• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

लकडाउन पछि मेरो अध्ययन

आकृति पौडेल

आकृति पौडेल , काठमाडौं । इन्टरनेट र बिद्युतीय उपकरणको माध्यमबाट पठनपाठन र अन्तरक्रिया नौलो होइन । केहि बर्षदेखि सबैले आफ्नो ल्यापटप र मोवाइलबाट बिश्वभरको ज्ञान बटुलीरहेको अवस्था छ । धेरैजना फेसबुक वा इमेलबाट एकअर्का संग अन्तरक्रिया पनि गरिरहेका थिए । तर एकाएक यो बर्ष यसले निकै ठुलो फट्को मारेको छ किनभने हालको विशेष परिस्थितिमा औपचारिक शिक्षा, कार्यक्रम र सेमिनार भर्चुअल रुपमा नै व्यापक बन्दै जानु सामान्य पनि होइन । यो क्रममा तीन महिना अघि नजानेको प्रविधी र प्रणालीसँग हामी कति चाडो अभ्यस्त भएका रहेछौं भन्ने कुराको हेक्का पनि राखेका छैनौ । 

 

भर्चुअल सेमिनार भन्नाले इन्टरनेट प्रविधी र विद्युतीय उपकरणबाट छलफल गर्ने कार्यलाइ भनिन्छ । यसलाई वेभनार पनि भनिन्छ किनकि यस किसिमको छलफलमा विभिन्न वेभ एप्सहरु प्रयोग गरी धेरै जनाबीच एकैचोटी अन्तरक्रिया गर्ने र निर्णयमा पुग्न सकिन्छ ।  विद्युतीय उपकरणको प्रयोगबाट हामिले घरमा बसी बसी शिक्षा आदानप्रदान गर्न सक्छौ भने संसारको जुनसुकै कार्यक्रममा हामी सजिलै उपस्थित हुन सक्छौं । म मेरो घर पोखरा बसी अमेरिकाको सेमिनारमा सहभागी भएको तत्कालै अस्ट्रेलियाको कार्यक्रममा सहभागी हुन सक्छु । यसले मेरो लागि सम्भावनाका धेरै ढोका खोलिदिएको छ । 

 

सन २०२० को आगमनसंगै कोरोना भाइरसले विश्वव्यापी रूपमा माहामरीको रूप लिदै संसारका ठुला, विकसित र सम्पन्न देखि साना र विकासोन्मुख देशहरु यो महामारीको चपेटामा परेका छन्। नेपालमा पनि यो रोगको सङ्क्रमण फैलिएको हुनाले सामाजिक दुरी कायम गर्न जरुरी भयो त्यसैकारण नेपालमा पनि लकडाउन  गर्नुपर्ने अवस्था आयो । कक्षा १० को अन्तिम परीक्षा सुरु हुन १ दिन र कक्षा १२ को अन्तिम परीक्षालाई १ महिना मात्र बाकिँ थियो । कक्षा १० र १२ को मात्र नभइ कक्षा ११ तथा स्नातक र स्नातकोत्तर डिग्रीका‌ परीक्षा पनि नजिक थिए । म जस्तै सबै विद्यार्थी जाँचको तयारीमा जुटेका थियौ‌ तर महामारीको कारण लकडाउन जरुरी भएकाले जाँच स्थगित भयो । यसरी एक्कासि स्थगित भएको हुनाले सबै विद्यार्थी निराश भएका थिए साथै लम्बिदै गरेको लक डाउनले कतै पढेको भुलिन्छ कि भन्ने चिन्ता पनि थपिदिएको थियो । 

 

त्यस अवस्थामा पठन पाठन जारी राख्न अन्य मेरो बिद्यालय पोखरा सेकेण्डरी स्कुलले अनलाइन (भर्चुअल) रिभिजन कक्षा सन्चालन गर्यो । कोर्स सकिएको अवस्थामा कक्षा ११ र १२ दुवै परीक्षाको तयारीमा थियौं । तर बिद्यालयले हाम्रो लागि सोचेर अनलाइन कक्षा राखिदिँदा पढ्न झन् मन लागेर आयो । लामो लकडाउनको यो अवस्थामा कक्षा कोठामा जस्तै पढाइलाई निरन्तरता दिन पाउँदा म मात्र होइन मेरो परिवार पनि दंग छ । त्यस पछी म दैनिक दुई देखि तिनवटा विषयको कक्षामा सहभागी हुदा आफ्नो शिक्षक र साथीहरुसग पुन: भेट्न पाएँ । महत्वपूर्ण पाठ दोहोराएर पढ्न पाउँदा पढ्ने जोश आएको छ । नजानेको बिषयमा बिशेष काम गरिरहेको छु ।  

 

एक महिनाको रिभिजन कक्षापछि विद्यार्थीको मनोबल र क्षमता बृदी गर्न अहिले पोखरा सेकेण्डरी स्कुलले  भर्चुअल सेमिनारको आयोजना गरेको छ । यस सेमिनारमा हामी विद्यार्थीले आफूले चाहेको विषयमा आफ्नो विचार तथा आफुलाइ कोर्स कुन हिसाबले पढ्दा सजिलो लाग्छ भन्ने विचार प्रस्तुत गर्न सक्छौं । सेमिनारको पहिलो दिन (जेठ १२ गते) मैले यस सेमिनारमा 'पावरप्वाइन्ट' को‌ मद्दतबाट आफ्नो प्रस्तुति दिएकि थिएँ। । यस प्रस्तुतिको तयारी देखि प्रस्तुत गर्ने क्रम सम्मको मेरो अनुभव ज्यादै राम्रो रहेको छ । यसले मेरो मनोबल बढेको छ । त्यसै गरी मेरो विद्युतीय उपकरणसंग सम्बन्धित सिपको बिकास पनि गरेको छ ।

 

 

यस प्रस्तुतिको तयारी गर्ने क्रममा मैले त्यस विषय सम्बन्धित धेरै कुरा सिक्न पाएकी छु ।त्यसै गरी मेरो प्रसतुतिको प्रति मेरा शिक्षक तथा साथीले दिनु भएको प्रतिक्रियाले मेरो‌‌ आत्मबल अझै बलियो बनाएको महसुस गरेकी छु । यस्तो प्रकारका कार्यले शिक्षक तथा विद्यार्थीहरुलाई प्रविधिसंग सहज हुन र सिङ्गो समाज प्राविधिक मैत्री हुन योगदान पुग्दछ भन्ने लाग्दछ । भर्चुअल सेमिनारले पठनपाठनको प्रक्रियालाइ रोचक बनाएको छ । कक्षा कोठामा मात्र सीमित नभई आफूलाई सहज हुने ठाउँमा बसी, आफूलाई सहज हुने समयमा पढ्न पाएका हुनाले अघ्ययन प्रक्रिया चाखलाग्दो भएको मेरो अनुभव छ ।

 

भर्चुअल सेमिनार तथा पठनपाठन निकै उपयोगी हुने भए पनि यसका केही सीमितता छन्। नेपालमा सबैजना संग सस्तो र सुविधासम्पन्न इन्टरनेट प्रविधी तथा विद्युतीय उपकरणको पहुँच छैन, त्यसैले यस्ता अनलाइन कक्षा र सेमिनारको प्रभावकारी कार्यान्वयन गर्न सहज छैन । यस कारण मेरा धेरै साथीहरु यो अवसरबाट बन्चित भएका छन। त्यसै गरी एउटै परिवारमा धेरै संख्यामा पठनपाठन गर्ने सदस्य हुँदा सबै जनालाई विद्युतीय उपकरणको व्यवस्था गर्न मध्यम वर्ग परिवारको लागी कठिन हुन्छ। परम्परागत कक्षा कोठामा पढ्दै आएका हुनाले यस भर्चुअल कक्षामा पढ्न केहिलाई असहज लाग्न पनि सक्छ भने शिक्षकलाई पनि यसमा अभ्यस्त हुन् सजिलो छैन ।

 

भर्चुअल कक्षाको सन्चालन गर्नको लागी चाहिने सम्बन्धित जुम, गुगल मिट जस्ता सफ्टवेयरको आफ्नै देशमा विकास नभएको हुनाले पढ्नका लागी उच्च शुल्क तिर्नु पर्दछ र तिरेको शुल्क पनि विदेशमा जाने गर्दछ । त्यस्तै प्रयोगका लागि आवश्यक ज्ञान, सीपको पनि विस्तार गर्न जरूरी छ । सबै तहबाट नै सजह रुपमा अन लाइन कक्षा भएको खण्डमा बिस्तारै सबैको पहुचमा अनलाइन कक्षा हुन सक्छ ।  तर पनि केहि नहुनु भन्दा केहि न केहि हुनु राम्रो हो । यस लक्डाउनलाइ फलदायी बनाउन भर्चुअल कक्षा र सेमिनारको सन्चालन उपयुक्त नै हुनसक्छ भन्ने मेरो ठम्याइ छ ।

 

अन्त्यमा भर्चुअल कक्षाको सन्चालन गरियो भने यसले नेपालको विकास तथा शिक्षालाई‌ गुणस्तर बनाउने छ । यसका लागी सरकारलाई‌ नेपालमा प्रविधिको अभाव भएका ठाउँहरूमा विशेष ध्यान पुर्‍याउन पर्ने हुन्छ । यसो गर्न सके भौगोलिक रुपमा कठिन ठाउका बिद्यार्थी सहर झर्नु पर्दैन। उनीहरुले अनलाइन कक्षाबाट राजधानी वा सहरको बिद्यालयको सुबिधा लिन सक्छन । साथै प्रविधिबाट बन्चित मानिसहरूलाई सम्बन्धित शिक्षा प्रदान गर्न र पर्याप्त कुशल जनशक्तिलाई सम्बन्धित सफ्टवयरको विकास गर्न आर्थिक तथा मनोबैज्ञानिक प्रोत्साहन गर्न पनि अहिले को आबश्यकता देखिन्छ। यसो गर्न सकेमा मेरो बिधालयले गरेको जस्तो भर्चुअल सेमिनारले  म जस्तै धेरै युवालाई लकडाउनको बेला संजीवनी बुटीको काम गर्ने छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार