• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

जेठ ३२ अघि नै लकडाउन खुकुलो बनाइँदै

काठमाडौं ।  जेठ ३२ अघि नै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने सरकारले तयारी गरेको छ ।

 

स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइनेछ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउनेछन् । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । तर, आवतजावत कोरोना भाइरसको संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र गर्न दिइनेछ ।

 

त्यस्तै यसअघि खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ ।

 

अब उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा तयार गरी मंगलबार नै सरकारलाई प्रस्ताव गरिने स्रोतले जानकारी दियो । जेठ ३२ अघिनै काठमाडौं लगायत पहाडी र हिमाली जिल्लाहरुमा लकडाउन खुकुलो बनाएर सावधानीपूर्वक जनतालाई नियमित गतिविधिमा फर्काउनेबारे छलफल भईरहेको छ ।

 

काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने तर सामाजिक दुरी अनुसार नयाँ मापदण्ड तयार गरेर त्यसलाई पनि खुकुलो बनाउने तयारी छ ।

 

भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइनेछ । तर, भारतबाट प्रवेश गरेपछि १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । सिमानाकामा सेना परिचालन गरिनेछ । १६ असारसम्म हवाई सेवा बन्द नै रहनेछ भने विस्तारै आन्तरिक हवाई सेवा सञ्चालनमा जनइएको छ  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार