• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

सलह किरा नेपालमा समेत आउन सक्ने, के छ सरकारको तयारी 

काठमाडौं । सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ ।

 

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना बढेको छ । यससँगै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो ।

 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकाले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए । उनले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरू सम्मिलित समिति गठन गरिएको बताए । 'हामीले त्यसको पूर्वतयारी पहिलो आउने कि नआउने जोखिम कति हो भनेर विश्लेषण गर्नुपर्ने हुन्छ र आएको अवस्थामा गर्नुपर्ने कामहरू त्यसको पूर्वतयारी गर्नुपर्छ । त्यसका लागि हामीले एउटा प्राविधिक समिति बनाएका छौं । त्यो प्राविधिक समितिले अहिले अध्ययन गर्दैछ ।

 

भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति हो रु आउन सक्ने सम्भावना छ भने त्यसको लागि हामीले गर्ने तयारी के–के हुन् ? त्यसका लागि विभिन्न विषादीहरूको उपलब्धताको कुरा हुनसक्छ, उपकरणहरूको कुरा हुनसक्छ ती कुरा हामीसँग छन कि छैनन् ?  पहिला त्यो के चिज हो र त्यसको उपलब्धता तथा परिचालन कसरी हुन्छ भन्नेबारे तयारी गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा नेपालमा उपलब्ध वैज्ञानिकहरू, प्राविधिकहरूको टिम बनाइएको छ,' उनले भने, 'त्यो टिमले काम सुरु गरेको छ । त्यसले गरेको कामका आधारमा मन्त्रालयले के गर्नुपर्छ त्यो तयारी गर्दै जान्छ ।'

 

सलह फट्याङ्ग्रा वर्गको कीरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह (लुकस) प्लेग दिएको छ। सलहको वैज्ञानिक नाम Schistocerca Gregaria  हो । यो समूहमा बस्छ र कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्‍याउँछ । सलह कीरा करोडौंको संख्यामा हुन्छन् । 

 

यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १५० किलोमिटरभन्दा बढी टाढासम्म पुग्न सक्छन् । यो कीरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्रासम्म आइपुगेको छ । नेपालमा पनि सुदूरपश्चिम प्रदेश र प्रदेश ५ मा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ । 

 

त्यसका लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूलाई जानकारी गराइसकेको प्रवक्ता केसीले बताए । उनले सलह कीराको नियन्त्रणका लागि विषादी प्रयोग गर्नुको विकल्प नहुने बताए । त्यसैले विषादीको उपलब्धता र त्यसको प्रयोग गर्ने उपकरणको उपलब्धताको तयारीको प्रक्रियामा मन्त्रालय लागिसकेको उनले बताए । उनले भने, 'रोकथामको कुरा के हो भने यो आइसक्यो भने ठूलो संख्यामा आउँछ । यो करोडौंको संख्यामा आउँछ । यसले एकैचोटी थुप्रै किलोमिटर क्षति गर्ने हिसाबले आउँछ । हामीसँग आइसकेको अवस्थामा विषादी प्रयोग गर्नुको विकल्प हुँदैन । विषादी पनि ठूलो मात्रामा, ठूलो क्षेत्रमा छर्नुपर्ने हुन्छ । त्यही भएर पनि यो नआओस् । आइहाल्यो भने पनि हामी त्यसका लागि विषादीको उपलब्धता, त्यसका उपकरणहरूको उपलबधताबारे तयारीको प्रक्रियामा लागिसकेका छौं ।'

 

मन्त्रालयले सलह कीराको आक्रमण र यसको जोखिम तथा रोकथामबारे सञ्चारमाध्यम मार्फत किसानहरूलाई जानकारी दिने तयारी समेत थालेको प्रवक्ता केसीले बताए। यो कीराको प्रकोप खास गरी जेठदेखि असोजसम्म हुने गर्छ । 

 

जलवायु परिवर्तन र वातावरणमा भएको सुक्खापनले सलह कीराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरूले बताउँदै आएका छन् । नेपाल लगायत संसारका सबै भू-भागमा वातावरणीय परिवर्तन हुँदा न्यानो बढेकाले यो कीराको जीवनचक्रमा पनि परिवर्तन आएको विज्ञहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार