• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

महामारीको त्रासबाट जोगिने सहर कसरी बनाउने

काठमाडौं । विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण सहरहरूमा तीव्र रूपमा बिस्तार भयो। यसले भविष्यमा बनाइने सहरको योजनाबारे फरक ढङ्गले सोच्नुपर्ने देखाएको छ। कोरोनाभाइरसको महामारीले गर्दा हाम्रो संसार घरभित्रै खुम्चिएको छ।

 

अमेरिकाको न्यूयोर्कस्थित द कुपर युनियनमा आर्किटेक्चरकी सहप्राध्यापक लिडिया क्यालिपोलिटीका अनुसार आधुनिक युगको सहरको कल्पना यस्तो महामारीको सामना गर्ने कुरालाई ध्यानमा राखेर बनाइएको थिएन।

 

उनी भन्छिन्,'सहरहरूअन्तर्राष्ट्रिय रूपमा जोडिएका थिए। दशौँ लाख मानिसहरू काम गर्थे, घुम्थे, नाच्ने-गाउने गर्थे, पिउँथे र एक अर्कालाई अङ्गालो हाल्थे। तर विश्व फेरिएको देखिएको छ।'

 

विश्वले २१ औं शताब्दीमा सार्स, मार्स, इबोला, बर्ड फ्लू, स्वाइन फ्लू र अहिले कोभिड-१९ बेहोरेको छ। यदि हामी महामारीको युगमा प्रवेश गरेको हो भने भोलिको सहरको स्वरूप कस्तो हुनुपर्ला, जसले गर्दा बाहिरको संसार सुनसान नहोस् र सुरक्षित तथा मानव स्वभाव मैत्री होस्।

 

विज्ञान पत्रकार तथा फिभर एन्ड प्यान्डेमिककी लेखक सोनिया शाह भन्छिन्,'सहरमा बस्नु आफ्नो आयु घटाउनु हो भन्ने मान्यता थियो।' औद्योगिक क्रान्तिका दौरान सहरहरूको व्यापक बृद्धिले बाटोहरू प्रदुषित गर्ने भूमिका निर्वाह गर्‍यो। खासगरी लण्डन र न्यूयोर्कका स्थानहरू ती सङ्क्रमणको जोखिम बने।

 

सहरहरू बढ्दै गएपछि टाइफोइड र हैजाको महामारी मुख्य जनस्वास्थ्य समस्या बन्न पुगे। त्यसले ढल जस्तो नयाँ सरसफाइ प्रणालीको विकासको निम्ति प्रेरित गर्‍यो। पछिल्ला वर्षहरूमा सहरी योजनामा स्वास्थ्यलाई महत्त्व दिने क्रम बढ्यो।

 

सेन्टर फर अर्बन डिजाइन एन्ड मेन्टल हेल्थकी निर्देशक लायला मक्केय भन्छिन्, 'हामीले सहरी योजना बनाउँदा स्वास्थ्य केन्द्रलाई ध्यानमा राखेर बनाउनु पर्छ। त्यसको आधारमा सहरी योजनालाई मान्यता दिइनुपर्छ।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार