• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

सोती घटनामा १२ पक्राउ, ८ को खोजी कार्य जारी

मुसिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन् ।

 

अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जाहेरी गरेका हुन् । पीडितले दिएको जोहेरीका आधारमा १२ जनालाई पक्राउ गरिएको र बाँकी ८ जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

 

उनका अनुसार वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ललाई पक्राउ गरिएको छ । त्यस्तै तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी र १७ वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।

 

जेठ १० गते शनिबार साँझ सोती पुगेका १८ युवाको समूहलाई गाउँलेले लखेट्दा तीन जनाको मृत्यु भएको थियो भने तीनजना अझै बेपत्ता छन् । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको शव भेरी नदीमा भेटिएको थियो । घटनमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं ४ का सञ्जु विक बेपत्ता छन् ।

 

बेपत्ता तीनै जनाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । खोजीमा सशस्त्र प्रहरीका तीन गोताखोर र सहयोगी सहित सात जनाको टोलीले भेरी नदीमा खोजी गरिरहेको प्रहरीले बताएको छ । पीडित पक्षले भने जाजरकोट प्रहरीमा उजुरी दिएका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार