• बुधबार ३-३१-२०७७/Wednesday 07-15-2020
रंगमञ्च

फेरि फर्किनेछ नाटकको दिन

सुकृत नेपाल, काठमाडौं । कोरोना भाइरसबाट फैलिएको कोभिड–१९ को महामारीले अहिले देश आक्रान्त छ । दिन प्रतिदिन भयावह रुपमा रुपान्तर भइरहेको अवस्थाले मुलुकको हरेक क्षेत्रमा अन्योल र त्रास फैलिनु आश्चर्यको कुरा भएन । व्यापार, उद्योग र जीवनयापनमा परेको असर रङ्गमञ्चको क्षेत्रमा पनि चुनौतीको रुपमा उभिएको छ । कम्तिमा पनि अबको दश/बाह्र महिना थिएटरमा नाटक मञ्चन हुन र नियमित दर्शकहरुको त्यसमा सहभागिता हुन मुश्किल देखिन्छ । 

 

यस्तो अवस्थाले सिमीत र निश्चित आयश्रोत भएका अधिकांश रंगकर्मीहरुलाई अन्योल र बेचैनीको संघारमा पुर्‍याइदिएको छ । पुरानै अवस्थामा जिन्दगी फर्किन्छ, मानिसले कोभिड १९ मा विजय हासिल गर्छ भन्ने विश्वास छ, तर पुरानै अवस्थामा विश्व फर्किएपनि लामो समयसम्म स्थिति सामान्य हुने कुरामा विश्वस्त हुन गाहारो छ। रंगकर्मी सुनिल पोखरेल भन्छन्, ‘अहिले सोच्ने बेला हो, पछाडि र अगाडी हेर्ने बेला हो । रंगमञ्चको भविष्य के हुन्छ वा यसले कुन मोड लिन्छ भनेर अहिले भन्न सकिने अवस्था छैन ।’ लकडाउन र महामारीको टुंगो लागिसकेपछि मात्र रंगमञ्च नियतिबारे थाहा हुने उनको  विचार छ । त्यसैले रंगकर्मीहरुले नाटकको मात्र भर नपरेर जीवनयापनको अर्को विकल्प खोज्नु पर्ने हुन्छ । उनले भने, ‘हामीले सामाजिक दुरी कायम गरेर रंगमञ्च शुरु गर्यौं भने पनि मान्छे हेर्न आउँछन् भन्ने कुनै ग्यारेन्टी हुँदैन ।’ उनको अनुसार रंगमञ्च पुरानै गतिमा फर्किन समय लाग्नेछ । 

 

केही नाट्कर्मीहरुको शील्प र कर्मले जेनतेन चलिरहेको नेपाली रङ्मञ्च कुनै चमत्कारले मात्रै इच्छित स्वरुपमा पुग्नेछ । जहाँसम्म चुनौतीका कुराहरु छन्, चुनौती एउटा मात्र छैन । तर, टड्कारो देखिएको चुनौती भनेको रङ्गमञ्चमा फेरि जीवन कसरी फर्काउने भन्ने हो । कमसेकम एक वर्षसम्म थियटरमा चहलपहल ल्याउन खोज्नु वा हुनु स्वाभाविक हुनेछैन भन्छन् नेपाली थियटरलाई नजिकबाट नियाल्ने साहित्यकार विप्लव प्रतीक । उनी भन्दै थिए, ‘हाम्रो जस्तो मुलुकमा नाट्यकर्मीहरुको जीवन भल्नरेबल थियो, छ र हुनेछ । कुरा यत्ति हो कि महामारी अघि मन भुलाउने बाटाहरु थिए, गुजारा चलिरहेको थियो । एउटा सपनामा थिए सबैजना । अहिले महामारीका कारण त्यो सपना टुटेको छ । यस्तो अवस्थामा लड्नुपर्ने या भनुँ जीवनमा संघर्ष गर्नु पर्ने आ–आफैँले हो । जिम्मेवार नाट्यकर्मीहरुले सामुहिक रुपमा एकापसलाई कसरी सहारा दिने भन्ने कुनै उपाय ल्याउनेछन् भन्ने मेरो विश्वास छ ।’ उनको अनुसार साहित्य, सङ्गीत, सिनेमा र कलाका विविध पक्षहरु समेटिएको कम्यूनको स्वरुपमा जानु एउटा विकल्प हुनेछ । उनी भन्छन्, ‘तर, जिन्दगीमा विकल्प सँधै एउटा मात्रै हुँदैन । त्यसैले यसबाहेक पनि थुप्रै विकल्प आउनेछन् । र, अहिले चिन्ता होइन, थियटरबारे चिन्तन गर्ने समय छ ।’

 

अहिलेको चुनौती भनेको नै कसरी रगंमञ्चीय गतिविधिलाई जारी राख्ने र रंगकर्मीहरुलाई कसरी एन्गेज गराउने भन्ने रहेको धारणा नाट्यशिल्पी अनुप बरालको छ । उनको अनुसार यो नेपालको मात्र होइन, आइसोलेसनले विश्वको रगमंञ्चमा पारेको असरको परिणाम हो । उनी भन्छन्, ‘रंगमञ्च नचल्दा दर्शक र रंगकर्मी दुबैलाई प्रभाव परेको छ । तर, हामीले के बुझौँ भने मान्छे नरहला, जीवनधारा कहिले पनि समाप्त हुँदैन, कल्पना कहिले पनि रोकिँदैन र रचनाशीलताले जस्तोसुकै विकट स्थितिमा पनि आफ्नो आकार बनाउँदछ ।’ 

 

कोरोना प्रकोप रहुन्जेल रंगमञ्चको गतिविधि सोसल नेटवर्कको माध्यमबाट पनि अगाडि बढाउन सकिन्छ। पुराना नाटकहरुको भिडियो अपलोड गर्ने वा सामाजिक दूरी कायम गरेर एकालापमा आधारित नाटकहरु लाइभ स्ट्रिमिङ गर्ने वा नाटक÷कला÷साहित्य या सङ्गीतबारे गम्भीर बहसहरु चलाउने जस्ता अभियानहरु पनि नेपाली थियटरलाई जगाइराख्ने माध्यम हुनसक्छन् । आइसोलेसनमा बसेका व्यक्तिहरु नै यसको दर्शक हुनेछ भने उनीहरु बसेका ठाउँले नै प्रेक्षालयको काम गर्नेछ ।

 

रंगमञ्चले मानव सभ्यतासँग तादाम्यता राख्छ । मानव अस्तित्व नै धरापमा परेको यो समय विश्व रंगमञ्चको अवस्था पनि सोही स्थितिमा छ । संसारभरिको बिभिन्न चिन्तन र अभ्यासले बनेको नाटकको धुकधुकी यतिखेर रोकिएको छ । अभ्यास बन्द हुनु भनेको रंगमञ्च जिउंदो नरहनु हो । तर कलाकार र तिनका चिन्तनहरु जागृत छन् । रंगकर्मी राजन खतिवडाले भने , ‘शायद अब कथा र कथा भन्ने तरीका बदलिन्छ होला । तर, थियटरको विकल्प थियटर नै हुनेछ । जून मञ्चन बिना यो जिवित रहेको मान्न सकिन्न । मञ्च, कलाकार र दर्शक बिना नाटकको अस्तित्व पनि रहन्न ।’ खतिवडाका अनुसार नाटक समुहमा आवद्ध कलाकारहरु सबै स्वतन्त्र हुन् । नाचघर र संगीत नाट्य एकेडेमीका कलाकारहरुलाई बाहेक नियमित तलब कसैको आउन्न, न सरकारको अनुदानै आउँछ । त्यसैले कलाकारहरु आफ्नो जीवनसँगसँगै नाटकलाई कसरी जोगाउन सकिन्छ भन्नेमा चिन्तनमा छन् । उनी भन्छन्, ‘विभिन्न काल खण्डमा नाटक अस्ताउँदै उदाउँदै आएको हो । यसको स्वरुप, नाटकघरको संरचना बद्लेला तर, नाटक, मानवसभ्यता रहुञ्जेल रहिरहनेछ । हुनसक्छ रोबोटिक प्लेहरुले स्थान बनाउलान् । तर, अन्ततः ज्यूँदा मान्छेहरु नै नाटकको सुत्रधार हुनेछन् । त्यतिञ्जेल हामीले आफूलाई जोगाउने हो र कसरी एकअर्काका निम्ति उपयोगी हुने भन्ने कुरामा चिन्तन गर्ने हो ।’ 

 

अब रंगमञ्च कसरी फर्किन्छ ? ठ्याक्कै भन्न नसकिने भन्छन् रंगकर्मी घिमीरे युवराज  । केही समय कुर्नु बहेक अरु समाधान नदेखेकोे उनको भनाई थियो । अहिले मानसिक र शारीरिक रुपमा स्वस्थ रहने प्रयास छ । सकारात्मक हुने प्रयास । उनी भन्छन्, ‘हामी थिएटरसम्म जान सक्ने स्थितिको प्रतिक्षामा छौं । अहिलेको बिकल्प भनेको आफुलाई सुरक्षित बनाएर राख्ने नै हो । लामो समयसम्म थिएटरसम्म जान सकिएन भने अरु बिकल्प खोज्नु पर्ला ।’ रंगमञ्च नचल्दा दर्शकलाई मात्र नभएर पुरा रंगकर्मलाई नै ठुलो असर गर्ने उनको चिन्ता छ । 


अहिले रंगमञ्च मात्र नभएर सबै क्षेत्र पहिलेकै अवस्थामा फर्कनका लागि पहिलेकै जस्तो सामान्य अवस्था फर्कनु जरुरी छ । समाज सामान्य अवस्थामा नफर्कुन्जेल अरु सामान्य हुने कुरा पनि हुँदैन । रंगकर्मी निशा पोखरेल भन्छिन, ‘यस्तै अवस्था रहने हो भने हामीले रंगमञ्चको बिकल्प खोज्नुपर्ने हुन्छ । दर्शकलाई नै नाटक देखाउने अवस्था नभएपछि कसरी रंगमञ्च चल्छ । सामाजिक दुरी बनाएर नाटक देखाउने कुरा सम्भव छैन । बरु भर्चुअल नाटकको माध्यम मार्फत प्रस्तुत गर्न सकिन्छ ।’ 

 

अहिले अवस्थामा सबैभन्दा ठूलो कुरा मानवको स्वास्थ्य नै हो । रंगकर्मी र रंगमञ्च अर्को पक्ष दर्शकसँग जोडिएको पेशाकर्म भएका हुनाले दर्शकको स्वास्थ्यको झनै ख्याल राख्नुपर्ने हुन्छ । रंगकर्मी केदार श्रेष्ठ भन्छन्, ‘अब यो समस्या कहिलेसम्म चल्छ भन्ने यकिन छैन । त्यसमाथि कोरोना भाइरस संसारमा सँधैभरी पनि रहिरहन सक्छ भन्ने जस्तो कुरो विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ । त्यसैले अब सबैले आफ्नो दैनिक जीवनयापनमा ख्याल गर्नुपर्ने र शारिरिक प्रतिरक्षा क्षमता वृद्धि गर्न, ध्यान, योग, कसरतसँगै खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । हामी छौं त रंगमञ्च हुन्छ हामी नै भएनौं भने रंगमञ्च कसरी हुन्छ ।’ 

 

नाटकको भविष्य के हुन्छ ? नाटकमै निर्भर रंगकर्मीहरुको भविष्य के हुन्छ ? यसमा लगानी भएको अमूल्य समय र राशि के बालुवामा पानी हाले सरह नैे होला त ? बडो अन्योलको यस्तो अवस्थामा संवेदनशील रंगकर्मीहरु आश मारेका छैनन् । उनीहरुको हौसला मरेको छैन । आउने दिनमा नाट्यकर्म कसरी अगाडि बडाउने भन्ने कुरालाई नाटकघरका संचालकहरूसँग बिशेष रूपमा छलफल भईरहेको खबर सुनाउँछिन् रंगकर्मी सरिता गिरी । उनी थप्छिन्, ‘यो बिश्वव्यापी महामारीको चपेटोमा सम्पूर्ण विश्व नै परेको हुनाले हामी कोही पनि हतोत्साही हुनुहुँदैन । आफ्नो मनोबल बढाउँ, एकले अर्कोलाई सहयोग गरुँ, यस्तो दिन अब बल्ल शुरु भएको छ ।’ 

 

अहिलेको अबस्थामा सबैभन्दा बढी मार कसलाई परेको छ भन्ने कुरामा बहस गर्न सकिन्छ । तर, कलाक्षेत्र अरुझैँ उपेक्षित छ– यो स्वीकार्न सकिन्छ । कुनै सँस्थामा आबद्ध नभई स्वतन्त्र कलाकारिता गर्नेलाई झनै गाह्रो छ । धेरै विषयमा उदासीन सरकार यस बिषयमा पनि उदासीनै छ र यस सम्बन्धी सँस्थाहरु पनि । यो क्षेत्र भनेकै ज्यालादारी नोकरी जस्तै हो । तर, अहिले रङ्गकर्मी क्वारेन्टाइनमा मात्रै छन्, रंगकर्म छोडिहालेका छैनन, त्यसैले रङ्गकर्मी रङ्गमन्चमा फर्कन गाह्रो नभएको विचार छ रंगकर्मी कमलमणि नेपालको । उनी भन्छन्, ‘महामारीको समस्या जटिल हुँदै गएको खण्डमा यो पेशा गर्न नसकिने अवस्था आयो भने यसको बिकल्प खोज्न पर्ने हुन्छ । अहिलेको अवस्थामा दर्शकलाई आफ्नै तरिकाको असर परेको होला, तर रंगकर्मीहरुलाई कम असर परेको छैन ।’ 

 

नाटक प्रत्यक्ष रुपमा मञ्चबाट मञ्चन गर्ने माध्यम भएको हुनाले दर्शक जम्मा पारेर फेरी नाटकलाई पुरानै अवश्थामा ल्याउन गाह्रो नै छ । त्यो अन्योल सबै रंगकर्मीहरुमा समान रुपले परेको छ । रंगकर्मी अकांक्षा कार्की अहिले रंगमञ्चलाई कसरी फर्काउने भन्ने कुरा अन्यौलमा नै रहेको ठान्छिन् । रंगमञ्च सबैभन्दा अन्तिममा संचालन हुने क्षेत्र पनि हुनसक्ने उनको भनाई छ । नाटक देखाउने भनेको दर्शकलाई हो र नाटक गर्ने भनेको कलाकारहरुले हो । यी दुबै कुरा हामीसँग भएन भने हामीले कसरी रंगमञ्च चलाउन सक्छौं । उनी भन्छिन्,‘हामीले योजना बनाएर सामाजिक दुरी कायम गरेर नाटक प्रशिक्षण र केही आर्थिक भार नपर्ने नाटक मञ्चन गर्न सक्छौं तर यो पनि महामारी र लकडाउन केही खुकुलो भएको बेलामा ।’  

 

रंगमञ्च भनेको एक्लैले गर्र्ने कुरा होइन। यो मान्छेहरुबीच रहेर मान्छेहरुका लागि प्रस्तुत गरिने माध्यम हो । यही कुरामा सहमत रंगकर्मी अशेष मल्ल चिन्तित हुँदै भन्छन्, ‘हाम्रा प्रायः रंगकर्मीहरु निम्न–मध्यम आयश्रोत भएका छन् र उनीहरुले जसोतसो आफनो जीविका धानिरहनु भएको छ । अब रंगमञ्चबाट आम्दानी नहुने भएपछि तत्कालका लागि भएपनि कुनै विकल्प खोज्नुपर्ने देखिन्छ । यसले दर्शकलाई धेरै नै असर पारेको छ । अहिले झन नाटक प्रति दर्शक मोह बढेको बेला यस्तो अवस्था आयो ।’ 

 

जसरी भूकम्प–नाकाबन्दी जस्ता विपतहरु आए, हामीले भोग्यौँ, सह्यौँ र टर्‍यो । त्यसैगरी आजको सङ्कट पनि टर्ला । तर, भोलिको रङ्गमञ्च हिजोकै स्वरुपमा हुनेछैन । यसले नयाँ आयाम खोज्नेछ र जीवनको नयाँ दृष्टिकोण उत्खनन् गर्नेछ । द शो विल गो अन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार