• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

संसदबाट अनुमोदन नभएसम्म एमसीसीका कार्यक्रम रोक्ने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेकपा सचिवालय बैठकले एमसीसी परियोजना संसदमा विचाराधीन रहेकोले त्यसको अनुमोदन नहुँदासम्म त्यस अन्तर्गतका कामहरू रोक्ने निर्णय गरेको छ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालय बैठकपछि प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने निर्णय भएको जानकारी दिए।

 

सचिवालय सदस्य बाहेक स्थायी कमिटी सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडा पनि आमन्त्रित बैठकमा बजेटमा अनुसूचीमा रहेको वैदेशिक सहयोगको स्रोतमा उल्लेखित एमसीसी विचाराधीन विषय रहेको हुनाले संसद्मा हुने निर्णयबमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पार्ने सहमति भएको बैठकपछि पार्टीका प्रवक्ता श्रेष्ठले बताए।

 

संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री एवं पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रत्युत्तर बमोजिम बजेटमा भाषा स्पष्ट गरिने उनको भनाई थियो ।

 

बैठकमा हाल परियोजनाका लागि भइरहेका कामको सम्बन्धमा अनुमोदन पछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने र एमसिसीका बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने पनि निर्णय भएको छ ।

 

एमसीसीबारे नेकपाले गत माघमा सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा बनाएको कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्ने निर्णय पनि गरिएको छ। यथास्थितिमा एमसिसी लागू गर्न नहुने उक्त कार्यदलको सुझाव छ ।

 

प्रतिवेदन अध्ययन गरेर अर्को बैठक गर्ने र निर्णयमा पुग्ने निर्णय भएको पनि उनले बताए । एमसिसी समावेश भएकैले बजेट अनुमोदन हुनबाट नरोकिने संकेत गर्दै श्रेष्ठले बजेट आफ्नो प्रक्रिया अनुसार अनुमोदन हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार