• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
रंगमञ्च

‘दुर्गन्धित पोखरीमा कमल मात्र सुगन्धित हुन सक्दैन’

रंगमञ्चको स्थिती र यसको चुनौती कस्तो देख्नुहुन्छ ?
रङगमञ्चको स्थिति नाजुक थियो र नाजुक नै रहनेछ । केही गम्भीर नाट्यकर्मीहरुको शील्प र कर्मले जेनतेन चलिरहेको नेपाली रङ्मञ्च कुनै चमत्कारले मात्रै इच्छित स्वरुपमा पुग्नेछ । दुर्गन्धित पोखरीमा कमल मात्र सुगन्धित हुन सक्दैन । जहाँसम्म चुनौतीका कुराहरु छन्, चुनौती एउटा मात्र छैन । तर, टड्कारो देखिएको चुनौती भनेको रङ्गमञ्चमा फेरि जीवन कसरी फर्काउने भन्ने हो । कमसेकम अर्को वर्षसम्म थियटरमा चहलपहल ल्याउन खोज्नु वा हुनु स्वाभाविक हुनेछैन र सजिलो पनि ।

 

रंगमञ्च कसरी बौरिन्छ त ? 
माथि नै भनेँ नि । सबैले मिलेर एउटा सामुहिक उपाय खोज्नु पर्ने हुन्छ । लहडबाजीमा कुनै निर्णय लिएर त्यसले सोचेको परिणाम आउनेवाला छैन । गम्भीर र जिम्मेवार नाट्यकर्मीहरुबीच बहस र चिन्तनपछि कुनै उत्तम उपाय अवश्य निस्कनेछ । मलाई नेपाली थियटरमा हार्मोनीको चाह छ, अहिलेको अवस्थाबाट पार पाउन त्यही सामञ्जस्य र सहकार्य नै चाहिन्छ, त्यसको विकल्प छैन ।  

 

रंगकर्मीले आफुलाई सहज अवस्थामा फर्काउन कस्तो बाटो अपनाउनु पर्ला ?
दुईवटा कुरा देख्छु म । एउटा सामुहिक योजना अन्तर्गत फिर्ती हुनेछ, अर्को व्यक्तिपिच्छे पहल हुनेछ । र, थिएटर फेरि बौरिनेछ, त्यसमा कुनै शङ्का छैन । तर, यो तरिका अपनाएर नै बौरिन्छ भनेर अहिले नै भन्नु स्वैरकल्पना मात्र हुनेछ ।  

 

नाटकघरहरुको संरचना कस्तो हुनेछ ? के सोच्नुभएको छ ?
आउने दिनहरुमा केवल नाटक देखाउने थलोमात्र नभई कलाका विभिन्न पक्ष अटाउने या भनुँ साहित्य, सङ्गीत, सिनेमा र कलाका विविध पक्षहरु समेटिएको कम्यूनको स्वरुपमा जानु एउटा विकल्प हुनेछ । र, विकल्प सँधै एउटा मात्रै हुँदैन जिन्दगीमा । त्यसैले यसबाहेक पनि थुप्रै विकल्प आउनेछन् । र, फेरि दोहो¥याउँछु– यस्तो नै हुन्छ भनेर ठोकुवा गर्ने समय अहिले आईसकेको छैन । चिन्ता होइन, अहिले थियटरबारे चिन्तन गर्ने समय छ ।  

 

यही अवस्थामा एउटा स्वतन्त्र कलाकारको जीवन कसरी चल्छ ? सबै बन्द नै छन् ? खुल्ने केही छाँटकाँट देखिन्न । आम्दानीको बाटो पनि बन्द छ ? के भन्नुहुन्छ ?
हाम्रो जस्तो मुलुकमा नाट्यकर्मीहरुको जीवन भल्नरेबल थियो, छ र हुनेछ । कुरा यत्ति हो कि महामारी अघि मन भुलाउने बाटाहरु थिए, गुजारा चलिरहेको थियो । एउटा सपनामा थिए सबैजना । अहिले महामारीका कारण त्यो सपना टुटेको छ । यस्तो अवस्थामा लड्नुपर्ने या भनुँ जीवनमा संघर्ष गर्नुपर्ने आ–आफैँले हो । जिम्मेवार नाट्यकर्मीहरुले सामुहिक रुपमा एकापसलाई कसरी सहारा दिने भन्ने कुनै उपाय ल्याउनेछन् भन्ने विश्वास छ मेरो । म आफैँ पनि सोचिरहेछु । कलासाधनामा लागेकाहरु हाम्रो जीवनको बेडा कसैले पार लगाईदेला भन्ने आशमा बस्दैनन्, बस्नुहुन्न । संकटको घडीमा आफ्नो भर आफैँ बन्न सक्नुपर्छ । सहानुभूति र कसैको दयाको आश सच्चा कलाकारले गर्दैनन् । कसैलाई कुनै समस्या परे साथी कलाकारले सघाउनेछन् भन्ने कुरामा म विश्वस्त छु ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार