• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

मंगलबार खुलेको सेयर बजार फेरि बन्द

काठमाडौं । मंगलबार खुलेको सेयर बजार फेरि बन्द भएको छ । बिहीबार बिहान बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समितिको बैठकले आजैदेखि सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको छ । सोही निर्देशनअनुसार आजदेखि सेयर बजार बन्द हुनेछ ।

 

मंगलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोवार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो ।

 

लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।

 

बोर्डको निर्देशनअनुसार बिहीबार बसेको नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको निर्णयअनुसार कारोवार स्थगन गरिएको हो । नेप्सेका उपप्रबन्धक प्रविन पान्दाकका अनुसार लकडाउन अवधिभर बजार अब बन्द रहनेछ ।

 

कोरोना भाइरसको जोखिम काठमाडौं उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार