• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

बीओपीमा भारतीयद्वारा आक्रमण प्रयास

सर्लाही । जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । आइतबार विष्णु गाउँपालिका–५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) मा उनीहरुले आक्रमणको प्रयास गर्दा सशस्त्र प्रहरीले गोली चलाएको छ ।

 

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमण गरी हतियारसमेत खोस्ने प्रयास भएपछि तत्काल हवाईफायर गरेको सशस्त्र प्रहरीका एक प्रहरी अधिकृतले बताएका छन् । 

 

जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थमा खटिएको सशस्त्र प्रहरीको टोलीले एक राउण्ड हवाईफायर गरेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए ।

 

भारतबाट अवैध सामान लिएर नेपालतर्फ आउन खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै गाउँलेलाई बोलाएर आएपछि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमणमा उत्रिएका थिए । 

 

झण्डै ४० जनाको समूहमा आएका उनीहरुले बिओपीमा आक्रमणको प्रयाससहित हतियार नै खोस्न खोजेपछि तत्काल फायर गर्न बाध्य भएको सशस्त्र प्रहरी जनाएको छ । आइतबार बिहान घटना भएको र अहिले त्यस क्षेत्रको अवस्था शान्तिपूर्ण रहेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार