• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

मातृभूमिको सिमा मिचिदा छाती पोलिरहेको छ

हाम्रा पुर्खाहरुले निकै दुख र परिश्रमका साथ एकिकरण गरेर विशाल नेपाल राष्ट्रको निर्माण गरेका थिए । वडामहाराज पृथ्वीनारायण शाह, बहादुर शाह, भक्ति थापा, वलभद्र कुँवर, अमरसिँह थापा, कालु पाँडे, दामोदर पाँडे तथा कैयन् वीर सपुतहरुको सबल नेतृत्व र अदम्य साहस तथा वीरताले गर्दा नै नेपाल राष्ट्रले यति धेरै उपलब्धि हासिल गरेको थियो । तर समयको वहावसँगै यो देशको ठुलो भू-भाग फिरंगीहरुले हामीलाई युद्धमा पराजित गरेर जिते पश्चात हामी आजको सानो नेपालमा खुम्चिन पुग्यौँ भने तत्कालिन शासकहरु सुगौली सन्धिमा हस्ताक्षर गर्न वाध्य भए । तर जे जसो भएको भएपनि हाम्रा पुर्खाहरुको कारण नै आज हामी हाम्रो मातृभूमि नेपाल हो र हामी कहिल्यै कसैको उपनिवेशमा नरहेका विश्व कै २० पुराना राष्ट्रहरु मध्येको स्वतन्त्र मुलुकको नागरिक हौँ भनेर गर्व गर्न सकिरहेका छौँ । साथै राष्ट्र कवि माधवप्रसाद घिमिरेले लेख्नुभएको “पश्चिम किल्ला कांगडा, पुर्वमा टिष्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ” भन्ने गित गर्वका साथ गाउन पाइरहेका छौँ । 

 

सुगौली सन्धि पछि नेपालीहरुलाई अंग्रेजको फौजमा भर्ति खुल्यो भने वलभद्र कुँवर लगायत कैयन् विरक्तिएका फौजीहरु रणजीत सिँहको सेनामा सामेल हुन लाहोरतिर गए र वीर वलभद्रले आखिर अफगानिस्तानसँगको लडाईमा नौशेरामा विरगती प्राप्त गरे । अर्का विरक्तिएका सपुत अमरसिँह थापाले भने शान्तिको खाजीमा गोसाईकुण्डतिर गएर उतै प्राण त्यागे । दामोदर पाँडे जस्ता विरक्तिएका वीर सपुत भने आफ्नै मातृभूमि भित्रको सत्ता षडयन्त्रको जालोमा अल्झिएर काठमाडौँको भद्रकालीमा काटिए । आफ्नो देशको माटो टुक्रिएर विदेशमा मिलेपछि यस्ता वीर सपुतहरु त विरक्तिँदा रहेछन् भने हामी  तिन करोड आम देशभक्त नेपालीहरुको मन कुँढिइरहनुमा कुनै आश्चर्य छैन । त्यसमाथि जति क्षेत्रलाई आज हामी नेपाल भनेर चित्त बुझाईरहेका छौँ, त्यसमा पनि विदेशीको आँखा गढ्न थालेपछि चिन्ता र सचेतना त बढ्ने नै भयो । 

 

सुगौली सन्धि पश्चात अंग्रेजसँग मिल्न वाध्य भएको नेपालको वफादारी र फौजी सहयोगबाट खुशी भएर अंग्रेजहरुले बाँके, बर्दिया, कैलाली र कन्चनपुर यानी नयाँ मुलुक हामीलाई फिर्ता समेत गरे भने यसबाट नेपाललाई नगण्य मात्रामा भएपनि क्षतिपुर्ति भएको थियो । तर हामीले वेलायतीहरुलाई त्यतिबेला लगाएको ठुलो गुनको बदलामा फर्काइएको भनिएको त्यो भूभाग काफी थिएन । हामीले त्यो समयमा हाम्रा सबै भू-भाग फिर्ता गरिदेउ भनेर कुरा राख्ने आँट पनि गरेनौँ वा अर्को शव्दमा हामी अंग्रेजका गुलाम सरी नै भइसकेका थियौँ । नेपालको प्रधानमन्त्री भएको व्यक्ति जंगबहादुर आफै सेनाको कमाण्ड लिएर भारतको लखनउमा सिपाई विद्रोहलाई दमन गर्न गएका थिए भने वेलायतीहरुलाई रिझाउन उनैले शिकार कुटनीति पनि शुरु गरेका थिए । तर यो प्रसंग सँगसँगै यदि हामीले यी कुराहरुलाई अलिक गहिराईबाट सोच्ने हो भने त्यतिबेला जंगबहादुरले जे जस्तो सोचले यस्तो खालको चाटुकारीपुर्ण कुटनीतिलाई अपनाए, त्यसैको फलस्वरुप आजसम्म नेपाल एक स्वतन्त्र राष्ट्रको रुपमा स्थापित हुन सकिरहेको छ । भारतका ठुला ठुला रजौटाहरुले हार खाएर अंग्रेजहरुलाई भारतवर्षमा आफ्नो उपनिवेश खडा गर्न मद्दत पुर्‍याइरहेको बेलामा नेपालले मात्र अंग्रेजसँग लड्नु  बुद्धिमतापुर्ण कुरा थिएन । त्यसैले सुगौली सन्धि पश्चात एक स्वतन्त्र राष्ट्रको रुपमा आफ्नो अस्तित्व कायम राखिराख्न नेपालले खेलेको सैनिक र शिकार कुटनीति वास्तवमा नै अति उत्तम र व्यवहारिक निर्णय थियो ।

 

विश्व इतिहासकै पानाहरु पल्टाएर हेर्ने हो भने पनि जब जब शासकहरुले राज्य प्रतिको आफ्नो दायित्व बिर्सेर अहम्कार र सौख–सयल अनि मोजमज्जाको जीवनयापन गर्न थालेका हुन्छन्, तब तब उनिहरुको मुलुक कमजोर बन्दै गएको हुन्छ । मुगल साम्राज्य कै उदाहरण लिने हो भने पनि औरंगजेवको अहम्कारी स्वभाव र क्रुरपना तथा उनको प्रशासनले गैह्र मुस्लिम धर्मावलम्वीहरुलाई चरम दुख दिने गरेकाले नै उनका जनता भित्र भित्रै उनी र उनको शासनसँग निकै चिढिएका थिए । त्यस्तै भारत वर्षका प्रभावकारी तथा सम्पन्न समुदायहरु जस्तै राजपुत, मराठा, सिख, जाट, आदीलाई चिढाउन थालेकाले नै उनको मृत्यु पश्चात मुगल साम्राज्य विस्तारै संकुचित हुँदै आखिर धरासायी नै भयो । 

 

हाम्रो मुलुकमा पनि मल्ल राजाहरुको स्वर्ण शासन कालको बेलामा समेत राजा यक्ष मल्लले छोराहरुलाई राज्य नै टुक्राएर भाग लगाइदिने जस्ता गर्नै नहुने कार्यहरु गरे । त्यस्तै नेपालको एकिकरण पृथ्वीनारायण शाहले शुरु गरेर उनको मृत्यु पश्चात कान्छा छोरा बहादुर शाहको अथक परिश्रमका कारण सफल भएको हो । पृथ्वीनारायण शाहका जेठा छोरा राजा प्रतापसिंह शाहको अल्पायुमा नै मृत्यु भएको र उनी पछिका राजाहरु या त नावालक भएकाले राजमाताहरुको बोलवाला रहने गरेको अथवा उनिहरु मोजमज्जामा लिप्त भएर बस्ने गरेकाले राजकुमार बहादुर शाह पछि कुनै सक्षम शासकहरु नै निस्किएनन् त्यतिबेला । भन्ने नै हो भने शाह वंशीय राजाहरुमा पृथ्वीनारायण शाह, राजा महेन्द्र र राजा वीरेन्द्र वाहेक विचका सबै राजाहरु लहडी, सनकी र मोजमज्जामा नै लिप्त भएर बसेका थिए । बहादुर शाह र युवराज त्रैलोक्यमा भने शासकमा हुनुपर्ने गुणहरु थिए । राजा ज्ञानेन्द्रको कुरा गर्दा सायद उनको व्यापारिक पृष्ठभूमि भएको र एउटा असहज परिस्थितिमा राजा बन्न पुगेकाले होला, उनीबाट आफ्नो शासनकालमा कुनै ठोस कार्य हुन नपाएको भएपनि शान्तिपुर्ण तवरले राजदरवार र गद्दी त्याग गरेर सत्ता हस्तान्तरण गरेकाले र त्यसपछि पनि उनले जस्तै परिस्थितिको सामना गर्नु परे पनि मातृभूमि नछाड्ने अडान लिएको र आम नागरिकको हैसियतले शान्तिपुर्ण जीवनयापन गर्दै आएका तथ्यहरुले गर्दा उनि प्रशंसाका पात्र बन्न पुगेका छन् । यी शाहवंशीय राजाहरुलाई सँधै सम्झनु पर्ने कुरा चाहीँ के छ भने, यिनीहरु कसैले पनि सत्ता र राजगद्दीको निम्ति विदेशीका नाजायज र राष्ट्रघाती प्रस्तावहरुलाई स्विकार गरेनन् ।

 

वृहत नेपाल बने पछिका दिनहरुमा राजधानीका नजिकका क्षेत्रहरु र खासगरी पुर्वी नेपालमा तत्कालिन शासकहरुको राम्रो पकड भएपनि त्यतिबेलाका सुदुर पश्चिमी क्षेत्रहरुमा विकटताका कारण पनि न त सुरक्षा र सेनाको रसद र वन्दोवस्तीको राम्रो प्रवन्ध नै मिलाउन सकिएको थियो न नै त्यहाँका स्थानीय जनतासँग भिजेर बलियो प्रशासनिक प्रणालीको व्यवस्था हुन सक्यो । यस्तो परिस्थितिले गर्दा त्यताका जनताको मनोवल पनि त्यति उच्च रहन सकेन भने एक प्रकारले बलियो देशभक्तिको पनि विकास हुन सकेन । यो क्षेत्रको सुरक्षाको जिम्मा सरदार भक्ति थापालाई दिइएको थियो भने उनले यही क्षेत्रको देउथलमा वीरगति प्राप्त गरे । भक्ति थापासंगै वडाकाजी अमरसिंह थापा सुदुर पश्चिम क्षेत्रमा नै तैनाथ थिए र उनले यो क्षेत्रमा नेपालको प्रशासनिक पकड राम्रो नभइसकेकोले हाल अंग्रेजसँग युद्ध गर्न हुँदैन भनेर मुख्तियार भिमसेन थापालाई पटक पटक पत्र पठाएका थिए । तर त्यतिबेलाको दरवारले वस्तुस्थितिलाई बुझ्ने चेष्टा नगरेको कारणले नै नेपालले ठुलो हार व्यहोर्नुपर्‍यो । उता नेपालको यस्तो अवस्थाको भन्को पाई यही मौकाको फाइदा उठाएर नेपालको सैन्य शक्ति, बहादुरी र निरन्तर विस्तारबाट तर्सिएका छिमेकका राजा–रजौटाहरु र फिरंगीहरुको आपसी मिलेमतोले गर्दा नेपाल तिनै तिरबाट आक्रमणको चपेटामा पर्‍यो र ठुलो भुभाग गुमाउन वाध्य भयो । यसरी पुर्वमा मेची नदी पारी र पश्चिममा महाकाली नदी पारीसम्म वृटिशहरुको औपनिवेशिक भारतको सिमाना नेपालसँग स्थापित भयो ।

 

हामीले इतिहासबाट के बुझ्नु पर्छ भने आजको नेपाल हाम्रा वीर पुर्खाहरुको मेहनत र परिश्रमले गर्दा साना साना राज्यहरुलाई मिलाएर एक ठुलो मुलुक बनाएको हो र जे जति क्षेत्रलाई हामीले जोगाउन सक्यौँ, त्यो भूमिलाई आज हामी आफ्नो प्यारो मातृभूमि भनेर गर्व गर्दछौँ भने हामीले युद्घमा गुमाउनु परेको भूमिको मायाले हामी नेपाल, भारत वा जहाँ कहीँ पनि बस्ने नेपालीहरुलाई सँधै रुवाइरहेको छ, किनभने वीर नेपालीले नेपाल आमाको अस्मिता जोगाउन निकै रगत बगाएको भएपनि नेपाल राष्ट्रले आफ्नो ठुलो भू-भाग गुमाउनु पर्‍यो ।  

 

त्यतिबेला नेपालको त्यस्तो दुरावस्था भएर पराजय भोग्नु पर्ने र खुम्चिनु पर्ने वाध्यता आउनुमा पनि अघि उल्लेख भएझै तत्कालिन शासक वर्गले आफ्ना अग्रज पृथ्वीनारायण शाह र बहादुर शाहको योगदान छिटै बिर्सनु र उल्टै बहादुर शाहलाई अनेक खालको लान्छना लगाएर कैदमा नै सडाएर मार्नु, सत्ताको उन्माद र मोजमज्जामा लिप्त भएर आफ्ना सिमाना र जनताको सुरक्षा गर्न नसक्नु, तथा एकथरी वीर सपुतहरु कुटनीतिमा भन्दा पनि सैन्य वल र युद्घमा नै ज्यादा विश्वास गर्ने खालका हुनु प्रमुख कारक तत्वहरु हुन पुगे । 

 

कुनै पनि मुलुकको शक्तिको मुख्य श्रोत भनेको नै त्यहाँका जनताको उच्च मनोवल, समृद्घि, शुशासन र सैन्य वल हुन् भने यी भन्दा पनि अझ महत्वपुर्ण कुरा कुटनीतिक चातुर्यताको समयसापेक्ष रुपमा प्रदर्शन गर्न सक्ने कला हो । त्यतिबेला हाम्रा शासकहरुमा खासगरी कुटनीतिक चातुर्यताको निकै कमी थियो भने युद्घ नै सबै समस्याको हल हो भन्ने अहंले भरिएको मनस्थिति थियो । 

 

आजको विशाल भारत, पाकिस्तान र वंगलादेशको कुरा गर्ने हो भने, यदि भारतवर्षमा अंग्रेजहरु “इस्ट इन्डिया कम्पनी” नामको एउटा मुसो बनी वंगालमा पसेर हात्ती बनेर ननिस्कीएका भए यो उपमहाद्घिपमा आज सयौँ राष्ट्रहरुको अस्तित्व हुने थियो र नेपाल यी मध्येको एक शक्तिशाली राष्ट्र हुने सम्भावना समेत थियो । अर्को शव्दमा आजका भारत, पाकिस्तान र वंगलादेशको एकिकरण नै वेलायतले गरिदिएको हो । त्यसैले समय र घटनाक्रमहरुले इतिहासलाई कसरी प्रभाव पारेका हुन्छन् भन्ने कुरा हामी सबैले बुझ्नु अति जरुरी हुन्छ ।

 

कालान्तरमा जंगबहादुरले आफ्नो सत्ता टिकाउने हेतुले अपनाएको अंग्रेजलाई खुशी बनाउने कुटनीति तथा भारत वर्षमा आफ्नो वर्चश्व कायम गर्न अंग्रेजले पनि नेपाललाई एउटा वफादार साथिको रुपमा हेरेको अवस्थाले गर्दा नै नेपाल सँधै स्वतन्त्र राष्ट्र भएर रहन सक्यो । आज पनि यस्ता सबै खाले वन्दोवस्ती र प्रकृयाहरु मिलाउन तथा एक आपसमा असल सम्बन्ध बनाएर राखी राख्न विभिन्न मुलुकहरु र त्यहाँका शासकवर्गहरुले आआफ्ना स्वार्थ अनुकुलका मेलमिलापका उपायहरु अवलम्वन गरिरहेका हुन्छन् । यही सिलसिलामा त्यतिबेला नेपालको वाटो भएर चीन पस्ने, नेपालमा चिया तथा अन्य नगदे वालीको विकास गरेर आफ्नो आम्दानी तथा उपस्थिति बढाउने जस्ता वेलायती प्रस्तावहरु नेपालले स्विकार नगरे पनि अंगे्रजहरुले हामीलाई त्यति नराम्रो नजरले हेरेका थिएनन्, किनकी त्यतिबेला भारतमा होस् वा विश्वको कुनै पनि ठाउँमा होस् गोर्खाली सेनाको उपयोगले गर्दा अंग्रेजी साम्राज्यवादलाई टिकाएर राख्न निकै टेवा पुर्‍याएको थियो । 

 

भारतबाट अंग्रेजहरु फर्केपछि र नेपालमा प्रजातन्त्र ल्याउन स्वतन्त्र भारत सरकारले मध्यस्तको भूमिका खेलिदिएर नेपाललाई अनुगृहित तुल्याएकोले गर्दा पनि होला भारतसँग कोशी, गण्डक जस्ता असमान सम्झौता गर्ने, नेपालको चीनसँगको सिमानामा आफ्ना चेक पोष्टहरु राख्ने देखि लिएर नेपालको मन्त्रिपरिषदको वैठकमा समेत भारतीय सल्लाहकार राखिनु पर्ने कुराहरुमा नेपालले सहमति जनाउन वाध्य हुनुपरेको । त्यतिबेला नेपाल भर्खरै मात्र बाहिरी संसारसँग खुला भएको, भारत र वेलायत तथा केही अन्य राष्ट्रहरुसँग मात्र दौत्य सम्बन्ध कायम भइसकेको र संयुक्त राष्ट्र संघमा पनि पर्यवेक्षकको रुपमा मात्र मान्यता पाएको अवस्थामा हाम्रो लागि निकटतम छिमेकी राष्ट्र भारतसँग विवाद गरेर बस्ने बेला थिएन । आजको जस्तो खुलापन विश्वमा नभएको समय, विकासको कुरामा नेपाल निकै पछौटे युगमा रहेको अवस्था र यहाँका धेरै नेता तथा बद्धिजीविहरु भारतमा अध्ययन गरेका र भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका व्यक्तिहरु भएकाले समेत भारतका यस्ता चाहनाहरु माथि खुला विरोध गर्न त्यति सहज थिएन त्यतिबेला । त्यसैले पनि उसका सबै खाले कदमहरुलाई हामीले ठुलो दाईको बल मिच्याईँ भनेर सहेर नै अघि बढ्यौँ र आजसम्म पनि सहने क्रम जारी नै छ । 

 

चीन तथा अन्य शक्ति राष्ट्रहरुसँग सम्बन्ध स्थापना हुँदै गएपछि भने नेपालले भारतीय फौज र सल्लाहकारहरु नेपालमा राख्ने जस्ता कुराहरुलाई कुटनीतिक तवरले नै सल्टाउन सक्यो । त्यतिबेला पनि हामी कहाँ साहसी र राष्ट्रवादी नेताहरु जस्तै टंकप्रसाद आचार्य, किर्तिनिधी विष्ट, आदि समेतलाई यस्ता अप्ठ्यारा कामहरु गर्न प्रधानमन्त्री बनाइन्थ्यो भने काम सकिए पछि भने विस्तारै पन्छाईदिने परिपाटी नै थियो । यानी नेपालमा पहिले देखि नै विवादित तथा छुच्चो बनिने कार्यमा कोही पनि अघि सर्न नचाहने र यस्ता काम अरुको पोल्टामा राखिदिने परिपाटी नै बसेको छ । यस्ता कुराहरुमा राजा महेन्द्र निकै माहिर थिए । लिम्पियाधुरा क्षेत्र भारतलाई केही समयको लागि उपयोग गर्न दिने निर्णय देखि सिमानामा हुनसक्ने अतिक्रमण रोक्न ठाउँ ठाउँमा कुनै उपयोगिता नभए पनि छोटी भन्सारहरु उनकै समयमा खोलिएका थिए । तर राजनीतिक दुरदर्शिता त्यत्ति नभएका तर बिकासप्रेमी राजा वीरेन्द्रको शासनकाल र प्रजातन्त्रको पुनर्वहाली पश्चात यस्ता अधिकांश छोटी भन्सारहरुको कुनै औचित्य नभएको भन्दै खर्च कटौती गर्ने बहानामा बन्द गरिँदै गए भने भारतलाई केही समयको लागि उपयोग गर्न दिइएको महाकालीको भूमि भने उनको पालामा पनि फिर्ता गर्ने कार्य भएन । छोटी भन्सारहरु झिकिएपछि नेपाली प्रशासनको उपस्थिति नभएका सिमा क्षेत्रहरुमा कुनै बेला नेपाल तिर पर्ने घरजग्गाहरु आज भारतको नक्शामा पुगीसकेका तथा दशगजा क्षेत्रका कतिपय जंगे पिलरहरु पनि रातौँ रात नेपाल भित्र सार्ने गरेका खवरहरु बेला बेलामा विभिन्न छापाहरु तथा सञ्चार माध्यमहरुमा आइरहन्छन् । सुस्ता जस्तो नेपालतिर पर्ने गण्डक किनारको क्षेत्र समेत नदीले वहाव फेरेसँगै नेपालबाट भारतमा सर्न पुग्यो । वाढी रोक्ने वहानामा भारतद्घारा एकतर्फी रुपमा बनाईँदै आएका सिमाक्षेत्रका तटवन्ध र बाँधहरुले गर्दा नेपाली भु-भाग डुवानमा पर्ने क्रम बढ्दो छ । कहिले काहीँ निकै अचम्म लाग्छ त्यस्तो विशाल राष्ट्रलाई अझै पनि जमिनको मोह नगएको देखेर । 

 

वि.सं. २०२६ सालमा किर्तिनिधि विष्ट प्रधानमन्त्री छँदा नेपालको उत्तरी सिमानामा २००७ सालतिर देखि करिव २० ठाउँमा क्रमशः स्थापना गरिएका अधिकांश भारतीय चेकपोस्ट हटाइएपनि भारतले कालापानीमा रहेको चेकपोस्टलाई चीनसँगको एक महत्वपुर्ण रणनीतिक इलाका भएको ठहर गर्दै तत्काल हटाउन आनाकारी गर्‍यो र यसलाई केही समयको लागि कायम राख्ने अडान लियो । तत्पश्चात आजसम्म पनि त्यस क्षेत्रमा भारतकै उपस्थिति रहिरहेको छ भने आज आएर त भारतले सो क्षेत्रलाई आफ्नो नयाँ नक्शामा नै सामेल गरिसकेको छ र हालै मात्र कालापानी कै बाटो गरेर चीन जोड्ने सडक समेत बनाएको छ । 

 

सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपालको पश्चिमी सिमाना महाकाली नदीलाई कायम गरिएको थियो । जसमा हाल अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक भञ्ज्याङको त्रिकोणात्मक क्षेत्र नेपालको भू-भाग भएको कुरा स्पष्ठसँग लेखिएको छ । यति मात्र होइन, यो क्षेत्र नेपाल कै भूमि हो भन्ने कुराका यथेष्ट प्रमाणहरु छन् । तर राजा महेन्द्रको शासनकाल देखि नै के कति कारणले त्यसबेलाका सबै नेपाली शासकहरुले भारतलाई आफ्नो भूमि उपयोग गर्न दिइरहे र यो विषयलाई गोप्य नै राखिरहे तथा नेपालको नक्शामा समेत सो क्षेत्र किन सामेल गरिएन भन्ने वारे नेपाली जनताहरु अनभिज्ञ नै छन् । तर पनि आफ्नो देशको भुभाग अर्को देशलाई सुम्पिने वा कुनै कारणवश सट्टा पट्टा गर्ने अधिकार कुनै राजा, शासक वा कुनै पनि सरकारलाई हुँदैन । त्यसैले पनि यो मामलामा कुनै पनि प्रकारका गोप्य सन्धि भएको भए पनि त्यसको कुनै अर्थ रहँदैन । तर नेपालमा यस्ता पेचिला विषयहरुमा बोल्न समेत कुनै पनि सरकार वा नेता तयार हुँदैनन् । पत्रपत्रिका र जनताले आवाज उठाउन थालेपछि मात्र केही गर्न लागेको जस्तो भान हुन्छ तर त्यो तन्द्रामा चलाइएको जाँगर केही समय पछि नै मत्थर भएर जान्छ ।

 

यसो भन्दैमा फेरी नेपालको विकासमा भारतले केही पनि सहयोग नगरेको वा हामीलाई सँधै होच्याउने काम मात्र गरेको भन्ने कुरा पनि ठिक होइन । नेपालमा वि.सं. २००७ सालमा प्रजातान्त्रिक व्यवस्थाको शुरुवात भएदेखि नै नेपालको विकासमा विभिन्न तवरले सहयोग गर्ने राष्ट्रहरुमा भारत अग्रस्थानमा नै पर्दछ । विकासका पुर्वाधारका धेरै आयोजनाहरु जस्तै सडक, विमानस्थल, बिद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य, लगायत अनेकन् महत्वपुर्ण क्षेत्रहरुको विकासमा भारत सरकारको ठुलो योगदान रहेको छ र यो क्रम जारी पनि छ । सन् २०१५ को महाभुकम्पको बेला भारतले नेपाललाई पु¥याएको ठुरो सहयोगलाई हामीले बिर्सेका छैनौँ । तर त्यसको लगत्तै विना कुनै कारण नेपाललाई आर्थिक नाकावन्दी गरेकाले उसले गरेका राम्रा कामहरु सबै माटोमा मिल्न गए ।

 

नेपाल र भारत दुबै देशहरुमा जनस्तरमा निकै सौहाद्र्रपुर्ण सम्बन्ध कायम छ । धर्म, संस्कृति र इतिहास, तथा भाषा तथा साहित्यको मर्ममा समेत निकै मेल खाने भएकाले दुबै देशका जनताहरुमा एक प्रकारको हार्दिकता तथा भाइचाराको सम्बन्ध छ । भारतीय मनोरञ्जनका साधनहरु जस्तै सिनेमा, टेलिभिजन, संगित, साहित्य, नृत्य, कला, खेलकुद सबैथोकमा नेपालीहरु निकै रुचि राख्दछन् । भारतीय कलाकारहरु वा कुनै गण्यमान्य व्यक्ति विरामी पर्दा वा परलोक हुँदा नेपालीको पनि मन रुन्छ र भारतीय सुन्दरीले विश्व सुन्दरीको ताज पहिरिँदा होस् वा भारतीयहरुले कुनै विषयमा ख्याती प्राप्त गर्दा नेपालीको समेत शिर ठाडो हुन्छ । विदेशमा जाँदा नेपाली र भारतीयले एक अर्कालाई भेट्दा आफन्त जस्तो नै गरेर व्यवहार गर्दछन् । भारतीय राजनीति र चुनावमा समेत नेपालीहरु निकै धेरै चाख लिन्छन् । त्यस्तै नेपालका जडिबुटी, चिया, अलैँची, अदुवा तथा कैयन् कृषि तथा वनजन्य उत्पादनहरुलाई प्रशोधन गरेर भारतले आफ्ना जनतालाई विक्री वितरण गर्नुका साथै विदेशमा निर्यात समेत गर्दछ । दुबै देशका लाखौँ मानिसहरु एक अर्काको देशमा धार्मिक तथा मनोरञ्जनात्मक पर्यटन र व्यवसाय तथा शिक्षा अनि स्वास्थ्यका लागि विना रोक टोक आउने जाने गर्दछन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा आज नेपाली मात्र भारत जाने नभई भारतीयहरु समेत नेपाल आउन थालेका छन् । नेपालमा पनि निकै भारतीय विद्यार्थीहरु खासगरी चिकित्सा शास्त्रको अध्ययनका लागि र आँखा सम्बन्धि शल्यकृयाका निम्ति आउने गर्दछन् । दुबै देशको सिमाना एक अर्काका लागि खुला छ । भन्ने नै हो भने, नेपाल र भारतको जस्तो राम्रो सम्बन्ध सार्क मुलुकमा अरु कुनै देश बिच पनि छैन । भारतको सुरक्षा फौजमा नेपालीहरु एक महत्वपुर्ण अंग नै भएर काम गरिरहेका छन् । नेपाली कर्मचारी चाहे त्यो घरमा काम गर्ने होस् या सुरक्षा गार्ड नै किन नहोस् उसको इमान्दारी प्रति भारतीयहरु कतिसम्म विश्वास गर्छन् भने स्वयम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले आफ्नो व्यक्तिगत सहयोगी तथा धर्मपुत्रको रुपमा एक नेपाली लडकालाई नै घरमा राख्नुभएको छ ।

 

यस्तो स्थितिमा सँधै भारतीय सरकार र नोकरशाहीले नेपाली सरकार र जनता प्रति किन क्रुर व्यवहार गर्छ बुझ्नै कठिन छ । आफ्नो निकटतम सानो भाईलाई कसरी उकासी दिने, उसलाई मनै देखि के कस्तो प्रकारले सहयोग गर्ने भन्ने कुनै भावना नराखी सँधै हाम्रोे भुभाग कसरी मिच्ने, नदी तथा जलश्रोतको कसरी दोहन गर्ने, कृषि उपजहरु र जडिबुटीहरु कसरी नगण्य मोलमा हात पार्ने, यहाँका जनताहरुलाई आर्थिक नाकावन्दी गरेर हुन्छ वा अन्य उपायले सँधै मानसिक र शारीरिक कष्ट कसरी दिइराख्ने र यहाँको राजनीति र नीति निर्माण प्रकृयामा कसरी हस्तक्षेप गरिराख्ने भन्ने कुरामा त्यहाँको सरकार सँधै कृयाशिल रहेको देखिन्छ । विदेश मामलामा आफ्ना सञ्चार माध्यमहरुलाई त्यहाँको सरकारले यस्तो प्रकारले हातमा लिएको हुन्छ की उनिहरुले कहिले पनि भारतीय सरकारलाई गलत देखाएर विदेशीहरुलाई परेको मर्का वारेको समाचार सम्प्रेशण नै गर्दैनन् । भारत, चीन, अमेरिका, रुस जस्ता ठुला, शक्तिशाली र सबै कुरामा आत्मनिर्भर मुलुकहरुका राष्ट्र प्रमुखहरुले आफ्नो देशभित्र मात्र होइन, पुरै विश्व भरि नै लोकप्रिय हुने कार्यहरु गर्नु पर्दछ । त्यसैले यस्ता देशहरुले आफ्ना छिमेकीहरु माथि दादागिरी चलाउनुको साटो विशेष सम्बन्ध कायम गरेर अनावश्यक रुपमा सिमाना मिच्ने, आर्थिक र राजनैतिक हस्तक्षेप गर्ने जस्ता झिना मसिना कुराहरुबाट टाढा रहनु पर्दछ भने आफ्नो मानमा बसेर पुरै क्षेत्रको नेतृत्व सम्हाल्ने हैसियतमा पुग्नु पर्दछ ।

 

हाल भइरहेको भारतको सिमा अतिक्रमणको कदमलाई मध्यनजर गरेर नेपालको सरकारले तुरन्त निम्न वमोजिमको कार्य गर्नु उचित देखिन्छ ।

 

आज भारतले लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्र वा गण्डक नदी किनारको गाउँ सुस्ता वा पाँचथरको सन्तकपुर तथा अन्य जुन जुन क्षेत्रका भूमि अतिक्रमण गरेको पत्ता लागेको छ, ति क्षेत्रहरुको वारेमा आवश्यक सबै तथ्यहरु क्रमशः संकलन गर्दै अद्यावधिक राख्नु पर्दछ ।

 

हाल भारतले कालापानीमा एकतर्फी रुपमा सडक बनाएर उद्घाटन समेत गरेको परिप्रेक्षमा अतिक्रमित लिम्पियाधुरा–कालापानी–लिपुलेक भु-भाग नेपाललाई फर्काउने वारेको औपचारिक पत्र नेपाल सरकारले भारत सरकारलाई तुरन्त लेखि पठाउनु पर्दछ ।

 

त्यस्तै लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्र नेपालको भूमि भएको तर भारतले त्यहाँ एकतर्फी रुपमा अतिक्रमण गरेर राजमार्ग बनाएकोले नेपाली भूमि भित्रबाट उसले खोलेको नाकालाई चीनले मान्यता दिन नहुने कुराको अनुरोध सहित चीन सरकारलाई पनि एक आधिकारिक पत्र पठाउनु पर्दछ । यसो गर्नाले हामीले आजसम्म निकै विश्वास गरेको अर्को छिमेकीको यो विषय वारेको धारणा पनि जान्ने मौका मिल्ने थियो । 

 

यसै सन्दर्भमा हालै प्रचारमा ल्याइएका सगरमाथाका कुराहरुमा सत्यता छ कि छैन या यी कुराहरु पनि नेपालीको ध्यान अन्त बटाउन नियोजित रुपमा चलाइएका हल्ला हुन् भन्ने वारे सम्बन्धित पक्षबाट स्पष्ट पारिनु जरुरी छ । 

 

यसरी दुई पक्षीय वा त्रिदेशीय संलग्नताले पनि समस्या समाधान गर्न मद्दत मिल्ने सम्भावना नदेखिएमा भने हामीले यो पेचिलो मामलालाई अन्तर्राष्ट्रियकरण गर्नै पर्दछ । 

 

लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्र समेत संलग्न गरेर नेपालको नयाँ नक्शा तत्काल प्रकाशन गर्नुपर्छ नेपाल सरकारले ।

 

विगतमा हाम्रा राजनैतिक नेताहरु तथा वुद्घिजिवी र समाजका अन्य महत्वपुर्ण अंगहरुलाई विभाजित गरेर राख्न अनेकन तरिकाहरु विदेशीहरुले अपनाएको भएपनि हालै मात्र मुलुकको सिमाना अतिक्रमण जस्तो अति सम्वेदनशील विषयमा आयोजित सर्वपक्षीय वैठकमा भएको एकमतको निर्णय र सञ्चार माध्यमहरुले प्रस्तुत गरिरहेको उदाहरणीय ऐक्यवद्घतालाई सँधै नजिर बनाइ रहनु पर्दछ ।   


भारतसँगको हाम्रो १,६९० किलोमिटर लामो सिमानालाई पनि अब हामी दुबै मुलुक मिलेर व्यवस्थित गर्नु पर्दछ । केही नाकाहरुबाट मात्र आवत जावत गर्ने गरी अन्य क्षेत्रलाई बन्द गर्नुपर्दछ । कोरोना वा यस्तै स्वास्थ्य सम्बन्धि आपतकालिन अवस्थाको कारणले मात्र नभई खुला सिमानामा हाल हुने गरेका अवान्छित घुसपैठ, तस्करी र आतंककारी कृयाकलापहरु रोक्न पनि नेपाल–भारत सिमामा सुरक्षापोस्ट र सुरक्षा फौज बढाउँदै जानु पर्ने भएको छ ।  स्मरण रहोस् नेपालमा वसाई सराई तथा जनसंख्याको परामर्श लिन विक्रम सम्वत् २०४० को दशकमा रत्नबहादुर विष्टको अध्यक्षतामा गठित जनसंख्या परामर्श दातृ समितिको एक रिर्पोटमा डा. हर्कबहादुर गुरुङले नेपालले भारतसँगको सिमाना क्रमशः बन्द गर्दै नगए थाहै नपाई एक दिन हामीले आफ्नो नेपालीपनको पहिचान गुमाईसकेका हुनेछौँ भनेका थिए । 

 

हाम्रा विरोधपुर्ण आवाजलाई मत्थर पार्न आर्थिक नाकावन्दी देखि लिएर अन्य राजनैतिक हथकण्डाहरुसमेत पुनः उपयोग हुन सक्छ आउँदा दिनहरुमा । यसको निम्ति हामी अहिले देखि नै तयारी अवस्थामा रहनु पर्दछ । सबै कुरामा नसके पनि हामी विस्तारै कृषि र साना तथा मझौला उद्योग व्यवसाय मार्पmत खाद्य सामग्रीमा आत्म निर्भर हुँदै जानु पर्दछ भने इन्धनका वैकल्पिक साधनहरु र जल बिधुतको विकास पनि अझ तदारुकताका साथ गर्दै जानु पर्दछ ।


यी तथा नेपाल र भारत विचको सम्बन्ध सुधार गर्न चालिनु पर्ने यावत कदमका निम्ति नेपाल र भारतका दिग्गज व्यक्तित्वहरु सम्मिलित दुबै देशका सरकारद्घारा केहि वर्ष अघि गठित “प्रवुद्घ व्यक्तिहरुको समुह” (Eminent Persons Group) लाई अझ वृहत र अधिकार सम्पन्न बनाउँदै लग्नु पर्दछ । तर विडम्वना के छ भने सो समुहले आज भन्दा दुई वर्ष अघि नै पेश गरेको १९५० को सन्धि पुनरावलोकन तथा अन्य मुद्दाहरु वारेको रिपोर्ट पढ्न आजसम्म भारतका प्रधानमन्त्रीले समय निकाल्न सकेका छैनन् । त्यस्तै भारतीय नोटवन्दीले गर्दा नेपालमा थन्किएर बसेको करोडौँ भारतीय रुपैयाँ पनि भारतले आजसम्म साँटिदिएको छैन ।

 

हालै नेपालका प्रधानमन्त्रीले सर्वपक्षीय वैठकमा उठाएको र भारतमा पनि केही प्रभावशाली वुद्घिजिवीहरुले व्यक्त गरेका अभिव्यक्ति वमोजिम यदी भारतलाई त्यो क्षेत्र अति महत्वपुर्ण र आवश्यक छ भने अन्तर्राष्ट्रिय कानुन र मान्यता वमोजिम यस्तो क्षेत्रलाई एक आपसमा आधिकारीक समझदारी कायम गरेर निश्चित अवधिको निम्ति भाडामा पनि दिन सक्ने सम्भावना हुन सक्छ । तर सो क्षेत्र नेपालको हो भन्ने मान्यता र प्रतिवद्धता दुबै पक्षबाट लिखित रुपमा हुनु पर्दछ तथा दुबै देशको नक्शामा सोही अनुरुपको फेरवदल समेत गरिनु पर्दछ ।

 

सानो मुलुकको अस्तित्वको ठुलो मुलुकले आजको समयमा पनि नामोनिशान नै मेटिदिने चेष्टासम्म गर्न सक्ला तर विश्वमा नेपाली मुलका मानिसहरुको संख्या बढ्दै झण्डै साँढे तिन करोड भन्दा बढी भइसकेको परिप्रेक्षमा त्यस्ता क्षणिक दुख र कष्टले भरिपुर्ण अवस्थाहरु निर्मुल गर्न सँधै बुलन्द आवाज उठिरहन सक्छ र यस्तो विस्तारवादी र हिटलरी निरंकुश प्रवृत्ति धेरै दिगो वा लामो समयसम्म हावी भएर बस्न पनि कदापि सत्तैmन । भारतीय स्वतन्त्रता संग्रामको दौरान सन् १९३१ मा शहादत प्राप्त गरेका शहिद भगत सिंह, शुखदेव थापर र शिवराम राजगुरुहरुलाई सँधै सम्झेर विशाल राष्ट्र भारतको शासनको वागडोर सम्हाल्ने सबै राजनेताहरुले आफुले कहिल्यै साम्राज्यवादी, विस्तारवादी, अहंकारवादी वा छिमेक तर्साउने खालका कार्य नगर्ने प्रतिज्ञा गर्नु राम्रो हुन्छ भने आज पनि करोडौँको संख्यामा रहेका अति नै विपन्न भारतीयहरुको जीवनस्तर कसरी उकास्ने भन्ने कुरामा भारतीय सरकारले बढी ध्यान दिनु राम्रो हुन्छ । 

 

अन्तमा हाम्रो सरकार, कानुन निर्माता (सभासद) हरु, नीति निर्माताहरु तथा सबै राजनैतिक दलका नेताहरुलाई नेपाल राष्ट्रको अस्तित्व र अस्मितामा आँच आउने कुनै पनि सम्वेदनशिल मामलाहरु अगाडि आएमा एकजुट भई डटेर मुकावला गर्न सक्नुहोस् भन्ने कामना गर्दछौँ । हामी नेपाली विश्वका विशाल राष्ट्रहरु चीन र भारतको बिचमा अवस्थित हुन पाएकोमा गर्ववान्वित महसुस गर्दछौँ । भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति श्री सि जीन पिङ, जो निकै सक्षम नेताका रुपमा आफ्ना मुलुकहरुमा लोकप्रिय हुनुहुन्छ, वहाँहरुले आफ्नो देश भित्र मात्र नभइ मुलुक बाहिर पनि र खासगरी सबै छिमेकीहरुसँग राम्रो सम्बन्ध स्थापना गरेर धेरै ख्याती प्राप्त गर्नुहोस् र उदाहरणीय नेताका रुपमा इतिहासमा चिनिनु होस् भन्ने पनि कामना गर्दछौँ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।)
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार