• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

क्‍वारेन्टाइनबाटै भाग्न थाले संक्रमित

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनबाट शुक्रबार १३ जना संक्रमित भागेका छन् । संक्रमण पुष्टि भएको खबर सुनेसगै उनीहरू भागेका हुन् । कोही भागेर रुखमा चढेर लुकेका थिए भने कोही कुलोमा गएर सुतेका थिए ।

 

स्थानीयका अनुसार केही व्यक्ति दशगजाको खाल्डोमा गएर बसेका थिए । छिटो आइसोलेसन सेन्टरमा पुर्‍याउनु पर्ने संक्रमित भागेको खबरले जिल्लाभरिकै अवस्था तनावपूर्ण बनेको थियो। संक्रमित भगाउन परिवार र स्थानीय एकजुट भएका थिए । प्रहरीका अनुसार आसपासका गरेर एक हजारभन्दा बढी स्थानीय व्यक्ति क्वारेन्टाइन घेर्न पुगेका थिए ।

 

उनीहरूले शुक्रबार साँझ नेपालगन्जबाट संक्रमितलाई लिन पुगेको एम्बुलेन्स पनि घेराउ गरेका थिए । स्थानीयले सुरक्षाकर्मीसँग विवाद गर्न थालेपछि संक्रमित भाग्न सफल भएका थिए । रातभरि सम्पर्कविहीन भएका संक्रमितको खोजीका लागि नेपालगन्जबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिबार बिहान मात्र उनीहरू भेटिए । यसअघि मंगलबार नरैनापुरका ५७ जना कोरोना संक्रमितले नेपालगन्जस्थित आइसोलेसन सेन्टरमा आउन मानेका थिएनन् । त्यसबेला पनि संक्रमित रहेको क्वारेन्टाइन वरिपरि करिब पाँच सय स्थानीय जम्मा भएर नेपालगन्ज लैजान नपाउने अडान राख्दै विरोधमा उत्रिएका थिए । जसका कारण संक्रमित २४ घण्टा क्वारेन्टाइनमै बसे । परिवारले घर लैजाने अडान राखेपछि सुरक्षाकर्मीले क्वारेन्टाइन घेरा हालेर बस्नु परेको थियो । शनिबार यही गाउँपालिकामा २७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूलाई ल्याउँदा तनाव हुने देखेर सुरक्षा सतर्कता अपनाइएको छ ।

 

नरैनापुरका संक्रमितहरू उपचार गराउन छोडेर क्वारेन्टाइनबाट भाग्नुमा अनेक कारण छन् । ‘कोरोना संक्रमित व्यक्तिहरू मानसिक रूपमा तनावमा छन् । परिवारका सदस्य क्वारेन्टाइन पुगेर रुन्छन् । यहीं उपचार होस् भन्ने चाहन्छन् । स्थानीय भावनामा बगेर विरोधमा उत्रिन्छन्,’ गाउँपालिकाका अगुवा युवा विनय दीक्षितले भने, ‘गाउँमा भ्रम पनि फैलिएको छ । नेपालगन्ज लगेपछि खान दिइन्न । कोठामा थुनेर राखिन्छ । किड्नी पनि झिक्न सक्ने भन्दै अनावश्यक अफवाह फैलाइएको छ ।’

 

उनका अनुसार संक्रमित व्यक्तिलाई ल्याउन एम्बुलेन्स पुगेपछि परिवारका सदस्यहरु क्वारेन्टाइन छेउछाउ पुुगेर रोइकराइ गर्छन्। स्थानीयको भीड लाग्छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई अवरोध पुग्छ । स्थानीयले नरैनापुरमै आइसोलेसन नबनाएसम्म संक्रमितलाई लैजान नदिने अडान दोहोर्‍याउँदै आएका छन् । तर, उक्त पालिकामा बिजुलीबत्ती छैन। प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनाको एमबीबीएस डाक्टरको दरबन्दी भए पनि अहेब र नर्सहरूका भरमा स्वास्थ्य संस्था चलेको छ ।

 

नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले स्थानीय स्तरमै आइसोलेसन वार्ड नबनाएसम्म समस्या समाधान नहुने बताए । ‘पालिकामै आइसोलेसन वार्ड बनाइएको भए परिवारले टाढैबाट भए पनि देख्न र कुराकानी गर्न पाउँथे । उनीहरूको मन बुझ्थ्यो,’ उनले भने, ‘नेपालगन्ज लैजाँदा विवाद भइरहेको छ । आइसुलेसन वार्ड बनाएको भए संक्रमित व्यक्ति भाग्ने दिन आउने थिएन ।’ कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार