• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020
पत्रपत्रिका

कोरोनाको उच्च जोखिममा उपत्यका

काठमाडौं । सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको हो। 

 

कतिपय मालवाहक सवारी उपत्यका प्रवेश गरेको दुई÷तीन दिनपछि मात्रै बाहिरिने गरेका छन्। त्यसबीचमा उनीहरू कहाँ बस्छन् र कहाँ खान्छन् भन्ने अवस्थाबारे सरकारी निकायले चुस्त रेकर्ड राख्न सकेका छैनन्। ‘अत्यावश्यक सामान बोकेका मालवाहक गाडी रोक्ने कुरा भएन तर उनीहरू भारतबाट आउने भएकाले बढी सचेत हुनु आवश्यक छ,’ उनले भने। उनका अनुसार यसका लागि प्रहरी एक्लैले मात्रै सक्दैन। 

 

सरकारले ठाउँठाउँमा चालकलाई खानेबस्ने व्यवस्था मिलाइदिनुपर्छ। उपत्यकामा सामान झारिसकेर उनीहरु बस्ने ठाउँको रेकर्ड पनि राख्नु आवश्यक छ। ‘प्रहरीले रेडर्क राखेको छ तर उनीहरुलाई कम्तीमा खानेबस्ने व्यवस्था मिलाइदिएको भए जोखिम महसुस हुने थिएन,’ एसएसपी ज्ञवालीले भने। 

 

पाँच दिनअघि उपत्यकामा जथाभावी सवारीसाधन प्रवेश गरेपछि गृह मन्त्रालयकै कर्मचारीहरू परिचालन गरेर ती सवारीलाई फर्काइएको थियो। त्यसयता प्रहरीले उपत्यका छिर्ने नाकाहरूमा थप कडाइँ गरेको छ। तर भिआइपी चढेर आएर गाडि र मालवाहक सवारीकै कारण उपत्यका कोरोना सर्ने हो कि भन्ने त्रास फैलिएको ललितपुरका सहायक प्रजिअ खिमराज भुसालले बताए।

 

उनका अनुसार नाकाहरूमा कडाइ गरिए पनि उपत्यकामा भिआइपी र मालवाहक सवारीसाधन प्रवेश गरिरहेका छन्। यसकारण पनि उपत्यकामा संक्रमण फैलने त्रास देखिन्छ। ‘सबैभन्दा उच्च जोखिम भारतबाटै सामान बोकेर उपत्यका प्रवेश गर्ने सवारीबाट देखिन्छ, यसबारे ठोस उपाय निकालेर कार्यान्वयन गर्न आवश्यक छ,’ उनले भने।नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार