कविता : आमाको अपमान
आमाको अपमान दोहन हुँदा निश्चिन्त बस्छौँ भने
पैसाको पदको प्रलोभ तिर नै लागेर फस्छौ भने
तिम्रो मानवता रहन्न दुनियाँ ढाँटे, बिगारे, छले
पर्छौ रौरव नामको नरकमा खान्छन् ठुँगी गिद्धले ।
दोस्रो केछ र मातृभूमि जननी भन्दा ठुलो लोकमा
जस्ले जन्म दियो र यौवन दियो हुर्काउँदै कोखमा
बिर्सी मानव धर्म कर्म जगको पस्रेर वैरी कहाँ
भारा भुल्न गएर दूधसितको को बन्छ मान्छे यहाँ ?
आफ्नो खेत गरेर दाइँ अरुले बाँधे भकारी भने
अत्याचार सहेर बस्नु कसरी आई मझेरी खने ?
पाएको अधिकार जो जमिनको बेहोसले बिर्सने
नेपालीकन भन्छ है जगतले यी आज पानीबने।
जागा बन्नुछ अस्मिता मुलुकको जोगाउने काममा
साराको मन दौडिरहेछ लिपुमा क्वै छैन विश्राममा
ताप्के नै अब तात्नुपर्छ बिँडले आगोजगायो यहाँ
उर्लेको छ अगाध राष्ट्र-ममता सम्पूर्ण नेपामा ।
माटोको उपकार गर्छ जसले त्यो वीर छोरो भनी
भन्छन् मानिसले महामनुज नै गिर्दैन कैले पनि
जागौँ त्यो बलभद्रको गरि सिको गर्जेर शेरै बनी
बालौँ दुश्मनको विरुद्ध सबले आगो यहाँ दन्दनी ।
प्रतिकृया दिनुहोस