• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

आर्थिक गणनाको तेस्रो भाग सार्वजनिक

काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले आर्थिक गणना २०७५ को राष्ट्रिय प्रतिवेदनको तेस्रो भाग आज सार्वजनिक गरेको छ । 

 

विभागले विभिन्न गणना, सर्वेक्षणहरू तथा अन्य स्रोतबाट तथ्याङ्कहरू सङ्कलन गरी यसका नतिजाहरू प्रयोगकर्ता समक्ष पुर्‍याउँदै आएको सन्दर्भमा सोमबार आर्थिक गणनाको तेस्रो भाग सार्वजनिक गरिएको जनाएको छ । विभागले २०७५ वैशाख १ देखि जेठ ३१ गतेसम्म प्रथम राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क सङ्कलन गरेको थियो । 
 

भरपर्दो र विश्वसनीय तथ्याङ्कका आधारमा देशको समृद्धिका कार्यक्रम तर्जुमा तथा सञ्चालन हुनुपर्दछ भन्ने मान्यताका साथ मुलुकको आर्थिक वृद्धिलाई मजबुत तुल्याउनका लागि दिगो रूपमा आर्थिक क्षेत्रमा अध्ययन गरिएको विभागको भनाइ छ । 

 

विभागका अनुसारका नेपालमा सञ्चालन भएका वा क्रियाशील कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत्, ग्यास तथा वातानुकूलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप, निर्माणस थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मतलगायतका विषय समेटिएको छ । 

 

यस्तै यातायात तथा गोदाम, आवास सुविधा तथा खाना, खाजा व्यवस्थाका क्रियाकलाप, सूचना तथा सञ्चार, वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, घरजग्गा कारोवार, पेशागत, वैज्ञानिक तथा प्राविधिक,  प्रशासनिक तथा सहयोगी,  शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्य, कला, मनोरञ्जन तथा मनोविनोद समेटिएको छ । 

 

विभागले सो गणनामा सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान व्यवसायलाई गणनामा समेटेको छ । ती व्यवसाय तथा क्रियाकलाप  सञ्चालन गर्ने प्रतिष्ठानको ठेगाना, मुख्य क्रियाकलाप, रोजगारी, औसत मासिक बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलबज्याला खर्च, पुँजी लगानी, ऋणमा पहुँच आदिसम्बन्धी विवरणहरू सङ्कलन गरिएको छ । 

 

सरकारको आफ्नै स्रोत साधनमा राष्ट्रिय आर्थिक गणना २०७५ का कार्यक्रम सञ्चालन गरिएको क्षमता विकासका लागि जापान अन्तरराष्ट्रिय सहयोग नियोगको प्राविधिक सहयोग रहेको थियो । गणनाको नतिजा चरणबद्घ रुपमा प्रकाशन गर्ने लक्ष्यअनुरूप प्रतिवेदनको प्रथम भागका तीनवटा खण्ड र प्रदेशस्तरीय नतिजाहरु समेटिएको सात वटा प्रतिवेदन प्रकाशित भइसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार