• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

युवराजको जादु ! आँधीको मनोरम नृत्य

काठमाडौं । घिमीरे युवराजको ‘आँधीको मनोरम नृत्य’ पुस्तक गहकिलो छ । आधुनिक सभ्यता रहनसहन र पश्चिमेली शब्दको बिचारक शब्दहरुले पुस्तकलाई रंगाएको छ । आधुनिक नाटकका लेखक युवराजको नाटक बिद्या एकदम रोचक पनि छ ।

 

जीवनको एउटा अध्यायबाट शुरु भएर अर्को अध्यायमा टुंगिने यात्राको रुपमा पनि 'आँधीको मनोरम नृत्य' ले राम्रो अभिव्यक्ति दिएको छ । जादुमय बसमा यात्रा गर्ने स्कुले बच्चाहरुको अन्तरसंवादलाई युवराजले राम्ररी चित्रण गरेका छन् । म्याडम दिपीका देखि मास्टर महेश्वरसम्मका चरित्रलाई आफनो लेखनमा उतारेका युवराजले पुस्तकको बिचबिचमा घुसाएको मिठास संवादको कुरा अर्कै छ ।

 

निस्सिमको मुखमा औला राख्ने बानी र संगीताको चंञ्चले स्वभाव उनीहरुको बिद्यार्थीकालिन हाउभाव देखि बचपनको दृश्यलाई युवराजले आफनो कलममा तिखारेका छन् । बचपनको दृश्यबाट शुरु भएको उनीहरुको बस यात्राले बिभिन्न आरोह अवरोह पार गरिरहेको हुन्छ । गोविन्द, हिमाल, प्रकाश,शन्तराम र बिवेक बिच स्कुल बसको पछाडि भागबाट बाहिरका सवारीसाधनमा देखिएको सायरीका टुक्राहरुको मन्थनमा यी पात्रहरुलाई राम्ररी जेलिएको छ । भने देशमा भएको बिभिन्न अपराध बलत्कार बिरुद्धको अभियानलाई नियालेर यी पात्रले दिएको सन्देशलाई लेखकले आफनो लेखनीय कलामा राम्ररी उतारेका छन् ।

 
बालकपना हुँदै युवा अवस्थामा समाहित भएका गोविन्द र निस्सिम बिचको प्रेम संवाद निकै गहकिलो र रमाइलो छ । गोविन्दले निस्सिमलाई आफनो कोठामा आउन गरेको अनुरोधमा निस्सिमले राखेका प्रतिक्रियाहरुलाई लेखकले चोटिलो भाषामा वर्णन गरेका छन् । यौन बैंशको भाषलाई हार्दिकतापुर्वक लय मिलाएर बर्णन गर्न सक्नु लेखकको खुवी मान्नु पर्छ। पुस्तकको तेस्रो भागको पानामा नेपालको सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले समय कटाउने तरिका कसरी अपनाउन सकिन्छ भन्ने कुरा प्रष्टयाउन खोजिएको छ । हुलाक कार्यालयको उदाहरण दिएर त्यहाँ हुने चोरी चकारीको बारेमा स्पस्ट कुरा नाट्यबिद्यामा बाहिर ल्याउन खोजिएको छ । बिभिन्न साहित्यीक शब्दहरुले भण्डारण गरिएको यस पुस्तकले प्रेममा साहित्यको राम्रो समायोजन गरेको छ । 

 

निस्सिमको प्रेमले बिथोलिएको उनको परिवारमा एकप्रकारको सन्नाटा छाएको थियो । निस्सिमका बाबा झकेन्द्र र आमा रुपा उनको प्रेममा तगारो बनेको देखिन्थे । तर बैंश उमेर र प्रेमको अगाडि उनीहरुको केही चल्दैन । आधुनिक युग की निस्सिम आफनो प्रेमलाई सफल बनाउन तल्लीन भएर लाग्छिन् । गोविन्द र निस्सिमको प्रेमालाप र निस्सिमले गोविन्दलाई नाटककी अर्की पात्र संगीतासँग बोल्न प्रतिबन्ध लगाएर आफनो अधिनमा गोबिन्दलाई ल्याउन खोज्नु पुरुषमाथी एउटा महिलाको अधिनको रुपमा लिन सकिन्छ । लेखकले यो भागलाई राम्रोसँग लेपन गरेका छन् । 

 

र,नाटकको अनत्य दुखःदायी  हुन्छ । किनभने हरेक कुराको अन्त्य हुन्छ जहाँ दुख र सुख दुवै हुन्छन् । गोविन्द र निस्सिमको सम्बन्धले गाढा रुप लिन्छ । निस्सिम गर्भवती हुन्छे । अनायस पलाएको प्रेम र यसबाट आएको परिणामलाई युवराजले आफनो पुस्तक ‘आँधीको मनोरम नृत्य’ मा राम्ररी उतारेका छन् । यसरी एउटा नाटकको संवादलाई पुस्तकमा ढाल्न सक्नु लेखकको कला मान्नुपर्छ । पुस्तकमा नै नाटक रचिएको रहेछ । क्या मज्जा !

 

प्रस्तुति : सुधीर नेपाल 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार