• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

दुई महिनापछि भारतमा उडान सुरु, विमानस्थलमा ठूलो भिड

नयाँ दिल्ली । भारतमा दुई महिनापछि पहिलो पटक हवाई यातायात पुन : सञ्चालन हुँदा सोमवार विमानस्थलहरूमा ठूलो भिड लागेको छ।

 

देशभरि झन्डै १०० वटा उडान स्थगित भए पनि अरू सबै निर्धारित समयमै उडे। कोरोना भाइरसबाट अति प्रभावित महाराष्ट्र राज्यले एक दिनमा ५० वटा उडानलाई मात्र अनुमति दिने भनेपछि केही उडानहरू स्थगित भएका हुन्।

 

यात्रीहरूले आफूलाई समयमै सूचना नदिइएको भन्दै आक्रोश व्यक्त गरे। हाम्रो उडान स्थगित भयो तर सहायता कक्षमा हामीलाई उत्तर दिने कोही छैन। अब के गर्ने हामीलाई थाहा छैन,' चेन्नईका एक यात्रीले समाचारसंस्था एएनआईलाई बताए।

 

उनका अनुसार मार्च १५ देखि उनी सपरिवार चेन्नईमा अड्किएका थिए र मुम्बई फर्किन विमानको टिकट किनेका थिए। तर उनले विमानस्थल पुगेपछि मात्र उडान स्थगित भएको थाहा पाए।

 

केही यात्रीहरूले सामाजिक सञ्जालमा राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले आफूलाई सूचना नदिएको र उडान तालिका पनि भद्रगोल भएको भन्दै गुनासो गरेका छन् । अरूले विमानस्थल प्रवेश गर्न लामो पङ्क्तिमा घण्टौँ बसेपछि बल्ल आफ्नो विमान नउड्ने थाहा पाएको उल्लेख गरेका छन्।

 

भारतले उडान पुन : सञ्चालन गर्नु अघि रोग रोकथाम गर्ने उपाय अवलम्बन गरेको छ। सुरक्षाकर्मीहरूले सबै यात्रुको ज्वरो नाप्ने र सरकारले बनाएको आरोग्य सेतु नामक कोभिड-१९ ट्र्याकिङ एप आफ्नो फोनमा डाउनलोड गरे नगरेको जाँच्ने गरेका छन्। त्यसबाहेक यात्रुका जुत्ता र झोला तथा अन्य सामान पनि निस्सङ्क्रमण गर्ने गरिएको छ।

 

भारतमा १,३९,००० जनाभन्दा बढीमा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये ४,००० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ। देशमा गत मार्च २५ देखि लकडाउन लागेको भए पनि प्रतिबन्धहरू बिस्तारै खुकुलो पार्ने प्रयासमा भारत छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार