• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
विचार

तेस्रो वर्षको पदापर्ण– एक शुभकामना

दुईवर्ष अघि सुकृत नेपालले फोन गरेर अनलाइन समाचर पत्र प्रकाशित गर्ने निर्णय खुलासा गर्दै मलाई स्तम्भकार हुन अनुरोध गरे । झन्डै चार दशक आधा पुर्व एकदिन त्यस बखतको नेपालमा स्थापीत भईसकेका बरिष्ठ पत्रकार किशोर नेपाल  र मेरो ज्वाई बन्दु थापा मिलेर ‘देशान्तर सात्ताहिक’ लाई नयाँ जीवन दिने निर्णय गरेको रहेछ । उक्त दिन किशोर जी ले मलाई आर्थिक स्तम्भकार भईदिन अनुरोध गर्नुभयो । कृषि आयोजना सेवा केन्द्र (एप्रोक्स) मा कार्यरत मेरा निमित्त यो जोखिम पूर्ण अनुरोध थियो । एप्रोक्सको जन्मदाता डा भारत प्रसाद धितालले यसलाई नेपाल राष्ट्र बैंकको छत्रछायाँ मा स्वायत्ता प्राप्त ‘प्राइभेट लिमिटेड’ को रुपमा निर्माण गर्नुभएको थियो, सरकारको कपभोजनमा नपरोस भन्नाको खातीर । देशान्तरले पुर्नजीवन पाउने प्रयास गर्दासम्म यस संस्थालाई कृषि मन्त्रीले ‘हाइज्याक’ गरिसकेका थिए । कृषि मन्त्रालय अन्र्तगत इकाईको रुपमा संचालित थियो यो ‘स्वायत्तता’ प्राप्त संस्था । कृषि मन्त्रालयको अंग हुने प्रक्रियाको बिरोध गरे बापत हामी स्थापनकाल देखिका कर्मचारीहरु व्यवस्थापनको आखाँको कसिंगर भईसकेको अवस्था थियो । पंचायत व्यवस्था उतसर्गमा भएको त्यस कालखण्डमा अखबारहरुलाई सरकारको स्थुती गान गाउँदै ‘हण्डी’ बटुल्ने अंगमा परिणत गरिदै थियो । तटस्थ बिचार राख्ने पत्रिकालाई निर्भीक भनिने गरिनथ्यो । स्वच्छ पत्रकारिता सरकार बिरोधी खेमामा राखिने गरिन्थ्यो । त्यसकारण पत्रिकाको स्तम्भकार हुनु ‘जागिरबाट हात धुनु’ सरह थियो । तै पनि मनमा रहेको बिचार तथा आक्रोश पोख्न पाउने अवसर भएको हुनाले गर्दा मैले किशोर जी को ‘अफर’ लाई सहर्ष स्वीकार गरे । हाम्रो सहमती अनुसार सरकारी निती तथा कार्यहरुको बिरोध गर्दा ‘दिनपृयदर्शी’ को नामले लेख्ने अन्यथा आफ्नै नामबाट लेख लेख्ने । किशोर जी बाट पाएको प्रेरणा ले गर्दा संयुक्त राष्ट्र संघीय शरनार्थी आयोगमा कार्यरत भएर श्रीलंकाको राजधानीमा पलायन नहुन्जेलसम्म देशान्तरमा मैले नियमित लेख लेख्ने गर्थे ।  

 

दुईदशक लामो अवधीको सेवा निर्बित हुनु अघि देखि घर आउने क्रमलाई तीब्रता दिन थाले । यहाँ आएपछि पुन किशोर जी ले मलाई नयाँ पत्रिकामा नियमित लेख्न लगाउनु भयो । इन्टरनेटको जमाना भएको हुनाले नेपाली टाइप गर्न नजाने पनि लेख्ने कार्य लाई निरन्तरता दिए । त्यस पश्चातका दिनहरुमा किशोर जी कै अनुरोध मा नागरिकमा लेख्न थाले । नागरिकको सम्पादकमा प्रतिक प्रधानको आगमन पश्चात केहि समय लेख्ने कार्य स्थगन भएको थियो । तर, देशान्तर मै मित्रता गासिएको साथी तथा भाई हरिबहादुर थापाको अनुरोधमा कान्तिपुरमा नियमित लेख्न थालेको थिए । लामो गन्थन गर्नुको पछाडि मेरो पत्रिकामा लेख्ने कार्य नभएर जसको पिताले मलाई नियमित लेखहरु लेख्नका निमित्त प्रेरणा र अवसर दिए तिनकै कनिष्ट सुपुत्रले नियमीत लेख लेख्नका निमित्त अनुरोध गर्दा म खुशी हुने नै भए । सुकृतको अनुरोधले मलाई ठुलै राहत दिएको अनुभव भयो आउँदा दिनहरुमा नियमित लेख लेख्ने ‘फोरम’ को अवसर । तीनै किशोर नेपालको कान्छो छोरोले प्रकाशन गर्ने पत्रिकामा स्तम्भकार हुने अवसर पाउँदा म हर्षबिभोर हुनु स्वभाविक थियो । 

 

बिगतमा भएका गतीबिधीहरुले आजको दिन निमत्याएको तथा आजका दिनमा गरिएका कार्यहरुले भोलीको दिन तय हुनेमा म बिश्वस्थ छु । मेरा निमित्त हाम्रो राष्ट्रमा कुनैपनि सतप्रयासले किन निरन्तरता पाउदैन ? यस प्रश्नले सधै पिरोल्दछ । छ सात सत्तावादी पुराना बिद्यालयहरु देख्ने अबसर पाएको मेरा निमित्त आफु भन्दा कान्छा बिद्यालयहरु समेत भाग्नावेश भएको पाउँदा आश्चर्य लाग्दछ । किर्तिपुरको प्रांगणमा खडा भएका संरचनाहरु देख्दा आफुले अध्ययन गरेको भवनलाई के कति कारणले भाग्नावेशमा परिणत गरिएका होलान त्यसको उत्तर खोज्न मन लाग्छ । एप्रोक्समा कार्यरत हुँदा आफ्नो पुर्व डाक्टर साहबहरु भारत प्रसाद धिताल, ठाकुर नाथ पन्त तथा राम प्रकाश यादवबाट दिघो बिकास बिषयमा प्रशिक्षित भएको हुनाले गर्दा हुन सक्दछ मेरा निमित्त कुनै सार्बजनिक रुपमा नयाँ सतकार्य  शुरुवात गरेको देख्दा साथै यो कति टिक्न सक्दछ भन्ने प्रश्नले पिरोल्दछ । आफनै जीवन कालमा धेरै संस्था तथा संरचनाहरुको कठिन उतथान तथा सहज पतन देख्ने भोग्ने अवसर पाए । शुरुवातका दिनहरु मा कठिन आर्थिक अवस्था झेलेको एप्रोक्सले अत्यन्त छोटो अवधिमा पाएको सफलताको सहभागी हुन पाएको थिए । उक्त संस्थाले जुन अवस्थामा देशका निमित्त अत्यन्त महत्वपुर्ण योगदान गर्न सक्ने थियो त्यही कालखण्डमा यसलाई पतन गरिएको घटनाले मलाई सधै सशांकित तुल्याउँछ । स्थापनाको एक दशक नपुग्दै यो संस्थाले आफ्नै कमाइले भब्य भवन निर्माण गर्न सफल भएको थियो । उच्च शिक्षा हासिल गरेका मानव श्रोतको अपुर्व भण्डार हुँदै थियो, एप्रोक्स । कृषि तथा ग्रामीण क्षेत्र बिकास नितीगत अध्ययन तथा प्रशिक्षण दिने संस्थागत क्षमता बिस्तार हुँदै थियो । एप्रोक्सको पुस्तकालय वास्तबमा डा धितालको अध्ययन श्रोत केन्द्र निर्माण गर्ने अभिलाशा पूर्ती गर्दै थियो । तर, उक्त संस्थालाई भताभुङ्ग तुल्याउन भने समय लागेन । केन्द्रको भब्य भवन तथा पुस्तकालय खण्डहरमा परिणत गरिएको छ । उदेक लाग्दछ हाल कृषि अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको उक्त भवन परिसरमा रहेको उक्त श्रोत अथवा ज्ञानको भण्डारको ढोकामा ताल्चा मारिएको छ । स्वर्गीय डा धिताल को ‘इन्सटिच्युट अफ एक्सिलेन्स’ निर्माण गर्ने कार्य उहाँको जीवन कालमै निर्मम तरिकाले मारियो ।

  

एप्रोक्स मात्र होइन कुनै दिन अत्यन्त प्रभावशाली भनेर ख्याती पाएको सेन्टर फर एडमिनिस्टट्रेसन एण्ड एकोनोमिक डेभलेपमेन्ट, त्रिभुवन बिश्व बिद्यालय परिसर, रामपुर कृषि क्यामपस, प्रशासनिक तालीम केन्द्र आदी हुन अथवा शिक्षण अस्पताल, पाटन अस्पताल देखी पोखराको मणिपाल शिक्षण अस्पताल नै किन नहुन सबैको अबस्था उस्तै छ । निर्माण गरिएका प्रतिष्ठा प्राप्त गरेका अधिकांश संस्थाहरु उभो लाग्ने भन्दा उधो लाग्ने क्रममा छन् । अधिकांस निर्माण सम्पन्न गरिएका भौतिक पुर्वाधारहरु जस्तै  सडक,  बिद्यालय, आस्पताल लगायत सरकारी कार्यालयहरु किन हो कुन्नी हामी कहाँ फस्टाउन समय लाग्ने तर कुण्ठित हुँदै भग्नावेशमा परिणत हुन भने अत्यन्त कम समय लाग्ने गर्दछन् । यस्तो वातावरणमा पत्रपत्रिकाको नियती पृथक हुने संभावना हुने प्रश्न नै आउँदैन । कुनै समय ख्याती प्राप्त गरेका पत्रपत्रिकाहरु आज छैनन जुन छन् ती रुग्ण अवस्थामा छन् ।

 

दुइवर्ष पुर्व सुकृत नेपालले अनलाइन पत्रिका संचालन गर्ने भन्दा साथै मेरो सामुन्नेमा माथी उल्लेख गरिएको थुप्रै उदहारणहरु देखापर्न थाले । एउटा नवजवान केटोले कति दिनसम्म आफ्नै पौरखमा पत्रिका संचालन गर्न सक्ला ? प्रश्नले मलाई पिरोल्न थालेको थियो । आजीवन जागीरे जीवनबाट ‘रिटायर्ड’ व्यक्ति भएको हुनाले गर्दा अखबार संचालन गर्न आवश्यक आर्थिक सहयोग जुटाउने हैसियत मेरो कहिले पनि हुन सकेन । मेरो सम्पर्कमा आफु जस्तै पेन्सनको भरमा जिविका संचालन गर्ने मित्रहरु छन् । संभावित दाता तथा लगानीकर्ताहरु संग पहुँच छैन । सुकृत का निमित्त ‘स्टार्टप’ सहयोग समेत जुटाउन आफु ‘भुत्ते’ भएको हुनाले होला देवी–सुकृत जोडीले यो पत्रिका कसरी संचालन गर्दै छन् होला भनेर खुल्दुली परिरहन्छ । उनीहरुसंग यस बिषयमा छलफल त के प्रश्न समेत गर्न सकेको छैन । इन्टरनेट चलेको हरेक दिन फ्रेसन्युज नेपाल डटकम खोल्ने आदत बसेको छ । घटदै गरेका घटनाहरु तथा नयाँ नयाँ समाचारहरु समावेश भएका तथा सान्दर्भिक लेख, कविता तथा अन्य रचनाहरु पढन पाउँदा हर्ष लाग्दछ । 

 

दिगो रुपमा फ्रेसन्युज नेपाल संचालन भईरहोस् भन्ने मेरो ठुलो चाहना छ । कोभिड–१९ संक्रमणले अनिश्चित तुल्याएको अवस्थामा तेश्रो वर्ष पदार्पण गर्न सफल हुनुको कारण देवी–सुकृत जोडी तथा यस संस्थासंग संलग्न अन्य कर्मचारी, शुभचिन्तक र पाठकहरुको जति ठुलो भूमिका छ त्यत्तिकै ठुलो भूमिका यस अनलाइन अखबारलाई जीवित रहन सहयोग गर्ने बिज्ञापनदाताहरुको छ भन्नेमा बिश्वस्थ छु । सबैको निरन्तर सहयोग भए फ्रेसन्युज नेपाल दिगो रुपमा संस्थागत हुँदै जान्छ भन्ने बिश्वास जागेको छ । यस पत्रिकालाई उन्नती पथमा अग्रसर तुल्याउँदै नागरिकको सुसुचित हुने अभिछिन्न अधिकारमा योगदान गर्न सविनय अनुरोध गर्दछु ।  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार