• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक : सभापति देउवा 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ ।

 

कांग्रेस संसदीय दलले आज विज्ञप्ति मार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ ।

 

सरकारलाई वर्तमान समयप्रति गम्भीर बन्न माग गर्दै लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्यांकन गरेर काम गर्न पनि सभापति शेरबहादुर देउवाद्वारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ । 

 

कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने र गर्न सकिने निर्णयका लागि सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ ।

 

व्यापक पीसीआर परिक्षण गरेर साना–ठूला ब्यवसाय क्रमशः सञ्चालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसँग नदेखिएको, व्यावसायिक क्षेत्रका चुनौतीलाई सहज बनाउन

 

सरोकारवालाहरूसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्नतर्फ सरकारको ध्यान नगएको विज्ञप्तिमा उल्लेख छ । लकडाउन जारी रहेकै बेला कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार नभएर दायित्व र संवेदनाविहीन रहेको पुष्टि भएको कांग्रेसको दाबी छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार