• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

लकडाउनले बिद्यालय बन्द : अबको हाम्रो बाटो कता ?

कृतिका त्रिपाठी

कृतिका त्रिपाठी, काठमाडौं । आजको २१ औं शताब्दीमा मानिसको आवश्यकता अब गाँस, बास, र कपासमा मात्र सिमित रहेन । मानिसहरु सासलाई खास बनाउन चाहन्छन र हर सासलाई खास बनाउन उसलाई ज्ञान चाहिन्छ । यो त्यहि ज्ञान दिने र लिने प्रक्रिया नै शिक्षा हो । हामीले बिभिन्न प्रकारले शिक्षा हासिल गर्न सक्छौं । ती मध्य आजको बिश्व व्यवस्थासँग भित्रिएको उत्तर आधुनिकताको उपच नै अनलाइन शिक्षा हो । इन्टरनेटको प्रयोग मार्फत आदानप्रदान गरिने यस अनलाइन शिक्षा आजको आवश्यकता भएको छ ।  


अनलाइन शिक्षा विश्वका बिकसित राष्ट्रहरुमा व्याप्त भईसकेको भएपनि नेपालमा भने इन्टरनेटमा रहेको कम पहुँच र यसको आवश्यकता बोधबारे सचेतनाको अभावले भर्खरै बामे सर्न थालेको देखिन्छ । पछिल्लो समय कोरोनाको महामारीसँगै भएको लकडाउनले यसको भरपुर आवश्यकता बोध गराएको छ । आज सबैको ध्यान अनलाइन सपिङ्,अनलाइन व्यवसाय, अनलाइन आर्थिक कारोबार, अनलाइन मनोरञ्जन, अनलाइन खेल हुँदै अनलाइन शिक्षासम्म आइपुगेको छ । आज मानिस अनलाइन मार्फत आफना बिचार, चेतना, प्रसार गर्न अग्रसर छ । अनलाइन शिक्षा हामीलाई छिटो भन्दा छिटो संसार चिनाउन चाहिएको छ । यो सारा विश्वलाई नै एउटा साझा महाविद्यालय र हामी यसका बिद्यार्थी बन्नका लागि अनलाइन शिक्षा चाहिएको हो । 


नेपाल बिकासको गति समाउन खोज्दै गरेको देश हो । सुचना, प्रबिधिका क्षेत्रमा हामी अग्रसर हुन नसकिएको अबस्थामा अनलाइन शिक्षा संम्पन्नहरुको पहुँचमा रहेकालाई भएको जस्तो देखिएता पनि राज्यले समग्रह मानिसमा यसको पहुँच पुर्‍याउन यथासीघ्र काम गर्नुपर्ने देखिन्छ ।यदि अनलाइन शिक्षा देशका हर कुना कन्दरामा पुर्‍याउन सक्ने हो भने हुम्लाको नरबहादुर बुढाले बुढानीलकण्ठ स्कुलको शिक्षा सजिलै हासिल गर्न सक्छ। यसरी प्रतिस्पर्धात्मक आजको युगमा मेचीदेखि महाकालीसम्मका बिद्यार्थीलाई एउटा तहमा ल्याउन सकिन्छ । राष्ट्रिय एकताका लागी समता र समानताका लागि अनलाइन शिक्षा आवश्यक बोध गर्नपर्ने बेला भएको छ । यदि यहाँ अनलाइन शिक्षाको राम्रो ब्यवस्था हुन्थ्यो भने आज उच्च शिक्षाको निम्ति अमेरिका गएको छोराछोरी तो महामारीसँग लडेर घर फर्केर आउला कि न आउला भनि बाबुआमा रुदै बस्नु पर्ने थिएन । रास्ट्र बिकासका मेरुदण्ड मानिने युवा शक्तिलाइ अस्ट्रेलिया पठाउने होइन बरु अस्ट्रेलियाको पढाइ यहिबाट पढ्न मिल्ने बनाउनु आजको जल्दोबल्दो आवश्यकता भएको छ । गौरवशाली इतिहास बोकेको नेपालीलाई कुवाको भ्यागुतो बन्न सुहाउँदैन । तसर्थ फराकिलो दृष्टिकोणबाट चेतनाको क्षितिजलाई अझ फराकिलो पार्न हामीलाई अनलाइन शिक्षा चाहिएको छ। त्यति मात्र नभई, अनलाइन शिक्षा बातावरण मैत्रीशिक्षा पनि हो । यसका माध्यमबाट हामीले अनलाइन मै किताब पढ्ने, परिक्षा दिने, जस्ता गतिविधिले कागज र यात्रा गर्न गाडीको कम प्रयोग हुने हुदा प्रदूषण नियन्त्रणमा टेवा दिन्छ । तसर्थ एकतिरबाट सोच्दा अनलाइन शिक्षाले बातावरण स्वच्छ रोक्न पनि सहयोग गर्छ ।


वास्तवमा अनलाइन शिक्षा आधुनिक सभ्यताको परिचय मात्र पनि होइन । शैक्षिक क्रान्तिको कुसल क्षेप्यास्त्र यो अनलाइन शिक्षा। अनलाइन शिक्षा अबलम्बन गर्नेहरुले आफ्नो देशलाई बिकासको नयाँ युगमा पुराएको कुरा सबैको माझमा छर्लङ्ग भएको कुरा हो । यस्तो शिक्षाको नविनतम बिधि अनुपयुक्त छ भन्ने भनाइ किमार्थ सहि हुन् सक्दैन । आज सुचना तथा प्रबिधि मन्त्रालयको ध्यान अनलाइन शिक्षातर्फ जानु पर्ने देखिन्छ । इन्टरनेट सस्तो र भरपर्दो बनाउन सक्यो भने मात्र पनि हरेक बर्ष सरकारले किताब कापी सबै ठाउमा पुराउन सकेन भन्ने आरोप खेपी रहनु पर्दैन। शिक्षक वा बिधालयको संरचना पुग्न नसक्ने  ठाउमा इन्टरनेट पु¥याउन सके सबैजनाले सहज र उही गुणस्तरको शिक्षा पाउन सक्छन । 


म अहिले पोखरा सेकेण्डरी स्कुल पोखरामा अध्ययन गर्दै ज्ञानको महासागरमा डुब्न आफ्ना पाइलाहरु चाल्ने कोसिस गरिरहेकि छु । म यहि बिधिबाट नै जिबनको गन्तब्य खोज्दै छु । तर यहि बेला म र म जस्तै लाखौँ बिद्यार्थीहरुको यो यात्रालाई शंका गर्न मिल्ने गरि कोरोनाले तगारो बनि बाटो छेकेको छ । यो तोडेर अघि बढ्ने  र पठनपाठनमा खलल नपरोस भनी हरेक शिक्षा प्रेमी लागिपरेका छन । यहि गम्भीर परिस्थितिको लागि सरल उत्तर बनेर आएको छ ‘अनलाइन शिक्षा’ मेरो लागि पनि । इन्टरनेटको पहुच अनि ल्यापटप वा मोबाइल प्रयोग मार्फत म अहिले प्राय दैनिक मेरो बिद्यालयले आयोजना गरेको अनलाइन कक्षामा सहभागी भएकी छु। दुई महिना भन्दा बढीको लक डाउन अवधिमा यदि कोहि बिद्यार्थी आफ्नो पठनपाठनलाई निरन्तरता दिन पाएको छैन भने हामीले बुझ्नु पर्छ कि शिक्षा प्रणाली र ब्यबस्थापन कमजोर छ । तर त्यो कमजोरी छेक्ने माध्यम बनेर आएको छ अनलाइन शिक्षा प्रबिधि । अनि किन प्रयोग नगर्ने यो आधुनिक प्रणाली ? 


अनलाइन शिक्षा लिइरहदा मलाइ लागो कि हामीले बिद्यालय गएर हासिल गर्ने शिक्षाभन्दा कम फलदायी छैन यो प्रणाली । यसले एकातिर हाम्रो पठनपाठन अगाडी बढ्ने क्रम जारी छ भने अर्कोतर्फ आधुनिक सही प्रणाली सग पनि हामी नजिक हुँदै गएका छौं । चारदिन अघि बाट मात्र मेरो बिधालयले अनलाइन सेमिनार गरिरहेको छ – यसमा बिद्यार्थी हरुले आफुले पढिरहेका बिषयमा ३५ मिनेट बोल्ने अनि १० मिनेट प्रश्न उत्तर एबम शिक्षक प्रतिक्रिया राख्ने ब्यबस्था गरिदिएको छ । मैले पनि बिज्ञानको एक बिषयमा मेरा शिक्षक र साथीहरुको माझ अनलाइन मार्फत नै प्रस्तुति दिएको थिएँ । यस सेमिनार मार्फत मैले मेरो व्यक्तिगत बिकास र आत्माविश्वास अझ बढी निखारिएको महसुस गर्न सकेको छु । 


मलाई दुख लाग्छ कि बिज्ञान र प्रविधिले दिएको यस्तो अनुपम उपहार उपभोग गर्न हामीलाई कोरोना र लोक डाउनको त्रास चाहियो । सवारीसाधन चलाउदा हामीले साबधान तेती बेला मात्र हुने होइन जब अगाडी साबधान लेखेको हुन्छ – चालक हरबगत साबधान र सचेत हुनु पर्छ । त्यसैगरि, ज्ञान, बिज्ञान र प्रविधिको यो बरदान प्रयोग गर्न हामीले लकडाउन नै कुर्नुपर्ने थिएन । यो अनलाइन शिक्षा त हर बखत, हरपल हाम्रो लागि उपयोगी र प्रयोग गर्न लायक छ । तर अफसोच सबै म जस्तै भाग्यमानी नहुन सक्छन। मेरै साथीहरु बिद्युत, इन्टरनेट, आधुनिक सामाग्रीहरुको अभावमा यो शिक्षाबाट बन्चित छन। यसलाई सहज रुपमा हासिल गर्न सक्ने बातावरण निर्माण गर्न जरुरी छ । 


आजका दिन कुनै पनि कारणले बिद्यार्थी शिक्षाको उज्यालो बाट बन्चित हुनु हुँदैन । बढिरहको समाजको जटिल संरचनालाइ सहज बनाउन पनि अनलाइन शिक्षा आज नभई नहुने साधन भएको छ। अन्तत : यो सारा विश्वलाई नै पूर्ण इन्टरनेट क्षेत्र बनाउनु पर्ने भएको छ । यसो गर्न सकेमा मात्र  पुरै संसार ज्ञान र सभ्यताको उज्वल प्रकासले सुसोभित हुनेछ। यो विश्वलाई एउटा धागोमा बाध्न, बिश्व एकता, बिश्व समानता भित्रयाउने अनलाइन शिक्षा अब हामी हिड्ने हाम्रो बाटो बनेको छ ।

 

(लेखक पोखरा सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत हुनुहन्छ)  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार