• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
पत्रपत्रिका

शक्तिशाली अम्पुन चक्रवात आउँदै, नेपालमा असर गर्न सक्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ ।


उहाँले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ भन्नुभयो । पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ । त्यस पछिको दुई÷तीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एक÷दुई स्थानमा भारी हिमपातसमेत हुने सम्भावना छ ।

 

यस चक्रवातले भुइँ छोएपछि भने यसको असर न्यून हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । बङ्गालको खाडीबाट आउँदै गर्दा पूर्वी नेपालको उच्च पहाडमा ठोक्किँदै यो मध्य नेपालमा झर्ने छ ।

 

उहाँका अनुसार अम्पुन चक्रवात भारतको उडिसा हुँदै प्रतिघण्टा १३ किलोमिटरको गतिमा उत्तरपश्चिमको बाटोमा अघि बढ्दै छ । उहाँले मङ्गलबार यसको गति १८० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ भन्नुभयो । भारतीय क्षेत्रमा यस चक्रवातको क्षति रोक्न पूर्व तयारी थालिएको छ । जसका लागि पश्चिम बङ्गालमा सात र उडिसामा १० वटा रक्षा टोली परिचालन भइसकेका छन् ।


पूर्व मनसुन जाँदै गर्दाको अवस्थामा नेपाल छिर्ने यस चक्रवातले अन्य मौसम प्रणालीलाई समेत सक्रिय बनाउन सक्ने मौसमविद्को अनुमान छ, जसले नेपालमा मनसुन भित्रयाउने आवश्यक वातावरण बनाउने छ । यो सँगै आउने हावाहुरी असिनापानीले जनजीवनमा थप असर गर्न सक्ने भएकाले सतर्क रहन भनिएको छ । पूर्वी पहाडी भेग हुँदै आउने भएकाले विशेषगरी पूर्वी तथा मध्य पहाडी भेगका बासिन्दाले बढी सचेत रहनुपर्ने सुुझाव मौसमविद्को छ । चाँदनी हमाल,गोरखापत्र  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार