटी परिवर्तन गर्न, परीक्षण संख्या बढाउन, क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्न र निजी क्षेत्रका स्वास्थ्य संस्थालाई पनि कोभिड–१९ परीक्षणका लागि खुला गर्न सुझाव दिएका छन् ।

 

ओलीले बुधबार बालुवाटारमा बोलाएर कोरोना नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा विभिन्न क्षेत्रमा व्यक्तिहरूसँग करिब ४ घन्टा परामर्श गरेका थिए । बैंठकमा अधिकांशले अहिलेको लकडाउनको स्वरूपलाई परिवर्तन गर्नुका साथै परीक्षणको दायरालाई अझ बढाउँदै लानुपर्ने सुझाव दिएको बताइएको छ । 

 

बैंठकमा ड.भगवान् कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरु पीताम्बर शर्मा, स्वर्णिम वाग्ले, शंकर शर्मालगायत अर्थशास्त्री, योजनाविद्, लैंगिकविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद् र नर्सहरुसहित करिब दुई दर्जनको उपस्थिति थियो ।

 

बैठकमा स्वास्थ्यविद् डा.समीरमणि दीक्षित लगाएत अन्य सहभागीले क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्न सल्लाह दिएका थिए । स्वास्थ्यकर्मीहरूको सुरक्षाको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने उनीहरुको सुझाव थियो । 

 

विज्ञहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले महाव्याधि रोकथाम र नियन्त्रणको व्यवस्थापनमा सरकारी पक्षबाट केही कमजोर भएको स्विकार्दै त्यसलाई सुधार गर्दै लैजाने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताए ।

 

सरकारले भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्ने  र साथै अबका दिनमा गरिने निर्णयहरुमा विज्ञहरुले दिएको सुझावलाई ध्यानमा राखेर कामहरु अघि बढाउने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको थापाले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार