• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
स्वास्थ्य

ज्येष्ठ नागरिकका छ प्रश्न !

काठमाडौं । म ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने व्यक्ति हुँ, लामो समय देखि यसै क्षेत्रमा काम गर्दै आइरहेको छु, कसैले मेरो कामको विषयमा जान्न बुझ्न खोज्यो भने मैले उसलाई दिने उत्तर यहि हुन्छ । म ज्येष्ठ नागरिकका विषयमा काम गर्दछु भन्ने कुरा मेरा चिनजानका मानिसहरुलाई थाहा छ । सायद लामो समय ज्येष्ठ नागरिकका क्षेत्रमा काम गरेर पनि होला ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्ने ब्यक्ति कै रुपमा अरुले चिन्दछन् भन्ने कुरा मलाई थाहा थियो । तर मेरो पहिचान नै ज्येष्ठ नागरिककर्मीको रुपमा रहेछ भन्ने कुरा मलाई थाहा थिएन । अरुले मलाइ ज्येष्ठ नागरिक अधिकारकर्मिको रुपमा हेर्छन भन्ने मलाइ थाहा थिएन ।

 

कोरोना भाइरसको महामारीले मलाई म को हुँ र मलाई अरुले कसरी चिन्छन भन्ने कुराको महशुस गराईदिएको छ । कोरोना भाइरस महामारीको रुपमा देखापर्न थालेपछिका दिनमा संस्थागत र व्यक्तिगत रुपमा मैले भोग्दै आईरहेको परिस्थितिले मलाई यस्तो महशुस गराईदियो ।मैले मेरो यो प्रसंग कोट्याउनुको अर्थको पछाडि भय र त्रासको विच जीउन कति गाह्रो हुँदोरहेछ भन्ने प्रष्ट्याउनु र उपयोगी जानकारी गराउनु हो ।


कोरोना भाइरसको शुरुवाती दिनहरुमा सचेत गर्ने गराउने काम सबैबाट भएको थियो । म पनि ज्येष्ठ नागरिकलाई सचेत गराउने, सावधानी अपनाउन प्रयोगमा आउने सामग्री वितरण गर्ने काममा संलग्न थिएँ । मेरो हर प्रयास ज्येष्ठ नागरिकहरुलाई कोरोना भाइरसका विषयमा बुझाउनु हुन्थ्यो ।

 

त्यतिखेर मलाई प्रश्न गर्ने, जिज्ञासा राख्ने धेरै कम हुन्थे । जव लकडाउन सुरु भयो ज्येष्ठ नागरिक स्वयं र उहाँहरुको परिवारले सोधेका प्रश्न र उहाँहरुले मागेको परामर्ष दिंने काममा मेरा पुरा दिन बित्न थाल्यो । गरिएका प्रश्न र दिएका उत्तर ज्येष्ठ नागरिक र उनीहरुको परिवारलाई उत्तिकेै उपयोगी हुन सक्दछ  । म सँग राखिएका धेरै प्रश्न तथा जिज्ञासाहरुलाई यहाँ प्रस्तुत गरिएको छ । 


१.कोरोना भाइरसको संंक्रमण ज्येष्ठ नागरिकमा बढी हुन्छ हो ? 
होइन, संक्रमण भएका व्यक्तिको संपर्कबाट जुनसुकै उमेरका ब्यक्तिमा सर्न सक्दछ । उमेरको कारणले हुने होइन । अहिले सम्मको तथ्याङ्क हेर्दा ३० देखि ५५ वर्ष उमेर समुहलाइ बढि संक्रमण भएको पाइन्छ । बढि सक्रिय र कामकाजीे उमेर भएर पनि हुन सक्दछ । 


२.ज्येष्ठ नागरिकलाइ संक्रमण भएमा निको हुँदैन हो ?
होइन, संक्रमणको चरण, प्राप्त स्वास्थ्य सेवा, संक्रमितको स्वास्थ्य स्थिति र आत्मवलमा भर पर्दछ । ९० देखि ११३ वर्षका संक्रमित पनि निको भएर घर फर्किएका छन् । हामी कहाँ पनि संक्रमित ज्येष्ठ नागरिक निकोेभएर घर फर्किएका छन् ।


३.रोगसंग लड्न सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुँदैन हो ?
होइन, शारीरिक अवस्था अनुसार धेरथोर हुन सक्दछ । सवै ज्येष्ठ नागरिक कमजोर हुन्छन्, रोगी हुन्छन्, उनिहरुमा गंभिर रोगलागेको हुन्छ भन्ने होइन । उनीहरुमा रोगसंग लड्न सक्ने क्षमता हुँदैन भन्ने भ्रम हो । 


४.संक्रमित ज्येष्ठ नागरिकको मृत्युदर बढि छ हो ?
हो, पहिले नै अन्य रोगले ग्रस्त स्वास्थ्य स्थितिभएका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसको संक्रमण भएमा मृत्युको थप कारण बन्न सक्दछ । कोरोना संक्रमण हुनेहरुमा मृत्यु हुने दर ३.४ प्रतिसत रहेको अनुमान विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो न्युन दर हो । हामीकहाँ अहिलेसम्म संक्रमित ज्येष्ठ नागरिकको मृत्यु भएको छैन ।


५. ज्येष्ठ नागरिकले विशेष सावधानी अपनाउनु पर्दछ हो ? 
ज्येष्ठ नागरिकले मात्र होइन, सवै उमेर समुहकाले उत्तिकै सावधानी अपनाउनु पर्दछ । विशेष गरेर गम्भिर रोग लागेका र रोगका कारण सारीरिक अवस्था कमजेर भएका जोसुकैले पनि विशेष साबधानि अपलाउनु पर्दछ ।


६.लकडाउनमा रहँदा ज्येष्ठ नगरिकमा बेचैनी बढ्छ हो ? 
ठूलो समस्या तथा घटनाका विषयमा प्राय कुराकानी हुनु स्वभाविक हुन्छ । अहिले कोरोना भाइरसको विषयमा ज्येष्ठ नागरिकहरु बढि कुराकानि गर्ने, सोच्ने गर्दछन्।अन्तहिन सोचाइले चिन्ता बढाउनु स्वभाविक हो । उनिहरुसंग सम्बन्धित फैलिएको भ्रमले थप चिन्ता बढाउन पुगेको छ । यो ज्येष्ठ नागरिक स्वयले सृजना गर्ने चिन्ता हो ।


ज्येष्ठ नागरिकलाई बढि जोखि हुन्छ भन्ने बुझाइ भएका संगैरहेका परिवारले उनिहरुसंगको शारीरिक दुरी बढि कायम गर्नु, आवस्यक भन्दा बढि सावधानि अपनाउनु वा अपनाउन लगाउनु, पारिवारीक क्रियाकलापमा बन्देज लगाउनु जस्ताकारणले चिन्ता बढाएको हुन्छ । यो परिवारका कारणले ल्याउने चिन्ता हो । 


घर कोठामा मात्र दिन विताउनु पर्ने अवस्थामा अरु उमेरकालाइ मोवाइल, इन्टरनेट, अन्य प्रविध, खेल छन् । तर ज्येष्ठ नागरिकलाई त्यस्तो प्रविधिमा पहुँच छैन या चलाउन आउदैन । यस्तो अवस्थामा उनिहरु बढि निरास हुन्छन् । एक्लिएको महसुस गर्दछन् ।


जानी वा नजानी कहीँ कतै विभेद तथा दुव्र्यवहार भएको रहेछ भने ज्येष्ठ नागरिक चिन्तित हुन पुग्दछन् । यस्तै यस्तै कारणहरुले लकडाउनमा रहेका ज्येष्ठ नागरिकहरुमा बेचैनी बढ्दछ ।    


कोरोना भाइरसका विषयमा नयाँ-नयाँ तथ्य आउँदै छ । यसको स्वरुप पहिचानमा आईनसकेको वेलामा कुनै एक तथ्यलाइ आधार मानेर धारणा बनाइ हाल्न हुदैन । यसले भ्रम पैदा गर्दछ । सुरुका दिनमा चिनमा संक्रमितको संख्यामा ज्येष्ठ नागरिक धेरै देखिएकोलाइ लिएर भ्रम फैलिन पुग्यो । विश्व स्वास्थ्य संगठनले उमेरको कारणले संक्रमण हुने होइन भनेर खण्डन गरिसकेको छ । 


सम्पर्कको लागि :pgautama2@gmail.com

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार