• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
पत्रपत्रिका

‘नबु ,मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ....'

काठमाडौं । जाजरकोटबाट बेहुली लिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८,सोती गाउँ गएका १९ जनामध्ये पाँचजना आफैँ पनि सकुशल फर्कन सकेनन् । तर, जिउँदो नफर्के पनि भेरी नदीले बगाएर उनीहरूको लाशलाई आफ्नै जिल्ला जाजरकोट नै पुर्याइदियो ।

 

लाशको पोष्टमोर्टम जाजरकोटको जिल्ला अस्पताल र सदगत समेत जाजरकोट मै पर्ने भेरी नदीको तीरमा भयो । उता बेहुली बन्न तयार सत्र बर्षकी किशोरी भने बाबू आमासङ्गै यतिबेला पूर्वी रुकुमको प्रहरी हिरासतमा छिन् !

 

पाशविक र आपराधिक घटनाको वास्तविकता विस्तारै सार्वजनिक हुँदैछ । चौरजहारीस्थित घरमा रहेकी ठकुरीकी छोरी र बिक थरकी हुनेवाला बुहारीले शनिबार हुनेवाला आफ्ना दुलाहा नवराजलाई आफूलाई लिएर जान बोलाएकी थिइन् ।

 

युवतीले पठाएको म्यासेजमा आफू गर्भवती भएकाले एक्लै होइन, हुल बाँधेर लिन आउन नवराजलाई अह्राएकी थिइन् ।  आफू एक्लै आउँछु भन्ने प्रेमीलाई होइन, साथीहरू सहित लिन आऊ भन्ने किशोरीले केटाहरु बीचबाटो नपुग्दै आफ्नो मोबाइल अफ गरेर सम्पर्कबिहिन भैदिइन् ।

 

केटाहरू केटीको घर नजिकै पुगेपछि अकस्मात् ढुंगामुढा हुन थाल्यो । घटनामा बाँचेका एकजना युवक भन्छन्– ‘केटीकी आमा र गाउँलेले हल्ला गर्दै लखेटेपछि आफूहरू ज्यान जोगाउन भेरीमा हाम्फाल्यौं । नदीको एउटा भँगालो तरिसक्दा पनि लखेट्दै ढुंगामुढा गर्न रोकिएन । त्यसपछि हामी तितरबितर भयौं ।’

 

बल्लबल्ल ज्यान जोगाएकाहरूले साँझतिर साथीहरूको खोजी गर्न थाले । घटनास्थलभन्दा केही टाढा एकजनाको लाश फेला परेपछि बल्ल उनीहरूलाई अरु पाँच जना पनि हराइरहेको थाहा भयो । सबै भेरीमै हेलिएको आशंकामा खोज्दैजाँदा हिजोसम्म पाँच वटा शव फेला परेको छ । हिजो फेला परेको शव झण्डै ४० किलोमिटर टाढा पुगेको थियो ।

 

उता जाजरकोटमा मृतकमध्ये तीनजनाको शव पोष्टमोर्टम गरेर जलाइ सकिएको छ । तर,मेडिकल रिपोर्ट भने अझै आएको छैन । सम्भवतः उच्च राजनीतिक दबाबका कारण रिपोर्टमा ढिलाई भएको आशंका गरिएको छ ।

 

अनौपचारिक रूपमा बताइएअनुसार सबैको टाउकोमा गहिरो चोट र शरीरभरी नीलडाम देखिएको छ । यसले कुटपिट र ढुंगामुढापछि उनीहरूलाई भेरीमा फालिएको आशँकालाई बल मिल्छ । यस्तो चरम यातना दिएर मान्छे मार्नेसम्मको हर्कत गरेका आरोपितहरूलाई कुन कानुनबमोजिम कारबाही होला ? जनआस्था साप्ताहिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार