• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
विचार

कागजी नक्सा मात्र होइन प्रम ज्यु,जमिन पनि फिर्ता गर्नुहोस् !

काठमाडौं । लिम्पीयाधुरा, लिपुलेक, कालापानी समेतलाई समावेश गरि नेपालले आफ्नो नक्सा सार्वजनिक गरेको छ । नक्सा सार्वजनिक भएसंगै देश बिदेशमा तरंग उत्पन्न भएको छ । भारतीय केहि संचार माध्यमले त चीनको आडमा नेपालले यस्तो काम गरेको भन्दै चर्को आलोचना समेत गरेका छन ।

 

धेरै पहिले नै नेपालको उक्त भूमिमा भारतले सडक बिस्तार गर्दै आएको थियो । भारतले चीनको स्वशासित क्षेत्र तीब्बतको मानसरोवर जोड्ने सडकको ट्रयाक खोलेको छ भने भारतका रक्षामन्त्रीले दिल्लीबाटै उद्घाटन समेत गरिसकेका छन । उक्त सिमा बिवादलाई नेपालले कूटनीतिक माध्यमबाट वार्ता गर्ने धरै पहल गर्दै आएपनि भारतले ढिलाई गर्दै आएको थियो । भारतले ढिला गरेपछि नेपालले नक्सा सार्वजनिक गरेको हो ।

 

उक्त स्थानहरुमा मात्र होइन देशका दर्जनौं स्थानमा भारतले हस्तक्षेप गरेको छ । यहि जेठ ६ गते नेपालको संघीय संसदको रोस्ट्रमबाट प्रधानमन्त्रीले तथ्य र प्रमाणका आधारमा कूटनीतिक संवादका माध्यमबाट संवाद गर्दै समस्या समाधान गर्न भारतलाई आह्रवान गरेका छन । उनले संसदमा गरेको आह्रवानलाई लिएर सम्पूर्ण नेपालीले साथ दिने बचन व्यक्त गरेका छन भने कतिपयले यसलाई कागजमा मात्रै सिमीत नगरेर देशको मिचिएको  भूमि फिर्ता गर्ने जोड दिएका छन । प्रधानमन्त्रीले तथ्य र प्रमाणका आधारमा कूटनीतिक संवादका माध्यमबाट नेपालको भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने बताउँदै गर्दा नेपाली काग्रेस नेतृ रिता खनालले नतिजामूखी बनाउनु पर्ने बताउँदै आएकी छन । संसदबाट प्रधानमन्त्रीले भारतलाई गरेको आह्रवान प्रति नेतृ खनालको यो अभिव्यक्ति :

 

कसै–कसैको बुई चढेर होइन बिशुद्ध राष्ट्रवादी बनौ । राष्ट्रियता नागरिकको पहिचान हो, त्यसमाथीको थिचोमिचो कसैलाई सैय हुँदैन तर खोइ कस्तो दुर्भाग्य तमाम नेपालीले आफ्नो मतबाट मलाई शासन गर । मेरो देशको राष्ट्रियताको रक्षा गर भनेर आफनो बिवेक र अधिकारलाई बलियो र संगठित, शक्ति र राज्यसत्ता सुम्पिन्छन् तर तीनैले मतदाताहरुलाई आफ्नै मत र बिश्वासले धोका दिन्छन । यो सन्दर्भ हो नेपाल भारत सिमा बिवादको, आफ्नै देशका अभिभावक प्रधानमन्त्रीले सार्वभौमसत्ता सम्पन्न संसदमा उभिएर बोलेका अभिव्यक्तिलाई आँखा चिम्लेर बिश्वास गर्न सकिन्न । नम्र भाषामा बोलेर थरर डराए एजेन्ट जस्तो लाग्ने कडकेर छुद्र र कटु बोले अर्को शक्ति राष्ट्रसँग अडेस नलागी यी बाणी यसै फुरेका छैनन जस्तो लाग्छ । सबैजसोको मुखमा कहि न कही कुनै न कुनै छिमेकी शक्तिराष्ट्रको कठपुतली नबनी कोही शिर्ष राजकीय पदासीन भएकै छैन । कही नपसी कोही शक्तिशाली नेता भएकै छैनन । कही नपस्ने बिशुद्ध राष्ट्रबादीलाई नेता बन्न नै दिदैनन् ।  कोहि भारतीय भाषा बोलछन् कोहि चाइनाको भाषा । यहि छ प्राय सबैजसो नागरिकहरुको राष्ट्रिय र आमबुझाई ।  राष्ट्रियता प्राण भन्दा प्यारो हुन्छ । आफ्नो देशको जमिन बलियो छ रे अथवा तीनका देशसँग किनेर खानुपर्छ अथवा आयात मा परनिर्भर छ भन्दैमा एक इन्चपनि आफ्नो भुमि हेपिएर पेलिएर छोडन सक्दैसकिन्न । तर उग्ररास्ट्रवादको भुमरीमा मुलुकलाई धसाउनु भन्दा उच्चस्तरीय कुटनीतिक दवाब कम हानिकारक अवश्य हुनेछ । 

 

यो भोगाइ र सिकाइले यो दुनियाँलाई सिकाएको शास्वत सत्य हो ।  छुद्र  र नमिठो भाषामा भन्दा भारतको हेपाहा र बिस्तारबादी चरित्रलाई अन्तराष्ट्रियकरण तीर लाग्ने हो भने आफूभन्दा कम बिकसित देश जो तेस्रो मुलूकसंग सिधै जोडिन सक्दैन । त्यही छिमेकी भुमिको प्रयोग गर्नुपर्छ त्यस्ता प्रकृतिका देश माथीको थिचोमिचो शक्ति सम्पन्न हुनुको दम्भमा मनपरी गर्न पाइन्न । यस्तै सानाठुला, बिकसित अल्पबिकसित अबिकसित सबैखाले देशहरुको आत्मसम्मान र सिमा बचाउँ तथा सबैखाले हितलाई ध्यानमा राखेर नै संयुक्त राष्ट्रसंघको निर्माण भएको छ र नेपाल पनि एक स्वतन्त्र राष्ट्रको रुपमा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित बिश्व्यापी घोषणा पत्रमा संकल्प र प्रतिबद्धता गरेको छ । 

 

भारतले पनि कुनैपनि छिमेकी देशको राष्ट्रियतालाई अक्षुण राख्नेछु भनेर त्यही आधार र संकल्पलाई टेकेर किन नेपाल कुटनीतिक आचरणको मार्ग अवलम्बन नगरी सिधै मुठभेड गरिहाल्ने जस्तो रुखो बोली बोल्छ ।  हो, बिश्वास र अबिश्वासको संकट यहि पैदा हुनपुग्छ । नेपाल सिधै संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतले भारतको जर्बजस्ती र बिस्तारवादी चरित्रलाई अन्तराष्ट्रियकरण गर्ने निर्णय गरेर भारतमाथी सिधै कुटनीतिक दवाब हुने मार्ग प्रशस्त किन गर्दैन ? भारत जतिको शक्तिसम्पन्न राष्ट्रलाई अन्तराष्ट्रिय बेइज्जती बढी पेचिलो बन्न सक्छ । भारतको सदियौं देखिको मिचाह प्रवृती देख्दा कुन नेपालीको रगत उम्लिदैन र तर आफ्नो सम्पूर्ण आत्मनिर्भरता नभएको देशको प्रधानमन्त्रीले संसदमा बोल्दा जुन शब्द प्रयोग गरे त्यो उनको गरिमा सुहाउँदो थिएन । कुटनीतिक भाषा पनि होइन । अति भटकिलो र उग्र रुखो भाषा जहिले पनि प्रत्युत्पादक नै हुन्छ । उत्ताउलो राष्ट्रवादसंग अनगिन्ती अबिश्वासहरु स्वत अनुत्तरित हुन पुग्दछ । 

 

यसैपनि दुईबर्ष यता प्रम ओलीको राज्य संचालन सर्वत्र आलोचित र बदनाम त छँदैछ । त्यसमाथी पनि केही दिन पहिले मात्र आफ्नै पार्टीभित्रको असन्तुष्ट र अन्तरकलहले बिभाजनको सङ्हारमा पुगिसकेको ओलीको पार्टी र कुर्सी बचाउनका लागि चाइनीज राजदूतको बाक्लो चलखेल नेकपाका शीर्ष नेताहरुको बिचमा पनि देखिएको हो । 

 

नेपालको जारी नक्शा कागजी घोडो ओली सरकारको बचाउको लागि नेपाली जनताको ध्यान अन्तै केन्द्रित गर्ने धेय नबनोस । राष्ट्रियताको सवालमा सबै नेपाली नागरिक र राजनीति पार्टी तपाईको साथमा छ प्रम ज्यु ! तर खोइ किन हो कुन्नी मेरो अन्तरआत्मा तपाईको राष्ट्रवादी शब्दहरु प्रति बिश्वस्त छँदैछैन । 

 

नेपालको कागजी नक्सा मात्र होइन जमिन फिर्ता गर्नुस सधै सलाम गर्नेछु तर प्रम ज्यु शुसानका नाममा तपाईको यो करिब  दुई वर्षे सर्वशक्तिमान प्रम भएर जुन कुशासनको धडधडी मच्चाउनु भयो त्यो कदापी क्षेम्य छैन । तपाईको छुद्र शब्द उच्चारण, अधिनायकवादी चरित्र, भ्रष्टहरुको संरक्षण । संबैधानिक मनपरी ब्यबिचारी र स्वेच्छाचारी स्वभावले नेपाली नागरिकको जीवन र भविष्यमाथी बोल्ने एकथरी गर्ने अर्कैथरी । 

 

आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने स्वेच्छाचारी मनपरी चरित्र उदाङिएको छ । कोरोना कहरको यो महाब्याधीको अवस्थामा पनि नेपालभित्र सीमा नजिक र प्रदेशमा रहेका नागरिकप्रतिको गैरजिम्मेवार हर्कत र सर्वत्रको भ्रष्टाचार माथिको ठाडो संरक्षण, संविधान उलंघन, कुर्सी बचाउनका लागि सांसद खरिद बिक्रि, अपहरण, पार्टी तोडफोड सम्मको घिनलाग्दो योजना लगायतका कुकृत्य ढाकछोपको चतुर राजनीतिक दाउपेच नक्सा जारी मात्र नबनोस । एउटा रणनीतिले केहिदिन केहि समय जनता झुक्याउन सफल हुनुभयो होला । सधै त्यही चतुराई उर्वर बनिराख्दैन । 


अब आफ्नो कुर्सीलाई केन्द्र बिन्दुमा होइन देश र जनतालाई राख्नुस । भ्रष्टाचारका नामका संबैधानिक पासोहरु आफू भित्रकालाई बचाउन र आफू इतरका बिरुद्ध ठेगाना लगाउने अभियान नबनोस प्रम ज्यु ! अति भएपछी चिनीपनि तीतो हुन्छ । अति भएपछि खती हुन्छ भन्ने हेक्का  रहोस । एउटा नेपाली जनतालाई मनपर्ने दाउपेच र सय अपराध लुकाउने कुक्रित्यको खेल अब कसैलाई पाच्य र स्वीकार्य हुने छैन । आफ्ना लागि दिमागमात्र चलाउनुभन्दा नागरिकका लागि दिल र सम्वेदना चलाउनुस प्रधानमन्त्री ज्यू !
     


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार